काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर निर्वाचनसँग सम्बन्धित सामग्रीको दोस्रो लट भारत सरकारद्वारा माघ १५ गते उपलब्ध गराएको छ । गत बिहीबार काठमाण्डौमा आयोजित एक विशेष कार्यक्रमका बीचमा भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले अर्थमन्त्री रामेश्वर खनाललाई ती सामग्रीहरू हस्तान्तरण गर्नुभएको हो । निर्वाचनसँग सम्बन्धित सामग्रीसँगै २५० सवारी साधन औपचारिक रूपमा हयोगस्वरूप हस्तान्तरण गरिएको थियो ।


सो अवसरमा संक्षिप्त मन्तव्य दिनुहुँदै अर्थमन्त्री रामेश्वर खनालले भन्नुभयो, भारत र नेपालबीच लामो समयदेखिको सहयोग र मैत्रीपूर्ण सम्बन्ध रहेको छ । उहाँले निर्वाचन लक्षित सामग्री भारत सरकारले उपलब्ध गराएकोमा भारत सरकार र भारतीय जनतालाई विशेष धन्यवाद दिँदै नेपालमा आगामी फागुन २१ गते हुने चुनावको तयारीमा यसको महत्व रहनेछ भन्नुभयो । भारत सरकारले नेपालको निर्वाचनसँग सम्बन्धित त्यस प्रकारको सहयोगको पहिलो चरण अर्थात् माघ ६ गते ६० वटा सवारी साधन उपलब्ध गराएर सहयोग गरेको थियो । आगामी दिनमा थप सहयोग उपलब्ध गराइने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जारी विज्ञप्तिमा भनिएको छ, भारतीय पक्षबाट जारी सहयोग र समर्थन दुवै देशबीचमा रहेको बहुआयामिक र बहुक्षेत्रीय विकास साझेदारीको उपयुक्त प्रतिविम्ब मात्र होइन भारत र नेपालका जनता बीचको गहिरो पारस्परिक र मित्रताको प्रतीक पनि हो ।

