धरान । नेपाली काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा इतरको उच्च पदीय आकांक्षा अर्थात स्वार्थ समूहको कथित विशेष महाधिवेशनले यतिबेला मुलुकभरिका कार्यकर्ता विभाजित हुन पुगेका छन् । मुलुक आम निर्वाचनको संघारमा रहेको छ अर्थात आगामी फागुन २१ गते हुने निर्वाचनमा यतिबेलादेखि नै घात अन्तरघातका संकेतहरु देखा पर्न थालेका छन् । काँग्रेसको मूल नेतृत्वसँग यो वा त्यो बहानामा असन्तुष्ट रहेका, पार्टीको पदीय आडमा घरधन्दा चलाउँदै आएका, पुनः पार्टीको गाउँ, नगर, क्षेत्र, जिल्ला र प्रदेशको नेतृत्वमा आउने सम्भावना नभएका, पार्टीभित्रै आलोचित र बहिष्कृत भएका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, नगर, क्षेत्र र जिल्लाका केही नेतृत्वहरुमात्र विशेष महाधिवेशनमा सहभागी हुन पुगेका छन् । महाधिवेशन स्थल भृकुटी मण्डपमा रमिता हेर्न जाने, अन्य राजनीतिक दलका कार्यकर्ताहरुले महामन्त्रीद्वय शर्मा र थापाका पक्षमा हुटिङ गर्ने, त्यसैबाट हौसिएर मूलधारको नेतृत्वलाई गाली गर्ने जुन संस्कार विकासित भएको छ, त्यसले पार्टी हित गर्न सक्दैन, सुनसरीका एक महासमिति सदस्यले भने ।
नेतृत्वलाई खुइँल्याउनै केन्द्रित
नेपाली काँग्रेसको विधानले केन्द्रीय कार्यसमितिको निर्णयले पार्टी सभापतिले अधिवेशन आव्हान गर्ने अधिकार प्रत्यायोजन गरेको छ । यसभन्दा अगाडि काँग्रेस नेतृत्वले नियमित महाधिवेशनका लागि गाउँ, नगर, क्षेत्र, प्रदेश, जिल्ला निर्वाचन र केन्द्रीय महाधिवेशनको लागि कार्यतालिका सार्वजनिक गरेको थियो ।
तर मुलुकको जटिल राजनीतिक परिस्थिति, भाद्र २३ र २४ गते भएको जेन्जीको विद्रोहबाट सिर्जना भएको परिस्थिति आदिका कारण नियमित अधिवेशन पुनः आम निर्वाचन पश्चात आगामी वैसाखमा गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । तीन महिना पश्चात हुने काँग्रेस महाधिवेशन समेत पर्खन नसक्नु महामन्त्रीद्वय शर्मा र थापाको विशेष महाधिवेशन पद हत्याउन हतारो भएको स्पष्ट देख्न सकिन्छ । यतिमात्र नभएर विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वयले आफ्नै वर्तमान नेतृत्वलाई खुइँल्याउन तल्लो स्तरको हरकत गरेको समेत देखियो । महाधिवेशन स्थलमै नेतृत्वका विरुद्धमा नाराबाजी गर्ने, हुलहुज्जत गर्ने, केन्द्रीय कार्यालय सानेपामा पुगेर ताला लगाउने, पार्टीमा कहिल्यै नदेखिएका अनुहारबाट लोकप्रियता देखाउन घेरिएर स्तुतिगान गर्न लगाउने, हास्यास्पद ढंगले औकातै नभएका व्यक्तिलाई महाधिवेशनमा आमन्त्रणको पत्र पठाएर मानमर्दन गर्ने दुष्प्रयास समेत भएको देखियो ।
महाधिवेशन गर्ने स्रोत के हो ?


