सन्दर्भ : आम निर्वाचन २०८२ -मतदाता र कार्यकर्ताको पुराना दलप्रति वितृष्णा : नयाँ भनिएकाप्रति अविश्वास व्यक्त

धरान । आवधिक निर्वाचनभन्दा अगावै हुन लागेको फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा सुनसरीका मतदाता र राजनीतिक दलका कार्यकर्ताहरू पुराना दलहरूप्रति वितृष्णा एवम् नयाँ भनिएका दलहरूप्रति विश्वस्त हुन नसकिरहेको देखिएको छ । निर्वाचनको निर्धारित समय आउन अब एक महिना मात्र बाँकी रहेको अवस्थामा निर्वाचनप्रति न मतदाता उत्साहित छन् न कार्यकर्ताहरूमा जोश । सुनसरीमा ४ वटा निर्वाचन क्षेत्र रहेका छन् । जसमा सुनसरीका दुई निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. २ र क्षेत्र नं. ३ नेपाली काँग्रेसको पोल्टामा जाने धरान साप्ताहिकको प्रारम्भिक सर्वेक्षणले देखाएको छ भने क्षेत्र नं. १ र क्षेत्र नं. ४ एमालेले बाजी मार्ने लगभग पक्का भएको छ । सुनसरी क्षेत्र नं. १ मा प्रतिनिधिसभाको निर्वाचनका लागि २६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सुनसरी क्षेत्र नं. १ मा कुल मतदाता १ लाख ५० हजार ३९३ जना रहेका छन् । निर्वाचन आयोग सुनसरीका अनुसार कुल मतदातामध्ये पुरुष मतदाताको संख्या ७२ हजार १८० र महिला मतदाताको संख्या ७८ हजार २१२ जना रहेको छ भने यौनिक तथा लैंगिक अल्पसंख्यकको संख्या १ रहेको छ । सुनसरी क्षेत्र नं. १ मा धरान उपमहानगरपालिकाका सबै २० वडा, बराहक्षेत्र नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ र रामधुनी नगरपालिकाको वडा नं. ६ र ७ समावेश रहेका छन् । मतदाता संख्याको आधारमा धरान उपमहानगरपालिकाभित्र मात्र १ लाख १० हजार ९३९ मतदाता रहेका छन् । धरानका मतदाताहरूले नै चुनावी नतिजा निर्णायक बनाउने प्रष्ट छ । धरान उपमहानगरपालिकाभित्रै पनि वडा नं. १५ मा मात्र १५ हजार ७०८ मतदाता छन् । यसर्थ धरान १५ धरानका अन्य वडाको तुलनामा सबैभन्दा बढी मतदाता रहेको वडा हो ।
सुनसरी क्षेत्र नं. १ मा २६ जना उम्मेदवारका प्रत्यासीमध्ये एमालेका टिकराम लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव श्रेष्ठ, श्रमसंस्कृति पार्टीका हर्कराज राई साम्पाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ (सरिन), नेपाली काँग्रेसका सुजेन्द्र तामाङ क्रमिक रूपमा पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा देखिएको मत सर्वेक्षणले देखाएको छ । धरानका एक स्वतन्त्र विश्लेषकका अनुसार सांगठनिक रूपमा एमाले सबैभन्दा बलियो रहेको र विगतमा हासिल गरेको मत मात्र सुरक्षित गर्न सकेको खण्डमा एमालेले जित हासिल गर्ने टिप्पणी गर्नुहुन्छ । यसैगरी सांगठनिक रूपमा कमजोर देखिए पनि स्पष्ट राजनीतिक एजेन्डा बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टीप्रति पछिल्लो समय मतदाताहरूको आकर्षण बढेको छ । जसले गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र एमालेबीच नै चुनावी प्रतिस्पर्धा हुन सक्ने उहाँको आँकलन छ । राजनीतिक विश्लेषक लक्ष्मण बस्नेतका अनुसार निर्वाचन नजिक आइसकेको छ । परम्परागत पुराना राजनीतिक दल नेपाली काँग्रेसमा हालसम्म कुनै उत्साह देखिएको छैन । न त कार्यकर्ता कार्यालयमा देखिन्छन् न निर्वाचनका लागि मतदाता परिचालनमा कोही खटिएका छन् । अर्का एक विश्लेषकका अनुसार विशेष महाधिवेशनको नाममा काँग्रेसभित्र जुन