२६औँ बुढासुब्बा गोल्डकप : ठूला टोली स्तब्ध, नयाँ शक्तिको उदय : गोल्डकपमा रोमाञ्चक प्रतिस्पर्धा

धरान । धरानमा जारी २६औँ संस्करणको अन्तर्राष्टिूय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताले सुरुदेखि नै दर्शकलाई रोमाञ्चित बनाउँदै आएको छ । घरेलु मैदानमा आयोजक धरान फुटबल क्लबदेखि साविक विजेता न्यूरोड टिम (एनआरटी), विभागीय टोली नेपाल पुलिस क्लबजस्ता बलिया टिमहरू प्रतियोगिताबाट बाहिरिँदा गोल्डकपले ‘अप्रत्याशित नतिजाको थलो’को परिचय बनाएको छ । प्रतियोगिताको उदघाटन खेलमै आयोजक धरान फुटबल क्लबले पाहुना टोली भारत कालिम्पोङको जर्जियन फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोलले पराजित गर्दै दोस्रो चरणमा स्थान सुरक्षित ग¥यो । निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । धरानका लागि विवेक राई, राज लिम्बू, प्रज्ज्वल थापा र नगेन राईले सफल प्रहार गरे । खेलको म्यान अफ द म्याच धरानका विपुल मगर घोषित भए । प्रतियोगिताको दोस्रो दिन झापा–११ ले पाहुना टोली रोयल थिम्पु फुटबल क्लब भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश ग¥यो । झापाका सुनिल खड्काले पहिलो हाफमा गोलको खाता खोले भने दोस्रो हाफमा राजेश दाहालले अग्रता दोब्बर बनाए । उत्कृष्ट प्रदर्शन गरेका राजेश दाहाल म्यान अफ द म्याच बने ।

तेस्रो दिनको खेलमा साविक विजेता तथा तीन पटकको च्याम्पियन न्यूरोड टिम (एनआरटी) प्लानिङ ब्वाइज युनाइटेडसँग २–० ले पराजित हुँदै तियोगिताबाट बाहिरियो । प्लानिङ ब्वाइजका पेबेले र श्याम मुरमुरले गोल गर्दै टिमलाई क्वार्टरफाइनलमा पु¥याए । यस खेलले प्रतियोगिताको प्रतिस्पर्धात्मक स्तर झनै रोचक बनायो । चौथो खेलमा चर्च ब्वाइज युनाइटेडले नेपाल पुलिस क्लबलाई १–० ले हराउँदै दोस्रो चरणमा स्थान सुरक्षित ग¥यो । खेलको पहिलो मिनेटमै रिचर्ड विल्सनले गरेको गोल नै निर्णायक बन्यो । चार पटकको च्याम्पियन पुलिस क्लब प्रतियोगिताबाट बाहिरिँदा दर्शक स्तब्ध बने । रिचर्ड विल्सन म्यान अफ द म्याच घोषित भए । पाँचौ दिनको क्वार्टरफाइनलमा पोखराको लालीगुराँस एसोसिएसनले आयोजक धरान फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय ग¥यो । निर्धारित समय र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । लालीगुराँसका गोलरक्षक कुम्भ देउवाले निर्णायक प्रहार रोकेर टोलीलाई जित दिलाउँदै म्यान अफ द म्याच बने । फागुन २ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ट्रफी, मेडलसहित नगद १० लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ । साथै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान डियो स्कुटर प्रदान गरिने आयोजक धरान फुटबल क्लबले जनाएको छ ।

तपाईको प्रतिक्रिया