धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अचेल साना नानीबाबुहरूको लामो लाइन देखिन्छ । उमेर ढल्केकाहरूलाई मात्र लाग्ने भनिएको मधुमेह रोगले अहिले बालबालिकालाई पनि गाँज्न थालेको छ । उपचारका लागि टाढाटाढाबाट बालबालिका यहाँ आउने गरेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका बालरोग विशेषज्ञ डा. अरुण सिंहका अनुसार हाल टाइप १ र टाइप २ मधुमेहबाट पीडित बालबालिकाले नियमित उपचार पाइरहेका छन् । प्रत्येक बुधबार सञ्चालन हुने विशेष क्लिनिकमार्फत उपचार मात्र नभई दाताहरूको सहयोगमा इन्सुलिन, ग्लुकोमिटर र टेस्ट स्ट्रिपहरू समेत निःशुल्क उपलब्ध गराइँदै आएको उहाँले बताउनुभयो । करिब १० वर्षअघि सुरु गरिएको यो अभियानलाई निरन्तरता दिँदै आएको उहाँको भनाइ छ । उहाँका अनुसार बालबालिकामा इन्सुलिन उत्पादन गर्ने ग्रन्थीले काम नगर्दा सानै उमेरदेखि मधुमेह देखिने गर्छ । टाइप २ मधुमेहलाई औषधि र जीवनशैली व्यवस्थापनबाट नियन्त्रण गर्न सकिने भए पनि टाइप १ मधुमेहका बिरामीलाई अनिवार्य रूपमा इन्सुलिन प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

मधुमेहका कारण केही बालबालिका सघन उपचार कक्ष (आईसीयू) सम्म पुग्ने गरेका छन् । झापाको शिवसताक्षीबाट आएका एक अभिभावकको अनुभवले यो सेवा कति महत्वपूर्ण छ भन्ने प्रस्ट पार्छ ।सुरुमा बच्चा बिरामी पर्दा उपचारका लागि धेरै खर्च व्यहोर्नु परेको ती अभिभावक बताउँछन् । तर अहिले निःशुल्क स्वास्थ्य सेवा र औषधि उपलब्ध भएपछि ठूलो राहत मिलेको उनीहरूको भनाइ छ । प्रा. डा. सञ्जीव शर्मा र प्रा. डा. गौरीशंकर रौनियारले सुरु गरेको यो अभियानलाई अहिले डा. अरुण सिंहले निरन्तरता दिइरहनुभएको छ । यो पहलले विशेष गरी विपन्न परिवारका मधुमेह पीडित बालबालिकालाई नयाँ जीवन र आशा प्रदान गरेको छ ।
