चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबलको उपाधि धरान मेघालाई

धरान । उदयीमान बास्केटबल खेलाडी स्वर्गीय रेवाहाङ राईको स्मृतिमा विगत चार वर्षदेखि निरन्तर आयोजना हुँदै आएको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिताको उपाधि धरान मेघा हिमालयन कलेजले हात पारेको छ । आइतबार धरान मेघा हिमालयन कलेजको बास्केटबल कोर्टमा सम्पन्न फाइनल खेलमा धरान मेघाले हिमशिखर इङ्लिस बोर्डिङ स्कुललाई ८५–७५ अंकले पराजित गर्दै उपाधि जितेको हो । विजेता धरान मेघा हिमालयन कलेजले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता हिमशिखर इङ्लिस बोर्डिङ स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेयर धरान मेघा हिमालयन कलेजका निश्चल मगर घोषित भए। उनले नगद २ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, राइजिङ प्लेयर तर्फ लोटस इङ्लिस बोर्डिङ स्कुलका शुभम शाही चयन भए । उनले नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेता तथा उत्कृष्ट खेलाडीहरूलाई प्रतियोगिताका प्रमुख अतिथि कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेप, प्रदेशसभा सदस्य रमेश कुमार बस्नेत, धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्र विक्रम बेघा, धरान मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौडेल लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिङ्थेपले प्रदेश सरकारले खेलकुद विकासमा पर्याप्त सहयोग गर्न नसकेको स्वीकार गर्दै प्रदेश सरकार खेलकुद विकासप्रति संवेदनशील रहेको बताउनुभयो । धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर बेघाले प्रतियोगिताले विद्यार्थी तथा खेलाडीहरूलाई प्रेरणा दिएको बताउँदै स्थानीय सरकारको निरन्तर साथ रहने विश्वास दिलाउनुभयो । धरान–१८ निवासी रेवाहाङ राईको २०७७ साल माघ २० गते १६ वर्षको उमेरमा असामयिक निधन भएको थियो । प्रदेशस्तरीय बास्केटबलका प्रतिभाशाली खेलाडीसमेत रहेका रेवाहाङको स्मृतिमा उहाँका बुवा रेवतिरमण राई र आमा सुजता राईले २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी प्रतियोगितालाई निरन्तरता दिँदै आउनुभएको छ । छोरा गुमाएको पीडालाई साहसमा रूपान्तरण गर्दै नयाँ पुस्ताका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बुबा रेवतिरमण राईले बताउनुभयो ।

तपाईको प्रतिक्रिया