बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिमार्जित मोबाइल एप सञ्चालनमा

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दै आफ्नो मोबाइल एपको परिमार्जित संस्करण सञ्चालनमा ल्याएको छ। प्रविधिमैत्री सेवा विस्तार गर्ने उद्देश्यसहित ल्याइएको नयाँ एपमार्फत अब बिरामीहरूले घरबाटै जनरल ओपीडीमा नयाँ तथा फलोअप दर्ता गर्न सक्ने भएका छन् । धरान मा रहेको प्रतिष्ठानले अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई सहज, छिटो र पारदर्शी बनाउने लक्ष्य लिएको जनाएको छ। एप प्रयोग गरी दर्ता गर्ने बिरामीहरूलाई ओपीडी टोकन प्रणाली तथा बिलिङ सेवामा प्राथमिकता दिइने व्यवस्था गरिएको छ । यसले अस्पतालमा हुने अनावश्यक भीड घटाउने र समय व्यवस्थापनमा उल्लेख्य सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरूले प्ले स्टोरबाट प्रतिष्ठानको आधिकारिक एप डाउनलोड गरी अनलाइन दर्ता गर्न सक्नेछन् । अनलाइन दर्ता गरिसकेपछि बिरामीहरू सिधै सम्बन्धित ओपीडीमा पुगेर चिकित्सकसँग परामर्श लिन सक्ने व्यवस्था मिलाइएको छ । हाल प्रारम्भिक चरणमा प्रत्येक विभागका लागि दैनिक २० जना बिरामीको अनलाइन ओपीडी दर्ता कोटा निर्धारण गरिएको छ । सेवाग्राहीको मागअनुसार यो संख्या क्रमशः बढाइने प्रतिष्ठानले जनाएको छ ।
निकट भविष्यमा प्रयोगशाला तथा रेडियोलोजी रिपोर्ट अनलाइनमार्फत हेर्न सकिने सुविधा, पेइङ ओपीडी दर्ता तथा स्वास्थ्य बीमा दर्ता सेवा पनि एपमा समावेश गर्ने तयारी भइरहेको छ । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ का अनुसार स्वास्थ्य बीमासम्बन्धी ओपीडी दर्तालाई एपसँग जोड्न स्वास्थ्य बीमा बोर्डसँग आवश्यक प्राविधिक समन्वय प्रक्रिया अघि बढाइएको छ । प्रक्रिया पूरा भएपछि बीमाका बिरामीहरूले पनि एपमार्फत सहजै दर्ता गर्न सक्नेछन् ।
प्रतिष्ठानले सम्पूर्ण सेवाग्राहीलाई नयाँ प्रणालीको अधिकतम उपयोग गरी सहज र प्रभावकारी सेवा लिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया