नेपालका २४ स्टार्टअपहरू सम्मानित – नेपाल–भारत स्टार्टअप पार्टनरसीप नेटवर्कको समापन

धरान । नेपालका २४ वटा स्टार्टअपहरू सम्मिलित भारत–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्क (IN-SPAN) को पहिलो समूहको समापन समारोह माघ १६ गते चेन्नईको आइआइटी मद्रासमा सम्पन्न भयो । समापन समारोहमा विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) का अनु महावर प्रमुख अतिथिको रूपमा रहनुभएको थियो । IN-SPAN मा आइआइटी मद्रासले ८ हप्ताको पूर्ण वित्तपोषित तालिम र नवप्रवर्तन कार्यक्रम प्रस्तुत गरेको थियो । आइआइटी मद्रास प्रवर्तकले ४६ वटा स्टार्टअपहरूलाई इन्क्युबेट गरेको थियो, जसमध्ये १४ वटाले आफ्नो प्रविधिको सफलतापूर्वक व्यवसायीकरण गरेका थिए । उक्त समारोहमा सचिव मनु महावरले पहिलो समूहको आयोजना गरेकोमा आइटी मद्रास इकोसिस्टमलाई धन्यवाद दिनुभएको थियो । उहाँले सहभागीहरूलाई बधाई दिँदै यो प्रयासले भारत–नेपाल स्टार्टअप सहकार्यलाई अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो । यसैगरी एडवर्की संस्थापक सुश्री युनिका बज्राचार्य र एडट्र्याकका संस्थापक असिम श्रेष्ठले समूहको तर्फबाट आफ्नो धारणा सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमले आफूहरूको अपेक्षाभन्दा बढी लाभ प्रदान गरेको र आफूहरू नेपालमा आइआइटी मद्रास प्रवर्तक उत्कृष्टता केन्द्र स्थापना गरेर कार्यक्रमबाट प्राप्त सिकाइलाई संस्थागत गर्न सक्ने धारणा राख्नुभएको थियो ।
यसैगरी प्रा. मंगला सुन्दर, प्रोफेसर एमेरिटस, आइआइटी मद्रास, प्रोफेसर गौरव रैना, प्रोफेसर आइआइटी मद्रास, लेफ्टिनेण्ट जनरल (सेवानिवृत्त) कर्णवीर सिंह ब्राह, विशिष्ट रणनीतिक सल्लाहकार, आइआइटीएम प्रवर्तक, राजेन्द्र मुथा प्रमुख (नयाँ पहल), श्री मान्धुर, श्रीलंकान्तक, आइआइटी प्रवर्तकले पनि आफ्ना धारणा राख्नुभएको थियो । नेपालबाट लगभग २५० आवेदकहरूमध्येबाट IN-SPAN का २४ सहभागीहरूलाई प्रतिस्पर्धात्मक प्रक्रिया मार्फत छनोट गरिएको थियो । पहिलो समूह लिखित आवेदनहरू, उम्मेदवारहरूको प्रस्तुतिकरण र आइआइटी मद्रास प्रवर्तकको नेतृत्वमा रहेको छनोट समितिको अन्तर्वार्ताको आधारमा छनोट गरिएको थियो । पहिलो समूहका सहभागीहरूलाई साइबर सुरक्षा, ई–वाणिज्य, सामग्री सिर्जना प्लेटफर्महरू, एआई, द्रुत वाणिज्य, एडटेक, स्वास्थ्य सेवा, ड्रोन प्रविधि, क्लिनटेक, कृषि प्रविधि, कानुनी प्रविधि, जलवायु प्रविधि, एयरोस्पेस र फिनटेक लगायतका प्रविधिक क्षेत्रहरूबाट छनोट गरिएको थियो ।


कार्यक्रम आइआइटी मद्रास प्रवर्तकमा तीन चरणमा सञ्चालन गरिएको थियो । पहिलो ४ हप्तासम्म सहभागीहरूले आइआइटी मद्रासका प्रमुख संकाय सदस्यहरू र स्टार्टअप अभ्यासकर्ताहरूद्वारा व्याख्यान र कार्यशालाहरूमा भाग लिएका थिए । उनीहरूले वास्तविक विश्व प्रतिक्रियाको अनुभवका लागि
भारतीय स्टार्टअपका २५ सीईओसँग पनि अन्तरक्रिया गरेका थिए । त्यसपछि दुई हप्तासम्म उनीहरूले आर्टिफिसियल इन्टेलिजेन्स, सेमीकन्डक्टर र सोलार फोटोभोल्टाइक जस्ता प्रविधिहरूमा सिप विकासमा ध्यान केन्द्रित गरेका थिए । पछिल्लो दुई हप्ताले उनीहरूलाई भारतमा सान्दर्भिक स्टार्टअपहरूमा इन्टर्नशिप गरेर आफ्नो सिप तिखार्ने अवसर प्रदान गरिएको थियो । कार्यक्रमको व्यापक प्रकृति र सफल स्टार्टअपहरूसँगको संलग्नताको परिणामस्वरूप नेपालका धेरै सहभागीहरूले भारतीय स्टार्टअपहरूसँग व्यवसायिक सहकार्य गर्ने सक्षम भएका छन् । नेपालमा नै स्टार्टअपहरूले आइआइटी मद्रास इन्क्युबेशन सेल र आइआइटी मद्रास प्रवर्तकबाट इन्क्युबेशन र लगानी प्रस्तावहरू प्राप्त गरेका छन् । आइआइटी मद्रास इन्क्युबेशन सेल भारतको प्रमुख डीप–टेक इन्क्युबेशनहरू मध्ये एक हो, जसले पोर्टफोलियो कम्पनीहरूको संयुक्त मूल्यांकन ६ अर्ब अमेरिकी डलरभन्दा बढी छ । आयोजकले उक्त सफल समूहमा सामेल हुन छनोट भएका स्टार्टअपहरूलाई बधाई दिएको छ । यहाँ स्मरणीय कुरा के छ भने सुरुमा IN-SPAN वार्षिक रूपमा सञ्चालन गर्ने परिकल्पना गरिएको भए पनि नेपाली स्टार्टअप समुदायको बलियो चासोलाई ध्यानमा राखेर अर्को समूह आगामी दिनमा चाँडै तयार गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया