धरान । धरान उपमहानगरपालिकाका पूर्व मेयर स्व. तारा सुब्बाको नाममा स्थापना गरिएको तारा सुब्बा स्मृति पार्कमा दिनप्रतिदिन चहलपहल बढ्दै गएको छ । लोकतन्त्र स्थापनापश्चात धरानका पहिलो जननिर्वाचित मेयर स्व. तारा सुब्बाको स्वर्गारोहणपछि उहाँकै स्मृतिमा निर्माण गरिएको उक्त पार्क पूर्ण रूपमा सञ्चालनमा आएसँगै यहाँ वनभोज तथा विभिन्न कार्यक्रम गर्नेहरूको भीड लाग्न थालेको छ । केही समय अघिसम्म निर्माण अपूरो अवस्थामा रही पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको यो पार्क अहिले सञ्चालनमा आएपछि धरान मात्र नभई आसपासका क्षेत्रका सर्वसाधारणका लागि पनि लोकप्रिय वनभोजस्थल र बालबालिकाको मनोरञ्जन केन्द्र बनेको छ । हाल दैनिक ५ देखि १० समूह वनभोजका लागि पार्कमा आउने गरेका छन् । १ विगाहा १६ कट्ठा क्षेत्रफलमा निर्माण गरिएको यस पार्कमा स्व. तारा सुब्बाको शालिक स्थापना गरिएको छ भने वरिपरि वृक्षरोपण, बस्नका लागि चौतारी तथा बालबालिकाका लागि बाल उद्यान निर्माण गरिएको छ । जंगलको छेउमा अवस्थित भएकाले वातावरणीय हिसाबले पनि अत्यन्तै उपयुक्त रहेको यस पार्कमा वनभोजसँगै घुमफिरका लागि आउनेको संख्या बढ्दै गएको धरान उपमहानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कलाई अझ आकर्षक बनाउने धेरै काम बाँकी रहेकाले अब आउने स्थानीय सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने आवश्यकता छ ।

वडाध्यक्ष भट्टराईले धरान–१४ स्थित विजयपुर धार्मिक पर्यटन क्षेत्रका कारण धरानमा धेरै पर्यटक आउने गरेको उल्लेख गर्दै विजयपुरसँगै धरान तथा आसपासका अन्य पर्यटकीय क्षेत्रलाई समेटेर विकास गर्न सकिए धरानमा आन्तरिक तथा बाह्य पर्यटकको उल्लेख्य वृद्धि हुने बताउनुभयो । विगतमा राजनीतिक खिचातानीका कारण पार्क पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन भने निर्माण भएका भौतिक संरचनाहरू समेत संरक्षणको अभावमा लथालिङ्ग बन्दै गएका थिए । तर हाल सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको मन समेत यो पार्कले लोभ्याउन थालेको छ । बजार नजिकै रहेर पनि
वातावरणीय हिसाबले उपयुक्त भएकाले यो पार्क घुम्न आउनेहरूका लागि रमाइलो गन्तव्य बनेको इटहरीबाट वनभोजका लागि आउनुभएकी भूमिका कार्की बताउनुहुन्छ । बगरजस्तो स्थानलाई उपमहानगरपालिकाको पार्क बनाउने अवधारणाले यस क्षेत्रको सौन्दर्य बढाएको यहाँ आउनेहरूको भनाइ छ । बालबालिकालाई लक्षित गरी विभिन्न मनोरञ्जनात्मक संरचना समावेश गरिएकाले पार्क अझ रमणीय बनेको उनीहरू बताउँछन् । धरानमा रमणीय पार्कहरू धेरै रहे पनि तारा सुब्बा स्मृति पार्क सुन्दर र आकर्षक पार्कमध्ये एक भएकाले यसको सञ्चालन र संरक्षणलाई निरन्तरता दिने नीति बनाइएको पमहानगरपालिकाले जनाएको छ । वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन एमाले अध्यक्ष स्व. तारा सुब्बा धरानका नगर प्रमुखमा निर्वाचित हुनुभएको थियो । तेह्रथुम जिल्लाको खाम्लालुङमा वि.सं. २०२३ साल माघ १८ गते जन्मिनुभएका स्व. सुब्बा २०७४ सालको पहिलो स्थानीय निर्वाचनबाट एमालेका तर्फबाट मेयर पदमा निर्वाचित हुनुभएको थियो । कार्यकाल समाप्त हुनुअघि नै उहाँको २०७५ साउन १ गते निधन भएको थियो । उहाँकै नाममा निर्माण गरिएको यस पार्कमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन क्रमशः बढ्दै गएको छ ।
