धरान । भारत र चीन जस्ता दुई विशाल छिमेकी मुलुकलाई सडक सञ्जालले जोड्ने राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर हुँदै ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला–टिप्तला भन्ज्याङ जोड्ने सडक निर्माणको काम तीव्र गतिमा भइरहेको छ । टिप्तला भन्ज्याङसम्म सडकको सहज पहुँच हुँदा दक्षिण छिमेकी मुलुक जोगवनी र उत्तरको छिमेकी मुलुकको रिउ बजार जोडिने भएकाले दुवै मुलुकसँगको व्यापारमा वृद्धि हुने सडक निर्माण आयोजनाका प्रतिनिधि राजीव लामिछानेले बताउनुभयो । ओलाङचुङगोला सडक अन्तर्गत सुकेपानीमा रहेको भीरको ट्रयाक दुई वर्ष अगाडि खोलिए तापनि उक्त स्थानभन्दा अगाडिको ३५ किमी गौरीपाटी–टिप्तला भन्ज्याङसम्मको सडक मर्मतसम्भार नहुँदा जीर्ण अवस्थामा रहेको छ । टिप्तला भन्ज्याङदेखि नेपालतर्फको गैरीपाटीसम्मको ट्रयाक चिनियाँ सरकारले २०७७ सालभन्दा अगाडि नै खोलेर चीनतर्फबाट ओलाङचुङगोलासम्म सवारी साधन चल्न थालेका थिए । तर २०७७ सालमा कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सडक स्तरोन्नति गर्दै गर्दा लामो लकडाउन हुन पुगेपछि उक्त कार्य बीचमै रोकिएको थियो । हाल गैरीपाटीभन्दा अगाडिको सडक पहिरो, बाढीका कारण क्षतविक्षत भएको छ ।
चतरा–ओलाङचुङगोला–टिप्तला भन्ज्याङ
तमोर करिडोर धनकुटा जिल्लाको मुलघाटबाट प्रारम्भ गरिएको भए पनि पछि त्यसलाई चतराबाट आयोजनाले थप गरेको थियो । नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सडक विभाग अन्तर्गत तमोर करिडोर चतरा–मुलघाट–सुभाङखोला र ओलाङचुङगोला जोडिएको हो । मुलघाट लावरबोटेबाट साँघुरीेगढी गाउँपालिकाको कुमेटार, छरुवाखोला, फलामेटार, भैसटार, पाँचरको मौरा बजार, हाक्पारा, तुम्बेवा गाउँपालिकाको सावा खोला, कुम्याक गाउँपालिकाको भुल्के, यासोक, शिव दोभान, सरखण्डे, जोरसाल, देउराली, सुभाङखोला पुग्न सकिन्छ । सुभाङखोलाबाट ओलाङचुङगोलातर्फ मोडिन्छ भने सोही स्थानबाट पाँचथरको गणेशचौक हुँदै चिवाभञ्ज्याङ (भारतको सिक्किम राज्यसँग जोडिएको नाका) पुग्न सकिन्छ । तमोर करिडोर तमोर नदीको किनारै किनार निर्माण भएको सडकले धनकुटा, तेह्रथुम, पाँचथर, ताप्लेजुङलाई जोड्ने काम गरेको छ । यो सडकले ती जिल्लाका स्थानीय बासिन्दालाई दूरी छोट्याएर सहज बनाइदिएको छ । चतरा–मुलघाट–गणेशचौकसम्मको कुल दूरी १५५ किमी रहेको छ । तमोर करिडोरलाई तीन सेक्टरमा विभाजन गरी ठेक्कामार्फत नै काम हुँदै आएको आयोजनाले जनाएको छ । निर्माण हुँदै गरेको चतरा–मुलघाट सडक खण्डको ३४ किमी सडक बजेटको सुनिश्चितता नहुँदा ठेक्का व्यवस्थापन हुन सकेको छैन । तीन प्याकेजमा निर्माण हुँदै गरेको सडकको काम मुलघाटदेखि सुभाङखोलासम्म मात्र तीव्र रूपमा भइरहेको छ ।
चौध वटा पुल निर्माण गर्नुपर्ने


