भूगोल र मन जोड्ने राजनीतिमा छु” — मनाेज भट्टराई, उम्मेद्वार( प्रतिनिधि सभा सदस्य) नेपाली कम्युनिस्ट पार्टी , सुनसरी-१

सुनसरी–१ बाट प्रतिनिधि सभाका उम्मेद्वार सूर्यबहादुर भट्टराई (मनोज) लामो समयदेखि स्थानीय राजनीति र सामाजिक जीवनमा सक्रिय व्यक्तित्व हुन् । उनी धरान–१७ का दुई कार्यकाल निर्वाचित वडाध्यक्ष रहिसकेका छन् । रैथाने राजनीतिज्ञका रूपमा परिचित उनी स्थानीय समुदायसँग दैनिक जीवनमै घुलमिल हुने नेताका रूपमा चिनिन्छन् । आफ्नो कार्यकालमा धरान–१७ मा चार लेन सडक निर्माण, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना, सार्वजनिक शौचालय निर्माण, साकेला पार्कको पूर्वाधार विकास, सरस्वती ढल तथा करिडोर योजना अघि बढाउने जस्ता कामहरू सम्पन्न गराएका छन् । कोभिड–१९ महामारीका समयमा राहत वितरण, क्वारेन्टाइन व्यवस्थापन तथा दैनिक सयौँ नागरिकलाई खाना वितरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेका उनी सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्ध नेताका रूपमा स्थापित छन् । यसअघि स्थानीय तहमा अनुभव बटुलेका उनी अहिले प्रतिनिधि सभाको निर्वाचनमार्फत नीतिगत तहमा पुगेर “भूगोल र मन जोड्ने” दीर्घकालीन सोचलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ चुनावी मैदानमा उत्रिएका छन् । उनीसँग गरिएको संक्षिप्त कुराकानीको अंश :
तपाईंको उम्मेदवारी केका लागि हो ?
मेरो उम्मेदवारी सैद्धान्तिक रूपमा मुख्यतः भूगोल र मन जोड्ने उद्देश्यका लागि हो । यसको लागि नीतिगत तहमा उपस्थिति आवश्यक हुन्छ । सुनसरी–१ बाट निर्वाचित भएँ भने नीतिगत निर्णय गर्ने थलोमा मेरो उपस्थिति यही लक्ष्यमा केन्द्रित रहनेछ ।
यो कसरी सम्भव छ ?

