सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले माघ महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको जनाएको छ । एक महिनाको अवधिमा १७४ वटा विभिन्न मुद्दा दर्ता भएको र ५७ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार माघ महिनामा दर्ता भएका १७४ मुद्दामध्ये ३९ वटा सामान्य, ४९ वटा गम्भीर, ५ वटा जघन्य र ८१ वटा अन्य प्रकृतिका रहेका छन् । आर्थिक अपराधतर्फ बैंकिङ कसुरका २५ र ठगीका १२ गरी कुल ३७ मुद्दा दर्ता भएका छन् । सो अवधिमा १७४ जनालाई नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाइएको छ । लामो समयदेखि फरार रहेका ५७ जना प्रतिवादीलाई पक्राउ गरी ४७ लाख ७८ हजार १०८ रुपैयाँ नगद जरिवाना असुल गरिएको छ भने १५ वर्ष ११ महिना २९ दिन कैद सजाय फछ्र्योट गरिएको प्रहरीले जनाएको छ ।

लागुऔषध नियन्त्रणतर्फ २०२.४ केजी गाँजा, ३३.९८ ग्राम ब्राउन सुगर र ६ हजार ३७७ पिस विभिन्न मनोदिपक चक्की बरामद गरिएको छ । यस म्बन्धमा ३९ जना व्यक्ति र ८ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । भन्सार छलीतर्फ १० लाख १ हजार ९६० रुपैयाँ बराबरको सामान बरामद गरी राजस्व संकलन गरिएको छ । माघ महिनामा जिल्लाभर ११८ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने १८७ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ५७० सवारी साधनलाई कारबाही गरी १३ लाख १९ हजार रुपैयाँ जरिवाना संकलन गरिएको प्रहरीले जनाएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत २०८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ६ हजार ९२० जनालाई प्रत्यक्ष लाभ पु¥याइएको छ । शान्ति सुरक्षा मजबुत बनाउन १९ वटा नयाँ सीसीटीभी क्यामरा जडान गरिएको छ । प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी चन्द्रबहादुर खड्काले सार्वजनिक गरेको विवरण अनुसार माघ महिनामा कुल २३ लाख ३० हजार ९६० रुपैयाँ राजस्व संकलन भएको छ ।

