प्रसाइद्वारा आन्दोलनको घोषणा

धरान । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईलाई सोमबार राति सानो ठिमीस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको छ । फागुन ८ गते शुक्रबारदेखि जनआन्दोलनको घोषणा गर्नुभएका प्रसाइलाई प्रधानमन्त्री शुशिला कार्कीको निर्देशनमा प्रहरीले राति सुतेकै ठाउँबाट गिराÏतार गरेको हो । अध्यक्ष प्रसाईले फागुन ३ गते एक विज्ञप्ति प्रकाशित गरी नेपाल सरकारले आफूहरुसँग गरेको १२ बुँदे सहमति ७ गतेसम्ममा हुबहु कार्यान्वयन गर्नुपर्ने, नगरे फागुन ८ गते आन्दोलनको मिति तय गरेर अनिश्चितकालीन नेपाल बन्द र आम हड्ताल गर्ने जनाएका थिए ।
जारी विज्ञप्तिमा उनले पूर्व जानकारीका लागि भन्दै देश र नागरिक बचाउनु हाम्रो पहिलो कर्तव्य भएकोले फागुन २१ गते हुने राष्ट्रघाती निर्वाचनमा सहभागी नहुन सम्पूर्ण राष्ट्रवादी, देशभक्त, सेना, प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी, लब्धप्रतिष्ठित व्यक्तित्वहरु, मजदुर, किसान, पत्रकारहरु र आम नागरिकहरुमा हार्दिक अपिल समेत गरेका थिए । आन्दोलनका दौरान सवारी यातायातका साधनहरु, शैक्षिक संघ संस्थाहरु, प्रतिष्ठानहरु, कलकारखाना, उद्योग, बजार, व्यवसायहरु सबै बन्द रहने जनाएका थिए् । सोको बोधार्थ प्रसाईले नेपाल उद्योग वाणिज्य संघ, शैक्षिक संघ संस्थाहरु सबै, यातायात महासंघ, ट्रक व्यवसायी संघ र ट्याक्सी, बस व्यवसायी संघ सबैलाई दिएका थिए ।

यस अगाडि प्रधानमन्त्री सुशीला कार्की र प्रसाई बीचमा माघ २ गते १२ बुँदे सम्झौता भएको थियो । सम्झौतामा किराँत, बौद्ध सहितको हिन्दु अधिराज्य, प्रदेश खारेज, राजसंस्था कायम राख्ने, लघुवित्त र सहकारी क्षेत्रमा ऋण मिनाहाको प्रक्रिया थालनी, कालो सूचीमा परेका ऋणीहरुको कालोसूची फुकुवा गर्ने, २०४६ सालपछि भ्रष्टाचार गरी सम्पत्ति थुपारेका सबै तहका सार्वजनिक पद धारण गरेका व्यक्तिको सूचना संकलन गरी अनुसन्धानका लागि अख्तियार पठाउने, जेएनजी आन्दोलनका दोषीहरुलाई पूर्व न्यायाधीश गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अनुरुप कारबाही गर्ने लगायत रहेका थिए ।

तपाईको प्रतिक्रिया