विजयपुर अत्यात्मिक मञ्चले ग¥यो सामुहिक ब्रतबन्ध

धरान । सुनसरीको पर्यटकीय तथा धार्मिक क्षेत्र धरान–१४ स्थित प्रसिद्ध पिण्डेश्वर मन्दिर परिसरमा विजयपुर आध्यात्मिक मञ्चको आयोजनामा भव्य सामूहिक ब्रतबन्ध कार्यक्रम सम्पन्न भएको छ । संस्कार र संस्कृतिलाई आधुनिकताको नाममा भड्किलो र खर्चिलो बनाउँदै लगिएको वर्तमान परिवेशमा मञ्चले विगत तीन दशकभन्दा बढी समयदेखि सञ्चालन गर्दै आएको यस अभियानलाई निरन्तरता दिएको हो । वि.सं. २०४८ सालदेखि निरन्तर हुँदै आएको यस सामूहिक कर्मकाण्डमा यसपटक २२ जना बटुकहरूको सामूहिक ब्रतबन्ध तथा २ जना बालिकाहरूको गुन्यु(चोली कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कोशी प्रदेशका तेह्रथुम, धनकुटा, उदयपुर, मोरङ र सुनसरी लगायत विभिन्न जिल्लाबाट आएका बटुकहरू र उनीहरूका आफन्तहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

वैदिक विधि अनुसार विद्वान गुरुहरू तथा पण्डितहरूको उपस्थितिमा मन्त्रोच्चारणसहित बटुकहरूलाई जनै धारण गराइएको थियो । मञ्चले प्रति बटुक मात्र २ हजार ५ सय रुपैयाँ शुल्क लिएर सम्पूर्ण व्यवस्थापन गरेको जनाएको छ । व्यक्तिगत रूपमा घरमै ब्रतबन्ध गर्दा लाखौँ रुपैयाँ खर्च हुने र अनेक झन्झट व्यहोर्नुपर्ने अवस्थालाई यस सामूहिक कार्यक्रमले सहज बनाएको सहभागी अभिभावकहरूको अनुभव छ । विजयपुर आध्यात्मिक मञ्चले केवल कर्मकाण्ड सम्पन्न गर्ने मात्र नभई सनातन धर्म र संस्कृतिको महत्वबारे नयाँ पुस्तालाई जागरूक गराउने उद्देश्य पनि अघि सारेको छ । बटुकहरूलाई गायत्री मन्त्रको दीक्षा दिँदै उनीहरूको आध्यात्मिक यात्राको औपचारिक सुरुवात गराइएको कार्यक्रमले सामाजिक सद्भाव र एकतालाई थप सुदृढ बनाएको मञ्च महासचिव उद्धव अधिकारीको विश्वास छ । यस सामूहिक ब्रतबन्ध कार्यक्रमले आर्थिक रूपमा कमजोर परिवार मात्र नभई समय अभाव र अनावश्यक खर्चबाट मुक्त हुन चाहने मध्यम तथा उच्च वर्गीय परिवारलाई समेत एउटै थलोमा जोडेको छ । कार्यक्रमको समापनमा बटुकहरूलाई मञ्चका तर्फबाट प्रमाणपत्र तथा उपहार प्रदान गरिएको थियो । कार्यक्रमलाई आगामी वर्षहरूमा अझ व्यवस्थित र वृहत् बनाउँदै लैजाने मञ्चका अध्यक्ष पितरुमल अग्रवालले जानकारी दिनुभयो । सामुहिक कार्यक्रममले हिन्दू संस्कारलाई सहज, सरल र मितव्ययी ढंगबाट सम्पन्न गर्न सहयोग पु¥याएको छ । विजयपुर आध्यात्मिक मञ्चले आगामी वर्षहरूमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गरी व्यवस्थापन सुदृढ गर्ने योजना बनाएको छ । कम खर्च, सरल व्यवस्थापन र सामूहिक सहभागितामार्फत संस्कार सम्पन्न गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको यो अभियान वर्षेनि थप प्रभावकारी बन्दै गएको छ । यहाँ नेपालका विभिन्न जिल्लाबाट मात्र नभई भारतबाट समेत सामाजिक संस्कारका कार्यक्रम सम्पन्न गर्न आउने गरेको पाइएको छ ।

तपाईको प्रतिक्रिया