श्रमबाटै धरान–१६ का स्थानीयकै पहलमा तारा पार्कसम्मको सडक निर्माण

धरान । पछिल्लो समय ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने सोच व्यवहारमै उतार्दै धरान–१६ का स्थानीयबासीहरू विकास निर्माणमा जुटेका छन् । सरकारी बजेटको प्रतीक्षा नगरी आफ्नै श्रम, स्रोत र सहयोगमा उनीहरूले तारा पार्कसम्म पुग्ने सडकको आरसिसी ढलान सुरु गरेका छन्, जसले सामुदायिक एकताको सशक्त उदाहरण प्रस्तुत गरेको छ । धरान–१६ अन्तर्गत नौलो बस्ती, तल्लो बस्ती र डाँडाका स्थानीयहरू निर्माण सामग्री जुटाउनेदेखि लिएर स्वयं श्रमदानसम्म सक्रिय रूपमा खटिएका छन् । स्थानीयहरूले आफूले सकेको सहयोग गर्दै सडक निर्माण थालेका हुन् । दैनिक सयौँ पर्यटक आउने तारा पार्क जाने सडक जीर्ण हुँदा दुर्घटनाको जोखिम बढ्दै गएपछि सबै मिलेर समाधान खोजिएको स्थानीयहरूको भनाइ छ । धरान उपमहानगरपालिका–१६ का वडाध्यक्ष मुरारीप्रसाद भट्टराईका अनुसार नगर र वडाबाट कुनै बजेट विनियोजन नभए पनि स्थानीयस्तरमै पहल गरेर सडक निर्माण सुरु गरिएको हो । उहाँका अनुसार वडाबाट गिट्टी र बालुवामात्र सहयोग गरिएको छ भने निर्माणमा प्रयोग हुने रड जनपथ जागरण समाजका युवाहरूको सहयोगमा जुटाइएको हो । ‘स्थानीयहरूको उत्साह र एकताले यो सम्भव भएको हो,’ उहाँले भन्नुभयो ।

सडक निर्माणमा स्थानीयबासी मात्र नभई बाहिरका सर्वसाधारणले समेत सहयोग गरेको वडाध्यक्ष भट्टराईको भनाइ छ । तारा पार्कमा पुग्ने सडक सुधार भएपछि पर्यटकहरूको आवागमन सुरक्षित हुने र क्षेत्रको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीयबासी भीम गिरीका अनुसार १६ नम्बर वडाका सबै टोलबासी मिलेर सडक ढलान गर्न लागिएको हो । उहाँले तारा पार्कसम्मको सडकसँगै अन्य भित्री सडकहरू पनि श्रमदानकै माध्यमबाट निर्माण गर्ने सोच बनाइएको बताउनुभयो । यस विषयमा वडालाई थप ध्यानाकर्षण गराउने तयारी समेत भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै स्थानीयबासी मेघबहादुर राईका अनुसार धरान उपमहानगरपालिकाबाट जिसिबी सहयोग प्राप्त भएको छ भने कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघा स्वयं सडकमा आएर श्रमदान गर्नुभएको थियो । पूर्व योजना नभए पनि सडकको अवस्था अत्यन्त जीर्ण भइसकेकाले जुनसुकै बेला दुर्घटना हुन सक्ने जोखिम देखिएपछि सबै गाउँले मिलेर निर्माण थालिएको उहाँले बताउनुभयो । सरकारकै मुख ताकेर मात्र विकास सम्भव हुन्छ भन्ने सोचलाई धरान–१६ का स्थानीयहरूले व्यवहारमै गलत सावित गरिदिएका छन् । एकजुट संकल्प, श्रम र सहकार्यले जुनसुकै विकास सम्भव हुन्छ भन्ने सन्देश दिँदै उनीहरूले समुदायस्तरबाटै विकासको नयाँ उदाहरण प्रस्तुत गरेका छन् ।

तपाईको प्रतिक्रिया