यतिबेला नेपालमा सामाजिक सञ्जालमा अश्लिलताले पराकाष्ठा नाघेको छ । सामाजिक सञ्जाल खोलेर हेर्न सकिने अवस्था छैन । परिचालितहरूको डिजाइनमा फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर सिंहदरबार जलाउने, सर्वोच्च अदालत जलाउने, संसद् भवन जलाउने, राष्ट्रपति भवन जलाउने, व्यापारिक प्रतिष्ठान जलाउने, व्यक्तिका निजी सम्पत्ति ध्वस्त बनाउने, अवोध बालबालिकालाई मर्नका लागि सडकको अग्रपंक्तिमा पठाउने, कुख्यात अपराधीहरूलाई जेल फोडेर भगाउने, सुरक्षाकर्मीहरूको हतियार खोस्ने कुलंघारहरू कहिल्यै सभ्य त बन्नै सक्दैनन् । सामाजिक सञ्जालमा अपशब्द बोल्ने, सुन्न र कल्पना नै गर्न नसक्ने शब्दहरू प्रयोग गर्ने, जसले घृणा फैलाउँछ, त्यो राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता, नेता, निर्वाचनमा उम्मेदवार बनेकाहरू नै हुन् भन्ने कुरा छुट्याउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई सजिलो भएको छ । उनीहरूका विरुद्धमा आफ्ना मत जाहेर गर्नु नहुने भएको छ । कसैले स–प्रमाण तर्कसंगत ढंगले आफ्नो मत जाहेर गरेमा अपशब्दको बाढी सुरु हुन्छ । सामाजिक सञ्जालमा तिनका पोस्ट हेर्दा हाम्रो समाज र समाजको संरचना नै विथोलिन थालेको छ । यस्ता गतिविधिले समाजमा विभेद पैदा गराएको छ, मिलेर बसेको समाजमा वैमनस्यता कायम भएको छ । यसले आपसी द्वन्द्व सिर्जना गरेको छ । हुन त रास्वपाको उदय नै सामाजिक विकृति चुल्याउनु नै देखिन्छ । पश्चिमी र अमेरिकी एजेन्डा पचाउन देशका प्रति यति हदसम्म जान सक्नेले भोलिका दिनमा निर्वाचन जितेको खण्डमा स्थिति कति सम्म भयावह हुन्छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । तिनीहरूलाई अपशब्द लेख्न न लाज छ, न हिनताबोध छ, न समाजसँग सरोकार छ । लेख्नै परे पनि सभ्य भाषामा लेख्न सकिन्छ, सभ्य भाषामा आलोचना गर्न सकिन्छ । तर उनीहरू त्यसो गर्दैनन् । राज्यको सरकार कति सम्म निकम्मा, निकृष्ट छ भने आजसम्म त्यति अपाच्य शब्द प्रयोग गर्नेहरूलाई कारबाही, खोजतलास र दण्डित गर्दैन । यथार्थ बोल्ने, भुइँमान्छेका पीडा बोल्ने, राष्ट्रको अस्मिता जोगाउन आवाज उठाउने, तस्कर, भ्रष्ट, माफियाका कर्तुतका सम्बन्धमा बोल्ने, नागरिकका घरजग्गा उठिबास बनाउनेका विरुद्धमा बोल्ने, परिचालित दलालहरूका विरुद्धमा जनचेतना तथा सावधान गराउन बोल्ने आवाजहरू थुन्न मात्र जानेको छ । अभियन्ता दुर्गा प्रसाईंलाई माघ २३ गते शुक्रबार चौथो पटक पक्राउ गरेर वर्तमान, कलंकित, परिचालित सरकारले बहादुरी देखाएको छ । के अपराध गरेका थिए प्रसाईंले ? के उनले भ्रष्टाचार गरेका थिए ? के उनले कसैमाथि बलात्कार गरेका थिए ? नागरिकको वाक् स्वतन्त्रताको धज्जी उडाएर परिचालित सरकारले परिचालितहरूलाई मलजल गरिरहेको छ । अर्कोतर्फ रास्वपाले मुलुकको अस्मिता, सनातन धर्म, संस्कृति, परम्परामाथि बारम्बार घृणा फैलाउने कुचेष्टा गर्दै आएको छ । त्यसका उपाध्यक्षले बोलेका, सामाजिक सञ्जालमा पोस्ट्याएका सामग्रीहरूले प्रमाणित गरिसकेको छ । तर तिनै व्यक्तिले निर्वाचनका मुखमा आएर मतदाताहरूलाई भ्रमित बनाउन अनेकौँ प्रोपोगाण्डा गरिरहेकोप्रति कसैले व्यङ्ग्य गर्दा साइबर अपराध गरेको उजुरी गर्छन् । राज्यले कसैलाई सही ठम्याएर पक्राउ गर्छ । जसलाई पक्राउ गर्नुपर्ने हो त्यसलाई राज्य स्वयंले संरक्षण गर्छ । त्यसो भए उपाध्यक्ष स्वर्णिम वाग्लेले पोस्ट्याएका त्यस्ता सामग्री फेक हुन् त ? किन यस सम्बन्धमा निष्पक्ष छानबिन हुँदैन ? हुन त वर्तमान सरकार र रास्वपाको उद्गम थलो एकै हो । उसलाई कारबाही गर्ने ल्याकत वर्तमान सरकारले राख्दैन । यति त भन्नै पर्छ—रास्वपाले घण्टी मात्र होइन, मन्दिरै बोकेर हिँडे पनि ऊ सनातन हिन्दू धर्म, किराँत धर्म, बौद्ध धर्म, मुस्लिम धर्मका विरुद्ध नै छ र रहनेछ ।

