धरान । पूर्वी नेपालको प्रमुख सहर धरानमा फेरि खानेपानीको पुरानै समस्या दोहोरिन थालेको छ । सर्वसाधारणका धारामा दिन बिराएर मात्र पानी आउन थालेपछि नागरिकहरू चिन्तित बनेका छन् । विगतका वर्षहरूझैँ गम्भीर अभाव झेल्न नपरोस् भन्ने उद्देश्यले धराने नागरिकहरू खानेपानी समस्याप्रति समयमै आवाज उठाउन थालेका हुन् । धरानमा देखिँदै आएको खानेपानी संकटको समाधानको माग गर्दै सर्वसाधारण नागरिकहरू धरान खानेपानी बोर्डका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाको कार्यालयमै पुगेर ध्यानाकर्षण गराएका छन् । उनीहरूले प्रदेश सरकारको सहयोगमा खनिएको वेलबाट उत्पादन भएको पानी तत्काल वितरण गर्नुपर्ने मागसमेत अघि सारेका छन् । अभियन्ता महेश श्रेष्ठसहित धरानका नागरिक अगुवाहरूले कार्यवाहक नगर प्रमुख तथा खानेपानी बोर्डका अध्यक्ष बेघालाई भेटेर उक्त वेलबाट उत्पादन हुने पानी तत्काल उपभोक्तासम्म पु¥याउन आग्रह गरेका हुन् । श्रेष्ठका अनुसार प्रदेश सरकारको बजेटमा खनिएको सो वेलबाट करिब ५० लाख लिटर पानी उत्पादन गर्ने क्षमता रहेको छ ।

धरान उपमहानगरपालिकाका तत्कालीन मेयर हर्कराज राई खानेपानी बोर्डको अध्यक्ष रहँदा पनि उक्त पानी वितरण हुन नसकेको भन्दै अहिले कावा मेयर तथा बोर्ड अध्यक्षको जिम्मेवारी सम्हालिरहेका बेघालाई ध्यानाकर्षण गराइएको श्रेष्ठले बताउनुभयो । यससँगै नागरिकहरूले खानेपानी बोर्डको आय–व्यय विवरण पारदर्शी बनाउनुपर्ने माग पनि अघि सारेका छन् । सो अवसरमा कार्यवाहक मेयर तथा खानेपानी बोर्डका अध्यक्ष अइन्द्रविक्रम बेघाले खानेपानीमा
राजनीति हुन नहुने स्पष्ट पार्दै बोर्डका सम्पूर्ण गतिविधि पारदर्शी बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले धरानमा कुन–कुन स्रोतबाट कति पानी आपूर्ति भइरहेको छ भन्ने तथ्यांक सार्वजनिक गरिने, उपलब्ध पानीलाई व्यवस्थित रूपमा वितरण गरिने, अघिल्लो कार्यकालको हिसाब–किताबसमेत सार्वजनिक गरिने जानकारी दिनुभयो । साथै, आफ्नो कार्यकालमा प्रत्येक महिना बोर्डको आय–व्यय विवरण सार्वजनिक गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । धरानमा हरेक वर्ष माघदेखि वैशाखसम्म खानेपानी आपूर्ति न्यून हुँदै आएको छ । दैनिक लाखौँ लिटर पानी आपूर्ति हुँदै आएको यस सहरमा सुख्खा मौसममा आधामात्र पानी वितरण हुने गरेको तथ्यांक छ । खोलानाला, कोकाहा लगायत विभिन्न स्थानबाट पानीका स्रोत थपिएको दाबी भए पनि वर्षौँदेखि खानेपानी समस्या धराने जनताका लागि नियति जस्तै बनेको छ । खानेपानी एजेण्डा हरेक निर्वाचनमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूको प्राथमिकतामा पर्ने गरे पनि धरानवासीले स्थायी समाधान भने अझै पाउन सकेका छैनन् । यस पटक उठेको नागरिक दबाबले दीर्घकालीन समाधानको बाटो खोज्ला कि फेरि आश्वासनमै सीमित होला भन्ने प्रश्न धरानका नागरिकहरूको मनमा उब्जिएको छ ।