अरुले असम्भव भनेका धेरै काम नेतृत्वले सम्भव बनाएका उदाहरण छन् । यो रणनीति र कार्यनीतिको सवाल हो । हाम्रो योजना अनुसार सुनसरी–१ को भूगोल र मन जोड्न दुई आधार छन् — पहिलो ‘फिजिकल्ली’ र दोस्रो ‘स्पिरिचुअल्ली’। अर्थात्, क्षेत्रभित्रका मुख्य नाकाहरू जोड्ने पूर्वाधार विकास गर्ने र यहाँ रहेका धार्मिक–आस्थाका केन्द्रहरूलाई एकीकृत योजनामार्फत प्रवद्र्धन गर्ने । यी दुई पक्षमा काम गर्न सके भूगोल र मन दुवै जोडिन्छन् ।
यो त विकासको गतिविधि भएन र ? निर्वाचन त विकास गर्नका लागि होइन नि ?
ठीकै हो, यो निर्वाचन प्रत्यक्ष निर्माण गर्ने होइन, नीतिगत निर्णय गर्ने थलोमा जाने हो । तर विकासलाई अस्वीकार गरिएको होइन । हामीले उठाएको विषय नीतिगत संरचनामा आधारित विकासको हो । बजेट छरेर मात्र विकास हुँदैन, नीति बनाएर संरचनागत ढंगले अघि बढ्नुपर्छ । त्यसैले विकासको मोडेल र स्थानीय जीवनमा पार्ने प्रभावलाई नीतिमा ढालेर अघि बढ्न आवश्यक छ ।
मतदाताले तपाईंलाई किन विश्वास गर्ने ?
पहिलो कुरा, म यहीँको रैथाने हुँ । निर्वाचनका लागि मात्र बाहिरबाट आएको होइन । म यहाँको अर्मपर्म, बिहेबटुलो, मरोउपरोउ सबैमा सहभागी भएर बाँचिरहेको छु । यदि मैले गरेको प्रतिबद्धता पूरा गरिनँ भने तपाईंहरूले बाटोमा, चिया पसलमा वा घरमै आएर पनि प्रश्न गर्न सक्नुहुन्छ । रैथाने नेताले प्रश्नबाट भाग्न सक्दैन — यही नै मेरो विश्वसनीयताको आधार हो ।
सुनसरी–१ को विशेषता के हो ?
सुनसरी–१ भूगोल र समुदायको विविधताले सम्पन्न क्षेत्र हो । धरान पहाडी आदिवासी समुदायको पहिचान बोकेको क्षेत्र हो भने बराहक्षेत्र नगरपालिका क्षेत्रमा पहाडी खस–आर्य समुदायको उपस्थिति बलियो छ । त्यस्तै रामधुनी नगरपालिका क्षेत्रमा तराई मूलका आदिवासी समुदाय बसोबास गर्छन् । तीनै स्थानमा धार्मिक आस्थाका चर्चित केन्द्रहरू छन् । यही विविधता र साझा चरित्रलाई सम्पत्तिको रूपमा विकास गर्न सकिन्छ । फरक भूगोल र समुदायबीच सांस्कृतिक सद्भाव सुदृढ बनाउनु आवश्यक छ ।
क्षेत्रका प्राथमिक कामहरू के देख्नुहुन्छ ?
धरानमा खानेपानी र सुकुम्बासी व्यवस्थापन प्रमुख समस्या हुन् । धरान–२० जस्तो पहाडी भूगोलमा सडक सञ्जाल विस्तार आवश्यक छ । बराहक्षेत्रका लागि धरान–चतरा र नडहा सडक निर्माण, चतरा–सूर्यकुण्ड–चियाबारी–विष्णुपादुका हुँदै धरान जोड्ने सडक सञ्जाल आवश्यक छ । रामधुनी क्षेत्रमा डुबान समस्या समाधान, सेउती करिडोर तथा तटबन्धन, भेडिगाउँ–मैनी–बक्लौरी–पञ्चायन–हरियाली हुँदै धरान जोड्ने सडक प्रमुख आवश्यकता हुन् । साथै, वराहक्षेत्र र रामधुनीका जल–स्थललाई व्यवस्थित गरी पर्यटकीय विकास गर्नुपर्ने छ । पछिल्लो समय बढ्दो हात्ती आतङ्कलाई पनि गम्भीरतापूर्वक समाधान गर्नुपर्छ ।
धरान–१७ को वडाध्यक्ष हुँदा गरेका उल्लेख्य कामहरू ?
मैले गरेको काम वडा–१७ वासीले अनुभूत गर्ने कुरा हो । भावनात्मक रूपमा समुदायलाई एकताबद्ध बनाएको छु । धरानकै पहिलो चार लेन सडक बगैचासहित निर्माण, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना, सार्वजनिक शौचालय निर्माण, साकेला पार्क पूर्वाधार विकास, सरस्वती ढल तथा करिडोर योजना, कोभिडकालीन राहत तथा क्वारेन्टाइन व्यवस्थापन, दैनिक ३५० जनालाई ४६ दिनसम्म खाना वितरण — यी केही उल्लेखनीय कार्य हुन् । साथै, एकल तथा दलित महिलाका लागि व्यक्तिगत पहलमा घर निर्माण गरिदिएको छु । साना–ठूला थुप्रै कामहरू छन् ।
अन्त्यमा केही भन्नु छ ?
यो निर्वाचन भूगोल र मन जोड्ने अवसर हो । म स्पष्ट खाकासहित उम्मेद्वारको रूपमा आएको छु । सम्पूर्ण मतदाताको भावनालाई सम्मान गर्ने प्रतिबद्धतासहित तारा चिन्हमा मत दिई अनुमोदन गरिदिनुहुन आग्रह गर्दछु ।

तपाईको प्रतिक्रिया