कृषकहरु मौरी पालनमा आकर्षित, धमाधम तालिमको आयोजना

धरान । मौरी पालनमा कृषकहरु आकर्षित भएसँगै कृषकहरुद्वारा नै तालमको माग बढ्न थालेपछि कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र, झुम्काको आयोजनामा कोशी प्रदेशका चौधवटै जिल्लाबाट आएका मौरीपालक कृषकहरूका लागि विशेष सीप अभिवृद्धि तालिम सम्पन्न भएको छ । मौरीपालनको व्यावसायिक सम्भावनालाई मध्यनजर गर्दै आयोजना गरिएको तालिमले परम्परागत शैलीलाई प्रतिस्थापन गर्दै आधुनिक प्रविधिमार्फत उत्पादन वृद्धि गर्ने लक्ष्य लिएको छ । तालिममा सहजीकरण गर्दै निवर्तमान बाली संरक्षण अधिकृत सीताराम ढकालले सुधारिएको आधुनिक घारको प्रयोगले मह उत्पादनमा उल्लेखनीय वृद्धि ल्याउने बताउनुभयो । उहाँका अनुसार परम्परागत खोपा वा मुडा घारको तुलनामा आधुनिक घारबाट वार्षिक औसत १८ देखि २० किलोसम्म मह उत्पादन गर्न सकिन्छ भने दक्ष र सफल कृषकहरूले २५ देखि ३० किलोसम्म शुद्ध मह उत्पादन गर्न सफल भएका उदाहरणहरू छन् ।
ढकालले आधुनिक घार व्यवस्थापन, मौरीको गोला विस्तार, रोग(कीरा नियन्त्रण तथा मौसमअनुसारको व्यवस्थापनबारे विस्तृत जानकारी दिँदै मौरीपालनलाई आयआर्जनको भरपर्दो माध्यम बनाउन सकिने धारणा राख्नुभयो ।

तालिममा सहभागी खोटाङका कृषक पुजित कुमार राईले तालिमले आफूहरूलाई नयाँ सोच र ऊर्जा दिएको बताउनुभयो । वर्षौंदेखि परम्परागत तरिकाले मौरीपालन गर्दै आएको बताउँदै उहाँले यहाँ सिकेका आधुनिक विधि, घार व्यवस्थापन र उत्पादन प्रविधिले अब आयआर्जनमा ठोस सुधार आउने विश्वास जागेको जागेको बताउनुभयो । तालिमको व्यावहारिक पक्षलाई सुदृढ बनाउन सहभागीहरूलाई धरान–१ स्थित सम्पदा मौरी तथा रैथाने कृषि स्रोत केन्द्रमा स्थलगत अवलोकन गराइएको थियो । केन्द्रकी सञ्चालिका दुर्गा नेपालले आधुनिक घार निर्माण प्रक्रिया, मौरीको गोला वृद्धि प्रविधि तथा आवश्यक उपकरणहरूको प्रयोगबारे व्यवहारिक जानकारी गराउनुभएको थियो । सहभागी कृषकहरूले प्रत्यक्ष अवलोकनमार्फत सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् । आयोजकका अनुसार यस्ता तालिम कार्यक्रमले कोशी प्रदेशमा मौरी पालनलाई व्यवसायीकरणतर्फ उन्मुख गराउँदै स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा रैथाने कृषि स्रोतको संरक्षणमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । नेपालमा हाल करिब १० लाख आधुनिक घारमा मौरीपालन भइरहेको तथ्यांक छ । मौरीका लागि छुट्टै आहारको आवश्यकता नपर्ने, जंगली वनस्पति र बाली नै यसको मुख्य आधार हुने भएकाले नेपालजस्तो जैविक विविधतायुक्त देशका लागि मौरीपालन अत्यन्त उपयुक्त व्यवसायका रुपमा लिदै मौरी पालनमा कृषकहरु दिनप्रतिदिन आकर्षित बन्दै गएका छन् ।

तपाईको प्रतिक्रिया