धरान । धरानमा ‘शिक्षाको लागि दौड’ भन्ने मूल नाराका साथ वर्षेनी आयोजना हुँदै आएको नेवा च्यारिटी रनको १४औं संस्करण ‘गोफी धरान १० के रन २०२६’ आज शनिबार भव्यताका साथ सम्पन्न भएको छ । यस वर्षको दौडमा ३ हजार ५ सय भन्दा बढी धावकहरुको उत्साहजनक सहभागिता रहेको थियो । दौडको मुख्य आकर्षण ह्विल चियर विधामा सहभागी धावकहरु रहेका थिए । उनीहरुको उच्च मनोबल र जोश देख्दा उनीहरु शारीरिक रुपमा सबलाङ्ग भन्दा कुनै पनि हिसाबले कम देखिएनन् । ह्विल चियरमा प्रतिस्पर्धामा उत्रिएका सहभागीहरुले अरु धावकहरुसँगै पुरस्कार थाप्दा आफूलाई अपाङ्गता भएको महसुस नभएको र समाजमा समान स्थान पाएकोमा गर्व महसुस गरेका थिए ।

खोटाङका अनिश राईले पुरस्कारको राशि भन्दा पनि हामीले पाएको यो अवसर र सम्मान ठूलो भएको बताउदै दौडमा सहभागी हुँदा हामीलाई अपाङ्गता भएको महसुस नै भएको बताउनुभयो । उहाँले यसलाई समाजमा केही गर्ने अवसरको रुपमा लिएको बताउनुभयो । खोटाङका अनिश राई मात्र हैन धरानस्थित अपांग तथा पुनस्र्थापना गृहमा विगतदेखि नै बस्दै आउनु भएका मिलन लिम्बु समेत प्रत्येक बर्ष आयोजना हुने धरान रनमा प्रतिष्पर्धामा भाग लिनुहुन्छ । यस बर्ष पनि प्रतिष्पर्धामा भाग लिनु भएका लिम्बुले समेत यस्ता कार्यक्रमले साथीभाईसँग घुलमिलसँगै समाजमा स्थापित हुन सहयोग पुग्ने बताउनुभयो । प्रतियोगितामा विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको थियो । खुला तर्फको प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुने धावकहरुले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी, १३ र १६ वर्ष मुनिका उमेर समूह र मिड भेट्रान तर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कार पाए । सुपर भेट्रान तर्फका विजेताले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । ह्विल चियर विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पुरस्कारको राशी कम भएपनि समाजमा सम्मानजनक बाच्न यो रनले सहयोग पु¥याएको भन्दै उनीहरुले गौरव महसुस गरेका थिए ।
