धरान । फागुन २१ गते आवधिक निर्वाचनभन्दा अगावै हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा यसपटक फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेका कोशी प्रदेशका १४ वटा जिल्लाका ३५ लाख ७४ हजार ३१० जना मतदाताले मतदान गर्ने भएका छन् । यद्यपि तोकिएको समयमा निर्वाचन हुने कुरामा हालसम्म निर्वाचनमा उम्मेदवारी दिएका राजनीतिक दल, निर्वाचन आयोग र सरकार समेत विश्वस्त हुन भने सकिरहेको अवस्था छैन । संसद पुनस्र्थापना सम्बन्धी मुद्दाको बहस पैरवी सर्वोच्च अदालतमा चल्दै गरेको, संसद विघटन सम्बन्धी सर्वोच्च अदालतले विगतमा गरेको फैसलाको नजिर, जेनजी आन्दोलनको माग विपरीत निर्वाचन गराउन लागेको भन्दै निर्वाचन हुनै नदिने जेनजी युवाहरुसँगै राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियानको चेतावनीले निर्वाचन हुनेमा ढुक्क हुन सक्ने अवस्था देखिएको छैन । जसका कारण देशका ठूला राजनीतिक दलहरुले उम्मेदवारी दर्ता गरेपनि निर्वाचन हेतु गर्ने प्रचारप्रसार, घरदैलो, भेटघाट, अन्तरक्रिया शून्य प्रायः देखिएको छ भने नयाँ दलहरु संगठन अभावका कारण फेसबुक वारमा उत्रिएका छन् । निर्वाचन आयोगका अनुसार कोशी प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा १ हजार ९ सय ७ मतदान स्थल घोषणा गरेर सोही अनुरुपको तयारीमा जुटिसकेको छ । आयोगका अनुसार अदालतको आफ्नो पाटो हुन्छ । यो वा त्योको फैसला नआउन्जेल आयोगले तयारी गर्नुपर्ने हुन्छ । कोशी प्रदेशका १४ जिल्लामा निर्धारण गरिएका १ हजार ९ सय ७ मतदान स्थलमा ४ हजार ३ सय मतदान केन्द्र निर्धारण गरिसकिएका छन् ।

कोशी प्रदेशमा मोरङ जिल्लामा सबैभन्दा बढी निर्वाचन क्षेत्र रहेका छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ३०६ मतदान स्थल र ८८८ मतदान केन्द्र निर्धारण गरिएको निर्वाचन आयोगले जनाएको छ । मोरङका ६ वटै निर्वाचन क्षेत्रमा गरी कुल ७ लाख ८३ हजार ५० जना मतदाता रहेका छन् । निर्वाचन आयोगका अनुसार यसैगरी कोशी प्रदेशमा दोस्रो ठूलो निर्वाचन क्षेत्र झापा हो । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेका छन् । पाँच निर्वाचन क्षेत्रमा २८५ वटा मतदान स्थल र ८१५ वटा मतदान केन्द्र तोकिएका छन् । झापाको ५ वटै निर्वाचन क्षेत्रमा गरी कुल ७ लाख १३ हजार ५३७ जना मतदाताहरु रहेका छन् । त्यसो त मोरङ क्षेत्र नं. १ मा १ लाख ५८ हजार ५७, क्षेत्र नं. २ मा १ लाख २९ हजार १ सय ८४, क्षेत्र नं. ३ मा १ लाख ५८ हजार ५७, क्षेत्र नं. ४ मा १ लाख १९ हजार २ सय ५५, क्षेत्र नं. ५ मा १ लाख १० हजार १ सय ७७ र क्षेत्र नं. ६ मा १ लाख ३७ हजार ८ सय ३२ मतदाता रहेका छन् भने झापामा क्षेत्र नं. १ मा १ लाख ३१ हजार ६७, क्षेत्र नं. २ मा १ लाख ४७ हजार ५ सय १७, क्षेत्र नं. ३ मा १ लाख ४० हजार ८ सय ५७, क्षेत्र नं. ४ मा १ लाख ३० हजार ५ सय ११ र क्षेत्र नं. ५ मा १ लाख ६३ हजार ३ सय ७७ जना रहेका छन् । यता सुनसरी जिल्लामा ४ वटा निर्वाचन क्षेत्रमा ५ लाख ८० हजार ९ सय ४५ मतदाता रहेका छन् । चारवटै निर्वाचन क्षेत्रमा गरी १६७ मतदान स्थल र ६२४ वटा मतदान केन्द्र तोकिएका छन् । यसैगरी उदयपुर जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । कुल २ लाख ३८ हजार ९ सय २६ मतदाता रहेको उदयपुरमा निर्वाचन आयोगले १०३ मतदान स्थल र २७५ वटा मतदान केन्द्र निर्धारण गरेको छ । पहाडी जिल्ला भएपनि मतदाता संख्याको आधारमा इलाम जिल्लामा पनि दुई वटा निर्वाचन क्षेत्र रहेका छन् । इलामका दुवै निर्वाचन क्षेत्रमा गरी १ लाख २२ हजार ७१५ जना मतदाता रहेका छन् भने १५० मतदान स्थल र २९० मतदान केन्द्र निर्वाचन आयोगले निर्धारण गरेको छ । कोशी प्रदेशका अन्य पहाडी जिल्लाहरु तेह्रथुम, भोजपुर, संखुवासभा, खोटाङ, पाँचथर, ताप्लेजुङ, ओखलढुंगा, धनकुटा, सोलुखुम्बुमा एक÷एक वटा निर्वाचन क्षेत्र रहेका छन् । सोलुखुम्बुमा कुल मतदाता संख्या ८५ हजार ११५, १२३ मतदान स्थल र १३८ मतदान केन्द्र, ओखलढुंगामा १ लाख २२ हजार ७१५ जना मतदातामा ८४ मतदान स्थल र १५७ मतदान केन्द्र, खोटाङमा १ लाख ४७ हजार १२० मतदाता रहेका छन् । त्यहाँ १३६ मतदान स्थल र १९५ मतदान केन्द्र, संखुवासभामा १ लाख १९ हजार ६३० मतदाता रहेको र उक्त जिल्लामा १०९ मतदान स्थल र १६४ मतदान केन्द्र, ताप्लेजुङमा ९० हजार ३२७ मतदातामा ८० मतदान स्थल र १२७ मतदान केन्द्र, पाँचथरमा १ लाख ४३ हजार मतदातामा १०२ मतदान स्थल र १७९ मतदान केन्द्र, धनकुटामा १ लाख १८ हजार ४२५ मतदातामा ११९ मतदान स्थल र १६६ मतदान केन्द्र, भोजपुरमा १ लाख २५ हजार मतदातामा ८७ मतदान स्थल र १५९ मतदान केन्द्र र तेह्रथुममा ७३ हजार १३७ मतदातामा ५६ मतदान स्थल र ९३ मतदान केन्द्र तोकिएका छन् ।
