धरान । ‘शिक्षाको लागि दौड’ भन्ने मूल नाराका साथ वर्षेनी आयोजना हुँदै आएको नेवा च्यारिटी रनको १४औँ संस्करण ‘ धरान १० के रन–२०२६’ शनिबार धरानमा भव्यताका साथ सम्पन्न भएको छ । यस वर्षको दौडमा ३ हजार ५ सयभन्दा बढी धावकहरूको उत्साहजनक सहभागिता रहेको थियो । दौडको सबैभन्दा प्रेरणादायी दृश्य ह्विलचियर विधामा सहभागी धावकहरू बने । उनीहरूको आत्मविश्वास, जोश र मनोबलले मैदान नै उत्साहले भरिएको थियो । शारीरिक सीमितताभन्दा इच्छाशक्ति बलियो हुन्छ भन्ने सन्देश उनीहरूले व्यवहारमै प्रस्तुत गरे । अन्य धावकहरूसँगै पुरस्कार ग्रहण गर्दा उनीहरूले आफूलाई कुनै पनि हिसाबले कमजोर नभएको अनुभूति गरेका थिए । खोटाङका अनिश राईले पुरस्कारको रकमभन्दा आफूहरूले पाएको अवसर र सम्मान ठूलो भएको प्रतिक्रिया दिए । दौडमा सहभागी हुँदा अपाङ्गता भएको महसुस नभएको बताउँदै उनले यसलाई समाजमा केही गरेर देखाउने अवसरका रूपमा लिएको उल्लेख गरे ।


त्यस्तै, धरानस्थित अपाङ्ग तथा पुनस्र्थापना गृहमा बस्दै आएका मिलन लिम्बु विगत केही वर्षदेखि नियमित रूपमा धरान रनमा सहभागी हुँदै आएका छन् । यस वर्ष पनि प्रतिस्पर्धामा उत्रिएका उनले यस्ता कार्यक्रमले साथीभाइसँग घुलमिल हुनुका साथै समाजमा स्थापित हुन आत्मबल प्रदान गर्ने बताए । प्रतियोगितामा विभिन्न विधामा नगद पुरस्कारको व्यवस्था गरिएको थियो । खुला तर्फ पहिलो, दोस्रो र तेस्रो हुने धावकहरूले क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । त्यसैगरी, १३ र १६ वर्ष मुनिका उमेर समूह तथा मिड भेट्रानतर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे भने सुपर भेट्रानतर्फका विजेताले ७ हजार रुपैयाँ पुरस्कार पाए । ह्विलचियर विधामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । पुरस्कारको राशि तुलनात्मक रूपमा कम भए पनि समाजमा सम्मानपूर्वक बाँच्न पाउने अनुभूति नै सबैभन्दा ठूलो उपलब्धि भएको सहभागीहरूको भनाइ थियो । यस वर्षको ‘गोफी धरान १० के रन–२०२६’ ले खेलकुदमार्फत शिक्षा, समावेशिता र समानताको सशक्त सन्देश प्रवाह गरेको आयोजकहरूको विश्वास छ ।


