धरान । धरान उपमहानगरपालिकाको वडा नं. १४ विजयपुर धार्मिक पर्यटकीय क्षेत्र हो । यहाँ रहेका मठमन्दिरमा पूजाआजा तथा दर्शन गर्न दैनिक हजारौ सर्वसाधारणहरु आउने गरेका छन् । यसैको प्रचारप्रसार स्वरुप ऐतिहासिक तथा धार्मिक स्थल विजयपुरमा वैदिक सनातन धर्मको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भव्य धार्मिक अनुष्ठान सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, धार्मिक गुरुहरू तथा ठूलो संख्यामा भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको थियो । विश्व हिन्दु परिषद् नेपालको आयोजना तथा वडा नम्बर १४ का वडाध्यक्षको सक्रियता तथा स्थानीय संघ(संस्थाको सहभागितामा सम्पन्न यस कार्यक्रमले विजयपुर क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । कार्यक्रममा भजन(कीर्तन, स्वस्ति वाचन तथा विभिन्न धार्मिक प्रवचनहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा विश्व हिन्दु परिषद्का अध्यक्ष देवराज अधिकारीले पिण्डेश्वर क्षेत्रको धार्मिक गरिमाबारे चर्चा गर्दै यस्ता भव्य तथा सभ्य कार्यक्रमले समाजमा धार्मिक जागरण ल्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले वडा नम्बर १४ का वडाध्यक्षको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै, गुरुदेवहरूको उपस्थिति र स्थानीयको उत्साहले यो क्षेत्रको धार्मिक वातावरणलाई थप ऊर्जावान् बनाएको बताउनुभयो ।

यसैगरी, धरान(१४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले धार्मिक आस्थाले मानव समाजलाई एकसूत्रमा बाँध्ने बताउनुभयो । विजयपुर क्षेत्र ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले यस्ता कार्यक्रमहरू अब संघ(संस्थामै सीमित नराखी स्थानीय, प्रदेश र संघीय सरकारले समेत नेतृत्व लिएर अघि बढाउनुपर्ने धारणा राख्नुभयो । कार्यवाहक मेयर बेघाले धरानका ऐतिहासिक तथा धार्मिक स्थलहरू, विशेषगरी पिण्डेश्वर मन्दिर क्षेत्रको संरक्षण र विकासका लागि नगर सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । यस्ता धार्मिक तथा सांस्कृतिक कार्यक्रमका लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको जानकारी दिँदै आगामी दिनमा पनि सहयोग निरन्तर रहने आश्वासन दिनुभयो । कार्यक्रममा तान्त्रिक जगत गुरु शिवशक्ति बाबालार्ई सम्मान समेत गरिएको थियो । सो अवसरमा विभिन्न धार्मिक गुरुहरु, स्थानीय जनप्रतिनिधि तथा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो । आयोजकका अनुसार यस धार्मिक अनुष्ठानले धरानको विजयपुर क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रका रूपमा प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । यो क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको पिण्डेश्वर मन्दिर, दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, गणेश भीमसेन मन्दिर, पञ्चकन्या मन्दिर, पाथीभरा मन्दिर लगायतका मन्दिरहरु रहेका छन् ।

