बेलबारी । बेलबारी, मोरङका साहित्यिक स्रष्टा नवराज पोख्रेलको भर्खरै प्रकाशनमा आएको मुक्तकसंग्रह शिलशिलाको शुक्रबार एक विशेष कार्यक्रमका बीच लोकार्पण भएको छ । लामो समयदेखि साहित्यिक साधनामा लाग्नु भएका पोख्रेलको मुक्तक संग्रह बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा एक वर्ष अगाडि गठन भएको कोशी साहित्य कला परिषद्का सल्लाहकार प्रा.डा. भीम खतिवडा, परिषद्का अध्यक्ष केशु विरही, कवि डा. दीपक प्रसाद न्यौपाने, लक्ष्मी प्रसाद पोख्रेल, हर्कमान तामाङ र दुर्गादेवी पोख्रेलले संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै संस्कृत विद्यालयका पूर्व शिक्षाध्यक्ष समेत रहिसक्नु भएका साहित्यकार प्रा.डा. भीम खतिवडाले भन्नुभयो, लोकार्पण भएको कृतिले नेपाली साहित्यमा संख्यात्मक थपको हिसाबले नभएर उत्कृष्ट रहेको बताउनुभयो । भाषा संयोजन लगायतका हिसाबले कृति पठनयोग्य रहेको छ । लोकार्पण गरिएको कृतिमाथि स्रष्टा डा. दीपक न्यौपानेले समीक्षात्मक टिप्पणी गर्दै संग्रहभित्र समेटिएका विषयवस्तु अत्यन्त प्रभावकारी रहेकोले लेखक पोख्रेललाई धन्यवाद दिनुभएको थियो । उहाँले स्रष्टालाई आगामी दिनमा सिर्जनामा थप प्रेरणा मिलोस् भन्ने शुभकामना समेत दिनुभएको थियो । सो अवसरमा असम साहित्य सभा विटिआर क्षेत्रीय समितिकी सचिव तथा सिक्किमेली लघुकथा समाजकी एडमिन इन्दिरा गौतम, विराट साहित्य संगमका अध्यक्ष मधु पोख्रेल लगायतले मुक्तक संग्रहका लेखक पोख्रेललाई आगामी दिनमा थप ऊर्जा मिलोस् भन्ने शुभकामना दिनुभएको थियो । विगतमा झैँ लोकार्पण समारोहमा झापा, मोरङ, सुनसरी, धनकुटा, इलामका साहित्यिक अनुरागी एवम् हित्यकारहरूको सहभागिता रहेको थियो भने काठमाडौं र भारतबाट समेत स्रष्टाहरूको सहभागिता रहेको थियो ।
