जनताको चाहना र इच्छा विपरीत विदेशीको निर्देशनमा आजभन्दा १९ वर्ष अगाडि कपटपूर्ण ढंगले राजसंस्था हटाइए पनि राजसंस्थाप्रतिको अगाध विश्वास नेपाली मन–मनमा रहेको प्रष्ट हुँदै गएको छ । नेपालका राजा ज्ञानेन्द्र शाहको फागुन १ गते झापाको दमकबाट राजधानी फर्कने क्रममा जुन रूपमा आम सर्वसाधारण नागरिक स्वागतका लागि स्वस्फूर्त रूपमा सहभागी भए, त्यसले अब मुलुकमा गणतन्त्रको आयु क्रमशः समाप्त भएको संकेत गरेको छ ।
मुलुक गणतन्त्र घोषणापश्चात् अस्तव्यस्त बन्दै गएको छ । खासगरी अमेरिका र पश्चिमाहरूका लागि नेपाल खेल मैदान भएको छ । यी शक्तिहरूले परम्परागत रूपमा रहेका छिमेकी मुलुकहरू प्रति विषवमन गराउने धन्दा नै चलाएका छन् । वारवरा फाउन्डेशन, अमेरिकी युथ काउन्सिल, युरोपियन युनियनले नेपालका नयाँ पुस्तालाई आर्थिक प्रलोभनमा पारेर नेपालका निकटका छिमेकीहरूप्रति नकारात्मक सन्देश प्रवाह गरिरहेका छन् । यतिमात्र नभएर विभिन्न प्रकारका एनजिओ, आइएनजिओ सञ्चालनका लागि प्रतिष्ठित व्यक्तिहरूलाई प्रभावमा पारेका छन् । स्कुल कलेजका विद्यार्थीहरूलाई हिन्दु धर्मविरुद्ध गोप्य कार्यशाला सञ्चालन गरेका छन् । हजारौँ सामाजिक सञ्जाल फेक सञ्चालन गर्न अभिप्रेरित गरेका छन् । मुलुकका लागि यो शुभ संकेत होइन ।
देशभित्रका गद्धार परिचालितहरू देशकै अस्मिताको धज्जी उडाउने डरलाग्दो खेलमा लागेका छन् । यस्तो विषम परिस्थितिमा राष्ट्रवादी, देशभक्त नागरिकहरू विस्तारै जाग्नु स्वाभाविक हो । राजसंस्थाको अभावमा दुई दशकको बीचमा मुलुकले अत्यन्तै ठूलो नोक्सानी व्यहोर्नुपरेको छ । पछिल्लो पटक मात्र मुलुकका ऐतिहासिक धरोहरहरू परिचालितहरूले ध्वस्त बनाएका छन् । सिंहदरबार मुलुकको ऐतिहासिक धरोहर हो, त्यो ध्वस्त हुनु वा त्यसलाई जलाइनु इतिहास मेटाउनु हो । सर्वोच्च अदालत जलाउनु, राष्ट्रिय अभिलेखालय जलाउनु, ऐतिहासिक शीतलनिवास जलाउनु, संसद् भवन जलाउनु, हजारौँले रोजगारी पाएका व्यवसायिक प्रतिष्ठान जलाउनु, सजाय भुक्तान गर्दै गरेका हजारौँ कैदी अपराधीलाई भगाउनु, सुरक्षाकर्मीका हातहतियार खोस्नु, सुरक्षाकर्मीको निर्ममतापूर्वक हत्या गर्नु परिचालित बाहेक अरूले गर्नै सक्दैनन् । यस्तो भयावह र डरलाग्दो अवस्थाबाट मुलुकको संरक्षण, आम नागरिकको सुरक्षा, हाम्रा धर्म, संस्कृति, संस्कार, परम्पराको संरक्षण राजसंस्थाबाट मात्र हुन सक्ने देखेपछि परिचालित बाहेकका आम नागरिक राजसंस्था अपरिहार्य महसुस गर्दै स्वस्फूर्त रूपमा सडकमा आएका हुन् । गत वर्षको फागुनमा राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा नागरिकले राजसंस्थाप्रति देखाएको समर्थनले गणतन्त्रको जरा हल्लिन शुरु भएको थियो । फागुन १ गते काठमाडौं, भक्तपुर र ललितपुरबाट स्वस्फूर्त रूपमा जसरी नागरिकहरू स्वागतका लागि सडकमा आए, त्यसले गणतन्त्रको जरा पूरै हल्लिएको छ । अब बस एउटा ठूलो धक्काको आवश्यकता छ । मुलुक अत्यन्तै कठिन मोडमा उभिएको छ । यस्तो अवस्थामा मुलुकको हितलाई सर्वोपरि ठानेर सुधारका कामहरूलाई अगाडि बढाउनुपर्नेमा नियोजित रूपमा मुलुकलाई निर्वाचनतर्फ धकेलिएको छ । भोलिका दिनमा मुलुक नै रहेन भने निर्वाचनको औचित्य कसरी प्रमाणित गर्ने ? हालको निर्वाचनले मुलुकको हित गर्न सक्दैन भन्ने कुरा प्रष्ट भइसकेको छ ।