नेतृत्व हत्याउने खेल भयो त्यसले काँग्रेसमा विभाजन ल्याएको छ । विगतमा आफ्नै कार्यकर्ताले घात अन्तर्गत लुकीछिपी गरेका भए पनि यसपटक खुल्लमखुल्ला हुने देखिएको छ । यस्तो अवस्थामा काँग्रेसले विगतको मत समेत सुरक्षित गर्न सक्ने अवस्था छैन । उता धरान उपमहानगरपालिकाका निवर्तमान नगरप्रमुख बलियो आत्मबलका साथ निर्वाचनमा होमिएका छन् । विगतमा काँग्रेस–एमालेप्रति वितृष्णा जाहेर गरेका मतदाता र स्थानीय निर्वाचनमा नेपाली काँग्रेस र माओवादीबीच भएको चुनावी तालमेलमा माओवादीले काँग्रेसप्रति गरेको अन्तरघातबाट नगरपालिकाको निर्वाचनमा अत्यधिक मत ल्याएर जितेका थिए । हाल उनी सोही अनुरूपको चुनावी परिणाम आउनेमा ढुक्क छन् भने नयाँ भनेर एकाएक एजेन्डाविहीन ढंगले अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टी फेसबुक संगठनबाटै चुनाव जित्ने मनसायमा देखिन्छ । पछिल्लो समय रास्वपाको अवस्था खस्कँदै गएको मत सर्वेक्षणले देखाएको छ । उता सुनसरी क्षेत्र नं. २ मा नेपाली काँग्रेस हालसम्मको अवस्थामा सबैभन्दा बलियो देखिएको छ । सुनसरी क्षेत्र नं. २ मा १ लाख ५६ हजार ९९० मतदाता रहेका छन् । सुनसरी क्षेत्र नं. २ मा नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति एवम् प्रदेशसभा कोशीका नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइराला अन्य उम्मेदवारको तुलनामा बलियो प्रत्यासीका रूपमा देखिएका छन् । यतिबेला उनका साथ आम काँग्रेसका कार्यकर्ता आपसी तिक्तता बिर्सेर राजीव कोइराला जिताउ अभियानमा लागेका छन् । नेपाली काँग्रेसभित्र अनुभवी, इमानदार र शालीन व्यक्तिको छवि बनाएका कोइराला १० हजारभन्दा अधिक मतले विजयी हुने स्थानीय प्रभावशाली व्यक्ति गजेन्द्र ढकाल बताउनुहुन्छ । सुनसरी क्षेत्र नं. २ मा कोइरालाको प्रतिस्पर्धी नै छैनन् । दोस्रोमा रास्वपा नै हुने उहाँ बताउनुहुन्छ । एमालेबाट सुदन तामाङलाई प्रत्यासी बनाइएको छ तर उनी अत्यन्तै कमजोर उम्मेदवार हुन् । निजलाई राजनीतिक पृष्ठभूमि समेत थाहा छैन । यसपटक एमालेले क्षेत्र नं. २ मा उम्मेदवारै नपाएको ढकाल बताउनुहुन्छ । इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख एवम् प्रभावशाली व्यक्ति द्वारिका चौधरी थिए तर उनलाई कारबाही गरिएको थियो । तर यतिबेला एमालेले भोट मागिदिने मान्छे कोही नभएपछि द्वारिकाको कारबाही हाल फुकुवा गरेको छ । चुनावभरि चौधरीको कारबाही फुकुवा हुन्छ र चुनाव सकिएपछि फेरि चार वर्षको लागि पुनः कारबाही हुन्छ । ढकाल भन्नुहुन्छ, सुनसरी क्षेत्र नं. २ हालसम्म नेपाली काँग्रेसका लागि सुरक्षित रहेको छ ।


यसैगरी सुनसरी क्षेत्र नं. ३ मा नेपाली काँग्रेसले यसपटक बाजी मार्ने स्वयं मतदाताहरू बताउँछन् । सुनसरी क्षेत्र नं. ३ मा कुल मतदाता १ लाख ३४ हजार ३०२ जनामध्ये पुरुष मतदाताको संख्या ६९ हजार ०९२ र महिला मतदाताको संख्या ६५ हजार २१० रहेको छ । यतिबेला सुनसरी क्षेत्र नं. ३ जिल्लाको अन्य निर्वाचन क्षेत्रको तुलनामा चर्चाको केन्द्र रहेको छ । यो क्षेत्र चर्चामा हुनुको प्रमुख कारण नेपाली काँग्रेसका हेभिवेट अर्थात् पूर्वमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारको आठौँ पटकको उम्मेदवारी नै हो । गच्छदार प्रतिनिधिसभा र संविधानसभामा गरी हालसम्म ६ पटक विजयी भइसक्नु भएको छ । उहाँले २०२८, २०५१, २०५६, २०६४, २०७०, २०७४ सालमा निर्वाचन जित्नु भएको थियो । २०७९ सालको निर्वाचनमा गच्छदार आफ्नै पूर्व कार्यकर्ता अर्थात् एमालेबाट प्रत्यासी बनेकी भगवती चौधरीसँग पराजित हुनु भएको थियो । तर हाल परिस्थिति भिन्न छ दुहबीका स्थानीय अमरदीप साह भन्नुहुन्छ । विगतमा विजय गच्छदारले आफ्नो क्षेत्रमा जाति विकासका काम गर्नुभएको छ, सायद अरू कसैले गरेका होलान् । गाउँ–गाउँमा ढल, पुल, स्थानीयलाई रोजगारी, आफ्ना क्षेत्रका युवाहरूलाई प्रहरी, सशस्त्र प्रहरीमा नियुक्ति । यसभन्दा अगाडि उहाँलाई नियोजित ढंगले नै चुनाव हराइएको थियो । एमालेकी भगवती चौधरीले निर्वाचन जिते पनि आफ्नो क्षेत्रमा कुनै विकासको काम गर्नुभएन । नेतृत्वसँग डोमिनेट भएर बस्नेबाहेक अर्को काम गरेको थाहा भएन । पार्टीका नयाँ–पुराना सबै कार्यकर्ता एकजुट भएर विजय गच्छदार जिताउ अभियानमा लागेको समेत साहले बताउनुभयो । उहाँले भन्नुभयो ढल विस्तारका नाममा दुहबी बजारका घरहरू भत्काइँदा बजारका मतदाताहरू रुष्ट बनेका छन् । बजारको मत भनेको काँग्रेसको एकलौटी मत हो । अब उहाँले बजारबासी सामु आएर छलफल गर्नुपर्छ । उता सञ्चारकर्मी सचिन पोखरेल भन्नुहुन्छ यसपटक विजय गच्छदारको विकल्प देखिएको छैन । एमालेभित्रको ३ नं. क्षेत्रमा देखिएको चरम विवादले उनी कमजोर सावित भएका छन्, चौधरी समुदाय नै उनीप्रति असन्तुष्ट छन् । उता नयाँ भनेर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका पशुपति चौधरीलाई कसैले चिन्दैनन् । यसभन्दा अगाडि उक्त दलबाट समानुपातिक सांसद भएर पनि केही नगरेकोले स्थानीय भए पनि मतदाताले मन पराउँदैनन् । अन्तमा प्रतिस्पर्धा चाहिँ काँग्रेस–एमालेबीचमै हुन्छ उहाँले भन्नुभयो । रोचक कुरा त के छ भने सुनसरी क्षेत्र नं. ३ मा सबै दलका उम्मेदवार चौधरी नै हुन् । उता सुनसरी क्षेत्र नं. ४ मा कुल मतदाता संख्या १ लाख ३९ हजार ३३० जना रहेका छन् । यसमा पुरुष मतदाताको संख्या ७३ हजार ०२९ र महिला मतदाताको संख्या ६६ हजार ३०१ रहेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सुनसरी क्षेत्र नं. ४ मा एमाले र काँग्रेसबीच नै प्रतिस्पर्धा हुने देखिएको नेपाली काँग्रेसका कार्यकर्ता जीवन विष्टले जानकारी दिनुभयो । विगतको तुलनामा यसपटकको निर्वाचनमा रौनक नदेखिएको भन्दै विष्टले विस्तारै गति लिने अपेक्षा गर्नुभयो । प्रतिनिधिसभा निर्वाचन २०७९ मा उक्त क्षेत्रबाट नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले आफ्ना प्रतिद्वन्द्वी एमालेका जगदीश कुसियैतलाई झिनो १४२ मतले पराजित गरेका थिए । यसपटक काँग्रेसको संगठन छिन्नभिन्न भएको छ । निर्वाचनपछि यदाकदा मात्र झल्कने कार्कीलाई यसपटक चुनाव जित्नु फलामको च्युरा सावित हुने स्थानीयहरू बताउँछन् । एमालेको उक्त क्षेत्रमा संगठन मजबुत देखिएको र काँग्रेसमा आपसी घात–अन्तर्घातका श्रृंखला सुरु भइसकेकाले पनि ज्ञानेन्द्रबहादुर कार्की जगदीश कुसियैतको तुलनामा कमजोर देखिएका छन् । अन्य दलका उम्मेदवारहरू पनि चुनावी प्रतिस्पर्धामा छन् तर उनीहरूलाई मतदाताले पत्याएका छैनन् । नयाँ भनिएका दल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप कुमार साहलाई मतदाताले नै चिन्दैनन् । सामाजिक सञ्जालको हल्लाले केही मत ल्याउलान् तर उनी प्रतिस्पर्धी चाहिँ होइनन् स्थानीय विनोद यादवले भने ।

तपाईको प्रतिक्रिया