इनरुवा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयमुक्त, व्यवस्थित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने हेतुले जिल्ला प्रशासन कार्यालय सुनसरीले हातहतियार बुझाउने सम्बन्धी सूचना जारी गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा सोमबार जारी अत्यन्त जरुरी सूचनामा भनिएको छ फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त तवरबाट सम्पन्न गर्नका लागि सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी व्यक्तिगत रूपमा राखिएका विभिन्न किसिमका हातहतियार खरखजाना निर्वाचन कार्य सम्पन्न भएपश्चात फिर्ता हुने गरी माघ २१ गतेभित्र जिल्लाभित्रको नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाउन सबैमा सूचित गरिएको छ । जारी सूचनामा भनिएको छ, त्यस्ता हातहतियार खरखजाना तोकिएको समयसीमाभित्रनबुझाएमा नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही हुने समेत जानकारी गराइन्छ ।
