धरान । अभिनय क्षेत्रका ख्यातिप्राप्त कलाकार सुनिल थापा उर्फ राते काइँलाको शनिवार निधन भएको छ । हृदयघातका कारण शनिवार बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा उहाँको निधन भएको हो । वि.सं. २०१४ साल जेठ ६ गते दाङमा जन्मनु भएका थापाले दर्जनौँ नेपाली र हिन्दी चलचित्रमा सफल अभिनय गर्नुभएको थियो । नेपाली चलचित्रहरूमा चिनो, गोर्खा पल्टन, शिकारी, शिकारी–२, पापी मान्छे, पापी मान्छे–२, अल्झेछ क्यारे पछ्यौरी, देवर भाउजू, कर्मयोद्धा, मेरी बास्सै हास्य श्रृंखला, क्याप्टेनमा उहाँको सशक्त अभिनयले थापालाई चिरस्मरणीय बनाएको छ । यसैगरी बलिउड चलचित्रमा एक दुजेके लिए, मानव हत्या, आजकी आवाज, मनु द ग्रेट, अल्बेला, नासिववाला, मेरो कोम लगायतका दर्जनौँ चलचित्रमा सफल अभिनय गर्नुभएको थियो । भिडियो फिल्म मसालबाट थापाले अभिनय यात्रा सुरु गर्नुभएको थियो ।

अचानक असहज महसुस गरेपछि उहाँलाई नर्भिक अस्पताल पु¥याए पनि उपचारमा संलग्न चिकित्सकहरूले मृत घोषित गरेका थिए । थापाको परिवारमा एक श्रीमती र छोरा रहेका छन् । उहाँहरू भारतको मुम्बईमा बस्दै आउनुभएको छ । परिवार आएपछि मात्र थापाप्रतिको श्रद्धाञ्जली कार्यक्रम सुरु गरिएको थियो । उहाँको अन्त्येष्टि आइतबार मध्यान्ह पशुपति आर्यघाटमा गरिएको थियो । थापाको अन्तिम विदाइका लागि चलचित्रकर्मी, लब्धप्रतिष्ठित व्यक्तिहरू, राजनीतिककर्मीहरू, पेशागत संघ–संस्थाका पदाधिकारीहरू आर्यघाट पुगेका थिए । उहाँको निधनमा हरेक क्षेत्रका व्यक्तिहरूले सामाजिक सञ्जालमा नेपाली चलचित्र उद्योगले एक महान व्यक्तित्व र बलियो धरोहर गुमाएको भन्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए । स्व. थापाको अभिनयको सुरुवात बलिउड चलचित्रबाट भएको हो । यद्यपि उहाँले नेपाली चलचित्र क्षेत्रलाई समृद्ध बनाउन भने कुनै कसर बाँकी राख्नुभएन । उहाँ एभरेष्ट फिल्म एकेडेमीको अध्यक्ष भएर नेपाली चलचित्र उद्योगलाई सशक्त बनाउने काममा अहोरात्र खटिनु भएको थियो । थापाको निधनमा भारतीय चलचित्रकर्मीहरूले समेत भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

