एजेण्डा र जिम्मेवारविहीन ड्रामावाजबाट मतदाता सतर्क हुनुपर्छ

यतिबेला मुलुक इतिहासकै कठिन मोडमा निर्वाचनमा होमिएको छ । मुलुकमा प्रजातन्त्रका लागि जीवनपर्यन्त संघर्षरत ठूला राजनीतिक एवम् पुराना राजनीतिक पार्टीहरूका उम्मेदवारहरूलाई अमेरिकी एवम् पश्चिमी शक्तिहरूले खुइँल्याउन अपराधीहरू तयार गरेका छन् । आर्थिक पासो थापेर तयार गरिएका लुसिफरहरूले सामाजिक सञ्जालहरूको अधिकतम प्रयोग गरेका छन् । एजेण्डा र जिम्मेवारविहीन त्यस्ता ड्रामावाजहरूले हजारौँ हजार फेक आइडीमार्फत देशका अन्य राजनीतिक दल, तिनका समर्थकहरूको मानमर्दन गर्नुलाई नै आफ्नो चुनावी एजेण्डा बनाएका छन् । निर्वाचन प्रयोजनका लागि वर्तमान संविधान प्रतिकूल गठन भएको सरकारले यसप्रति मौनता साध्नुबाहेक कुनै ठोस कदम चाल्न सकेको छैन । सामाजिक सद्भाव खलल बनाउने, अश्लील आमाचकारी गालीगलौज, आफूसँग सहमत नहुनेलाई भौतिक कारबाहीको धम्की त्यस्ता फेक आइडीबाट छताछुल्ल हुँदा जिम्मेवार सरकारले तत्काल हदैसम्मको कारबाहीको कदम अगाडि बढाउनुपर्ने थियो । त्यस्ता फेक आइडी सञ्चालकहरूको पहिचान गर्नुपर्ने थियो । अब सरकारको रवैया देख्दा निर्धक्क भन्न सकिने अवस्था सिर्जना भएको छ । वास्तवमै सरकार लुसिफरहरूकै डिजाइनमा बनेको हो । लुसिफरका नाइके जसले नेपालको ऐतिहासिक संरचना सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन अर्थात् शीतल निवास, व्यवसायिक प्रतिष्ठान, व्यक्तिका निजी सम्पत्ति, संसद् भवन जलाउन अँध्यारो कोठामा बसेर अवोध स्कुले विद्यार्थीहरूलाई निर्देशन दिएको थियो । यी कुराहरू प्रमाणका साथ अगाडि आइसकेका छन् तर पनि लुसिफरका अन्धभक्त मतियारहरू तिनैलाई देवत्वकरण गर्न दिलोज्यानले लागेका छन् । निर्वाचनको सन्दर्भमा भन्नुपर्दा निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवार कानुनतः बराबर हैसियतका हुन्छन् । चाहे ती कुनै ठूलो दलका उम्मेदवार हुन्, चाहे कुनै साना दलका उम्मेदवार हुन्, चाहे स्वतन्त्र उम्मेदवार हुन् तर वर्तमान राज्य संयन्त्रले उम्मेदवारहरूको सुनियोजित वर्गीकरण गरेको आभास भएको छ । सिंहदरबारलगायत संरचना जलाउने अनि म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने लुसिफर, ठग पार्टीका उम्मेदवारहरूलाई राज्यले सुरक्षा दिनुले वर्तमान सरकारको नियतमाथि आशंका गर्ने प्रशस्त आधार पाइएको छ । काठमाडौँका पूर्व मेयर एउटा दलका उम्मेदवार हुन् तर उनलाई प्रहरीको विशेष सुरक्षा किन ? यतिमात्र होइन उनकी श्रीमती आफ्ना पतिको प्रचारप्रसारका क्रममा झापा बस्दा सादा पोसाकका प्रहरीको सुरक्षा किन ? राज्यको यो चरम विभेद मात्र होइन जसरी भए पनि सरकार र पश्चिमी डिजाइनले उनीहरूलाई जिताउने संकल्प नै लिएको प्रष्ट हुन्छ । कतिसम्मको षड्यन्त्र भएको छ भने निर्वाचन अगावै राज्य शक्तिमा को आसीन हुने भन्ने कुरा प्रचार गर्दछन् । संसारमा आजसम्म यो हदसम्मको प्रचारवाजी निर्वाचन अगावै भएकै छैनन्, भएको थिएन र हुनेवाला पनि छैन । तर यहाँ त्यसो गर्नुको प्रमुख कारण अमेरिका र पश्चिमाहरूले नेपालमा जेलेन्स्की तयार गर्दैछन् । अमेरिकाकै उक्साहट, आर्थिक सहयोग, हातहतियारको सहयोगको चरम उन्मादमा उसैको निर्देशनमा महाशक्ति र शान्त मुलुक रुसियामाथि आक्रमण गर्दा आज उक्त देश विश्वमानचित्रबाट मेटिने अवस्थामा पुगेको छ । तसर्थ आम नेपाली मतदाताहरूले बेलैमा विवेक प्रयोग नगर्ने हो भने पछुताउनुको विकल्प रहँदैन ।

तपाईको प्रतिक्रिया