धरान । क्लोथ फाउन्डेशन धरानले जेष्ठ नागरिक तथा अपांगता र विपन्नता भएका व्यक्तिहरूका लागि विशेष वनभोज कार्यक्रमको आयोजना गरेको छ । घरको चौघेराभित्र सीमित रहन बाध्य लक्षित वर्गलाई एक दिन भए पनि खुला वातावरणमा ल्याई मानसिक सन्तुलन र सामाजिक घुलमिलमा टेवा पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । धरान–२० माछामारामा अवस्थित रमणीय गोर्खा स्मृति पार्कमा आयोजित कार्यक्रममा सहभागीहरू प्रकृतिसँग रमाउँदै हाँसो, खुसी र आपसी संवादमा मग्न देखिन्थे । हिँडडुल गर्न कठिनाइ हुने, दैनिक कामकाजमा अरूको सहारा लिनुपर्ने तथा लामो समयदेखि घरमै सीमित रहनुपरेको अवस्थाले मानसिक खटपट महसुस गर्दै आएका जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूका लागि फाउन्डेशनले वर्षमा एकपटक यस्ता रमाइलामूलक कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ । यस्ता कार्यक्रमले सहभागीहरूको मनोबल बढाउने, एक्लोपन कम गर्ने र सामाजिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले खुसी व्यक्त गर्दै यस्ता कार्यक्रमले आफूहरूलाई नयाँ ऊर्जा र जीवनप्रति सकारात्मक सोच दिने बताएका छन् । सधैं घरभित्र सीमित रहनुपर्ने बाध्यतालाई चिर्दै एक दिन भए पनि खुला आकाशमुनि प्रकृतिसँग रमाउन पाउनु आफूहरूका लागि अहोभाग्य भएको उनीहरूको भनाइ थियो । जेष्ठ नागरिक एवम् धरान–२० का पूर्व वडाध्यक्ष मणिराम राईले मानव सेवा नै सबैभन्दा ठूलो सेवा भएको उल्लेख गर्नुभयो । उहाँले धन–सम्पत्ति दिएर मात्रै सेवा पूरा नहुने भन्दै, आत्मीयता, समय र संवेदनशीलता नै वास्तविक मानव सेवा भएको बताउनुभयो । क्लोथ फाउन्डेशनले जेष्ठ नागरिकहरूको भावना बुझेर आयोजना गरेको यो कार्यक्रमले समाजमा मानवताको सुन्दर उदाहरण प्रस्तुत गरेको उहाँको भनाइ छ । मानव सेवामा समर्पित यस संस्थाले आयोजना गरेको यस्ता कार्यक्रमहरु अत्यन्तै समय सान्दर्भिक रहेको उपस्थित जेष्ठ नागरिहरुले बताएका छन् । यसैगरी धरान–२० का वडाध्यक्ष पदम लिम्बुले क्लोथ फाउन्डेशनको निरन्तर सामाजिक योगदानको प्रशंसा गर्नुभयो । उहाँले फाउन्डेशनले कहिले न्यानो कपडा वितरण, कहिले विपन्नलाई सहयोग, त कहिले लक्षित वर्गका लागि यस्ता मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्दै समाजमा प्रेरणादायी काम गर्दै आएको बताउनुभयो । सामाजिक उत्तरदायित्वलाई आत्मसात् गर्दै आएको क्लोथ फाउन्डेशनको यस पहलले जेष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूको जीवनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । फाउन्डेशनले स्थापना भएयता जाडो महिनामा आर्थिक अवस्था कमजोर भएकाहरूलाई लक्षित गरी विभिन्न संघ–संस्थासँग समन्वय गर्दै बस्तीमै पुगेर न्यानो कपडा वितरणलगायतका सामाजिक कार्य निरन्तर गर्दै आइरहेको छ ।

