धरानमा लागूऔषधसहित दुई जना पक्राउ

धरान । गत फागुन १ गते सुनसरी जिल्लाको धरान उप–महानगरपालिका वडा नं. १० स्थित सेवालुङ चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी श्यामचौक धरानबाट खटिएको प्रहरी टोलीले बिहान ९ः४५ बजे स्थानीय २६ वर्षीय सन्दिप राईको डेरामा खानतलासी गर्दा लागूऔषध ट्रामाडोल २०८ क्याप्सुल र स्पास्पेन २०८ ट्याब्लेट फेला पारेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीले बरामद लागूऔषधसहित सन्दिप राईलाई नियन्त्रणमा लिएको छ । साथै उक्त कारोबारमा संलग्न रहेको आरोपमा वडा नं. १५ बस्ने १८ वर्षीया भुमिका बर्देवालाई समेत पक्राउ गरिएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय धरानमा राखिएको प्रहरीले जनाएको छ । प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै यस्ता गतिविधिबारे जानकारी भएमा तत्काल नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया