धरान । सर्वोच्च अदालतले सवारी साधनमा प्रयोग हुने इम्बोस्ड नम्बर अंग्रेजी भाषामा प्रयोग नगर्नु भनी अन्तरिम आदेश दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौड्यालको संयुक्त इजलासले इम्बोस्ड नम्बरप्लेटमा अंग्रेजी भाषा प्रयोग नगर्न तत्काल कार्यान्वयन आदेश दिएको हो । अधिवक्ता रामबहादुर राउतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक यातायात व्यवस्था विभाग, अर्थ मन्त्रालय र प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र डिकाटुर टाइगर कम्पनी नेपाललाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमा देवनागरिक लिपीलाई विस्थापित गरी अंग्रेजी भाषामा मात्र प्रयोग गर्ने निर्णय संविधान र कानुन विपरीत रहेको दाबी गरिएको थियो । सर्वोच्चको अन्तरिम आदेशपछि अधिवक्ता राउतले यो आदेशले सकारात्मक सन्देश दिएको र नेपाली भाषाको पक्षमा ऐतिहासिक जीत भएको प्रतिक्रिया दिनुभएको छ । अदालतको आदेशसँगै देवनागरिक लिपी हटाएर अंग्रेजी भाषामात्र प्रयोग गर्ने गरी गरिएको निर्णय तत्काल लागू नहुने भएको छ । अदालतको यस निर्णयले लाखौँ सवारी साधन प्रयोगकर्ताहरूबाट अर्बौँ संकलन गर्ने सरकारको नियतमा बाधा उत्पन्न भएको छ ।