तमोर करिडोरको चतरा–सुभाङखोला सडक अन्तर्गत १६ वटा पुल निर्माण गर्नुपर्नेमा अधिकांश पुल निर्माण भइसकेको आयोजनाले जनाएको छ । निर्माण गरिने पुलमध्ये सडक विभाग आफैंले फुल सेक्टरमार्फत ८ वटा र सडक निर्माण कम्पनीले ६ वटा निर्माण गर्ने छन् । सुनसरीको चतरा सेक्टरमा ४ वटा खोला छन् भने धनकुटा जिल्लाभित्र फेसुवा खोला र रामुवा खोला रहेका छन् । सडक आयोजनाका अनुसार सुनसरीको चतरा सडक खण्डतर्फ बाहुनी खोला र धनमरा खोलामा पुलको काम धमाधम भइरहेको छ भने बजेट अभावका कारण लुकुवा खोला र कोकाहा खोलाको पुलको काम ठेक्का व्यवस्थापन हुन सकेको छैन । धनकुटातर्फका फेसुवा र रामुवा खोलाको पुलको अवस्था पनि उस्तै छ । यसैगरी मुलघाट अगाडि सुभाङखोलासम्म भगुवा खोला, छरुवा खोला, कमुवा खोला, नावा खोला, हेवा खोला, लोरिया खोला, रवुवा खोलाका पुलमध्ये केही सम्पन्न भइसकेका छन् भने केहीको निर्माण कार्य अन्तिम
चरणमा पुगेको आयोजनाले जनाएको छ । सडक आफैंले निर्माण गर्ने ८ वटा पुलका लागि कुल लागत २२ करोड ७ लाख २२० रुपैयाँ रहेको छ । यी पुल २०७८ देखि २०८१ सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि विविध कारणले सम्पन्न हुन नसक्दा २०८३ साल जेठ ६ गतेसम्मका लागि म्याद थप गरिएको छ ।
सुभाङखोलाबाट टिप्तला भन्ज्याङ
सुभाङखोलाबाट तमोर किनारै किनार निर्माण हुँदै गरेको सडक भएर ताप्लेजुङ जिल्लाको चीनसँगको सीमावर्ती नाका टिप्तला भन्ज्याङसम्म पुग्न सहज भएको छ । मेची अर्थात् झापाको चारआली भएर इलाम, पाँचथर, फुङलिङ (ताप्लेजुङ) सडक खण्ड दूरीका हिसाबले लामो भएकाले स्थानीय बासिन्दा तथा पर्यटकका लागि यो सडक छोटो भएको छ । पाँचथरको सुभाङखोलाबाट सवारी साधन ताप्लेजुङको दोभान बजार भएर इलाडाँडासम्म पुग्ने गरेका छन् । इलाडाँडाभन्दा अगाडि सडक जीर्ण र पहिरोले क्षति पु¥याएकाले पैदलै ओलाङचुङगोला–टिप्तला भन्ज्याङ जानुपर्ने बाध्यता रहेको छ । इलाडाँडाबाट झटक, डिंगासभा, मौवा भन्ज्याङसम्म पुग्न पूरा एक दिन खर्चिनुपर्ने हुन्छ । मौवा भन्ज्याङबाट घेउवा, रमेसुकी, बोकाम, रोलेक, संजुङ, पासुवा भएर टिप्तला भन्ज्याङ पुग्न सकिन्छ । घेउवा उपत्यकाजस्तो ठूलो फाँटिलो स्थान भएकाले पर्यटकका लागि प्रशस्त होमस्टे निर्माण गरिएका छन् । त्यहाँका अधिकांश स्थानीयहरू मुस्किलले नेपाली बोल्छन् भने कतिपय नेपाली भाषा नै बुझ्दैनन् । उनीहरूको मातृभाषा तिब्बती हो । घेउवामा होमस्टे सञ्चालन गर्दै आएका याम्पु शेर्पा वलुङले बताएअनुसार त्यहाँका स्थानीयको भाषा मात्र नभएर चाडपर्व, सांस्कृतिक परम्परा, विवाह सबै तिब्बती संस्कृतिसँग मेल खान्छन् ।
४१०० मिटर उचाइमा रहेको मौवा भन्ज्याङ, ४६०० मिटर उचाइमा रहेको संजुङ, ४४०० मिटर उचाइमा रहेको रोलेक, ४८०० मिटर उचाइमा रहेको पासुवा समेत उपत्यकाजस्तै फाँटिला छन् । ५१०० मिटर उचाइमा रहेको टिप्तला भन्ज्याङमा चीनतर्फ सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भएका छन् भने नेपालतर्फ कुनै प्रकारको पूर्वाधार निर्माण हुन सकेको छैन । फक्ताङलुङ गाउँपालिका वडा नं. ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पासँग सडक र पूर्वाधार सम्बन्धी जिज्ञासा राख्दा उहाँले भन्नुभयो, ‘सरकारलाई हामीले विभिन्न माध्यमबाट घच्घच्याएका छौं, तर हालसम्म केही हुन सकेको छैन ।’






