दुहवी । परिस्थितिजन्य कारणले दुई वर्ष अगावै हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा यतिबेला सुनसरी क्षेत्र नं. ३ सबैका लागि सर्वाधिक चासोको क्षेत्र हुन पुगेको छ ।
नेपाली काँग्रेसका प्रभावशाली नेता, प्रतिष्पर्धी राजनैतिक दलका उमेद्वारहरुको तुलनामा हेभिवेट भएका विजय गच्छदार उक्त क्षेत्रबाट निर्वाचन दौडमा रहनु भएकोले पनि सुनसरी क्षेत्र नं. ३ सर्वाधिक चासोको विषय बनेको हो ।
यसभन्दा अगाडि वि.सं. २०७९ सालको आवधिक निर्वाचनमा पार्टीभित्र भएको घात, अन्तरघात र प्रतिघातका कारण जीवनमा पहिलो पटक झिनो मतले पराजय हुन पुग्नु भएका गच्छदार यस पटक भारी मतले विजयी हुने मतदाताहरु बताउँछन् । गच्छदार पाँच पटक उपप्रधानमन्त्री, कैयौ पटक कार्यवाहक प्रधानमन्त्री र १८ पटक मन्त्री भइसक्नु भएको छ । उहाँको यो निर्वाचनमा आठौं प्रतिष्पर्धा हो । विगतमा उहाँले साविकको क्षेत्र नं. २ र हालको क्षेत्र नं. ३ बाट २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ सालमा निर्वाचन जित्नु भएको थियो । उहाँले आम निर्वाचन २०४८, २०५१ र २०५६ मा नेपाली काँग्रेसबाट निर्वाचनमा विजयी हासिल गर्नुभएको थियो भने नेपाली काँग्रेसभित्रको
आन्तरिक कलहबाट सिर्जना भएको
परिस्थितिपश्चात् २०६४ सालमा संविधानसभाका निर्वाचनमा उहाँ मधेशी जनअधिकार फोरम र २०७० को निर्वाचन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट निर्वाचन जित्नु भएको थियो। २०७४ को निर्वाचनमा पुनः उहाँ नेपाली काँग्रेसमै फर्किएर निर्वाचन जित्नु भएको थियो । सुनसरी क्षेत्र नं. ३ मा एमालेबाट विगतमा गच्छदारकै कार्यकर्ता समेत रहेकी तर असन्तुष्ट व्यक्त गर्दै एमाले प्रवेश गरेकी भगवती चौधरी, नेपाली कम्युनिस्ट पार्टी (माओवादी) बाट दुर्गेस चौधरी, जनता समाजवादी पार्टी नेपालबाट बद्री प्रसाद यादव, आम आदमी पार्टीबाट रोशन साह, नेपाल मजदुर किसान पार्टीबाट प्रकृति बासी, समावेश समाजवादी पार्टीबाट किशोर कुमार विश्वास, नेकपा माओवादीबाट आसुतोष ढुंगेल, श्रम संस्कृति पार्टीबाट रामप्रसाद साह, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रमोद पौड्याल, आम जनता पार्टीबाट रोशनकुमार साह, सार्वभौम नागरिक पार्टीबाट कृष्णकुमार चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट अशोक कुमार चौधरीसहित २० जना उमेद्वारहरु चुनावी प्रतिष्पर्धामा रहेको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ । निर्वाचन अधिकृत पदमबहादुर कार्कीका अनुसार राजनैतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उमेद्वारमा चित्तनारायण चौधरी, कुमारी उराव, सुमनकुमार चौधरी र कासनी थरुनी समेत प्रतिष्पर्धामा रहेका छन् ।


गढी गाउँपालिकाका जयकुमार चौधरी भन्नुहुन्छ, विगतको निर्वाचनमा विजयकुमार गच्छदारलाई पराजित गरेर यस क्षेत्रका मतदाताले पछुतो मानेका थिए । यसपटकको निर्वाचनमा विगतको गल्ती नदोहो¥याउने पक्षमा मतदाताहरु देखिएका छन् । उहाँले भन्नुभयो, विजय गच्छदारले यस क्षेत्रका स्थानीयहरुलाई कहिल्यै तिर्न नसक्ने गुण लगाएका छन् । यस क्षेत्रमा शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण जे जति बनेका छन् सबै उहाँकै देन हो । सुनसरीका अन्य क्षेत्रको तुलनामा सुनसरी क्षेत्र नं. ३ मा सबैभन्दा धेरै विकास भएको छ । यतिमात्र नभएर स्थानीयहरू आज नेपाल सरकारको निजामति सेवा, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा ठूलो संख्यामा प्रवेश गरेका छन् । यसको श्रेय गच्छदारलाई नै जान्छ । यद्यपि, उहाँको प्रतिष्पर्धाले एमालेकी भगवती चौधरीसँगै रहेको छ । उता नेपाली काँग्रेसको जिल्ला नेतृत्वमा समेत पुगिसक्नु भएका र हाल नेपाली काँग्रेस छाडेर एमाले प्रवेश गर्नुभएका प्रदीप चौधरी भन्नुहुन्छ, प्रतिष्पर्धा काँग्रेस र एमालेबीचै हुन्छ । अन्य दलहरुबाट प्रतिष्पर्धामा उत्रिएकाहरुको गणना नै हुँदैन । उहाँले भन्नुभयो, सुनसरी क्षेत्र नं. ३ थारु (चौधरी) समुदायको वाहुल्य रहेको क्षेत्र हो । यस पटक दल या स्वतन्त्रबाट समेत अधिकांश चौधरी समुदायका उमेद्वारी परेको छ । विगतमा भगवती चौधरी, एमालेकी उमेद्वारले विजय
गच्छदारसँग दुई पटक निर्वाचनमा पराजय भोगेकी थिइन् । २०७९ को निर्वाचनमा झिनो मतले विजयी भएकी चौधरीको यो पटक गच्छदारसँगको चौथो प्रतिष्पर्धा हो । सुनसरी क्षेत्र नं. ३ मा १ लाख २५ हजार ४३२ मतदाता रहेका छन् । जसमा इटहरी उपमहानगरपालिकाका १० वटा वडा, इनरुवा नगरपालिकाका ७ वटा वडा, गढी गाउँपालिकाका वडा नं. ६, १, ७, दुहवी नगरपालिकाका सबै वडा रहेका छन् ।

