धरान । धरानसहित सुनसरी क्षेत्र नम्बर १ मा फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदान केन्द्रहरूको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन सुरु गरिएको छ । निर्वाचनको सुरक्षा तयारी सुनिश्चित गर्न सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, प्रहरी प्रमुख एसपी केशवकुमार थापासहितको टोली धरान आइपुगेको हो । टोलीले सुनसरी क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न मतदान केन्द्रहरूको निरीक्षण गर्दै सुरक्षा, भौतिक संरचना र व्यवस्थापनको अवस्था अनुगमन गरेको छ ,प्रजिअ घिमिरेले सुनसरीका क्षेत्र नम्बर २, ३ र ४ मा यसअघि नै अनुगमन गरिसकेको बताउदै ं क्षेत्र नम्बर १ मा भने विहीबार अनुगमन सुरु गरेको बताउनुभयो । उहाँले केही मतदान केन्द्रमा कम्पाउण्ड वाल नभएको कारण चुनौती देखिए पनि समग्र अवस्था सन्तोषजनक पाइएको बताउनुभयो ।

प्रजिअ घिमिरेका अनुसार निर्वाचन क्षेत्र र मतदान केन्द्रअनुसार संवेदनशीलता फरक(फरक हुने भएकाले त्यसैका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको छ । उहाँले कुनै मतदान केन्द्र सामान्य रहेको र केही संवेदनशील रहेको बताउदै त्यसअनुसार सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिनुभयो । सुनसरी जिल्लामा अहिले कुनै ठूलो चुनौतीको अवस्था नभए पनि सुरक्षा सतर्कता र निगरानी भने अझै बढाइने बताउनुभयो । निर्वाचन आचारसंहिता उल्लंघनका केही उजुरी परेका र ती उजुरी सम्बन्धित निकाय निर्वाचन आयोगमा पठाइएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो । आचारसंहिताले निषेध गरेका टिसर्ट, झण्डा, ठूला ब्यानर मापदण्ड विपरीत प्रयोग भएको र घरदैलोमा २५ जनाभन्दा बढी मानिस परिचालन गरिएको भन्ने उजुरी आएको उहाँको भनाई छ । प्रजिअ घिमिरेका अनुसार फागुन ४ गतेअघिसम्म सामान्य भेटघाट र घरदैलो गर्न पाइने भए पनि आमसभा र आमप्रचार भने निषेध गरिएको छ । उहाँले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र सुरक्षित बनाउन प्रशासनले सुरक्षा तयारी तीव्र पारेको जानकारी दिनुभयो । सुनसरी जिल्लामा ४ वटा निर्वाचन क्षेत्रमा ५ लाख ८० हजार ९ सय ४५ मतदाता रहेका छन् । चारवटै निर्वाचन क्षेत्रमा गरी १६७ मतदान स्थल र ६२४ वटा मतदान केन्द्र तोकिएका छन् ।