नेपाली काँग्रेसमा राहु र केतुका रुपमा परिभाषित हुन थालेका शर्मा र थापाकै कारण काँग्रेसका लागि संकटको घडी शुरु भएको छ । मुलुकमा जेन्जी आन्दोलनका समय भ्रष्टाचारीलाई कारबाही, सुशासनको प्रत्याभूति, दण्डहीनताको अन्त्य लगायत मुद्दा उठेपनि त्यसको कार्यान्वयन कहीँ कतै हुन सकेन । विशेष महाधिवेशनको आयोजना गर्न शर्मा र थापाले स्रोतको व्यवस्थापन कसरी गरे त्यो नै यतिबेला हरेक इमान्दार काँग्रेसका लागि चासोको विषय भएको छ । बिना खर्च भृकुटी मण्डपको सभास्थल समाज कल्याण परिषद्ले त्यसै उपलब्ध गराएको अवश्यै होइन । सहभागी हुन गएकाहरुलाई खानपानको व्यवस्था गर्ने खर्च, उनीहरुलाई बस्ने व्यवस्था कसले ग¥यो ? महाधिवेशन स्थलमा गरिएका तामझामको खर्च कहाँबाट आयो ? महामन्त्रीद्वयले यसको जवाफ दिनुपर्दैन ? पछिल्लो समय नेपालका मूलधारका राजनीतिक पार्टीहरुलाई कमजोर बनाउन, तहसनहस गर्न विभिन्न आइएनजिओ, एनजिओ, युरोपियन युनियनहरुले लगानी गरिरहेको अवस्थामा महामन्त्रीद्वयले गरेको विशेष महाधिवेशनको सुई त्यतैतिर घुमेको धेरैले आँकलन गरेका छन् ।
चौतर्फी दबाबपछि शर्मा र थापा वार्तामा
पार्टी विभाजनको मनसायले विशेष महाधिवेशन गरिएको भन्दै चौतर्फी तीव्र आलोचना भएपछि महामन्त्रीद्वय शर्मा र थापा मूल नेतृत्वसँग वार्तामा सहभागी भएका छन् । कथित विशेष महाधिवेशन पक्षधरको वार्ताका लागि प्रदीप पौडेलको नेतृत्वमा वार्ता समिति गठन गरेको छ । उनी हिजो मंगलबार बिहान ११ बजे नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा भएको हो । बैठकमा देउवातर्फबाट रमेश लेखक, बालकृष्ण खाँड सहभागी भएका थिए भने इतर समूहबाट प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे, मधु आचार्य र शेखर कोइराला समूहबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी भएका थिए । विशेष महाधिवेशन पक्षधरले तत्कालका लागि विशेष महाधिवेशनबाट पारित दस्तावेजहरु तत्काल कार्यान्वयन हुनुपर्ने, पूर्णबहादुर खड्कालाई पूर्ण कार्यवाहक सभापतिका रुपमा काम गर्न दिनुपर्ने, पार्टी सभापति देउवाले पार्टीका हरेक निर्णयमा हस्तक्षेप गर्न नपाउने, गोदावरीमा सम्पन्न महासमितिको बैठकका दस्तावेजहरु कार्यान्वयन हुनुपर्ने माग अघि सारेको स्रोतले जानकारी दिएको छ ।
चालीस प्रतिशत टिकट वितरण गर्न पाउनुपर्ने
महामन्त्रीद्वय शर्मा र थापाले नेपाली काँग्रेसको विधान विपरीत आव्हान गरेको विशेष महाधिवेशन अन्ततः नेतृत्वसँग बार्गेनिङमा टुंगिने भएको छ । लुकभरिका काँग्रेसका महाधिवेशन प्रतिनिधि र महासमितिका सदस्यहरुको पदावधि मंसिरमै सकिए पनि उनीहरुले तिनै एक्सपायर भएका प्रतिनिधि र महासमिति सदस्यहरुको हस्ताक्षर देखाएर मूल नेतृत्वलाई तर्साउने र लाभ लिने खेलमा चलखेल भएको छ । शर्मा र थापाले विशेष महाधिवेशनबाट नेतृत्व चयनसम्मको हौवा पिटाए पनि अन्ततः उनीहरुले आगामी आम निर्वाचनमा विशेष महाधिवेशन पक्षधरलाई ४० प्रतिशत टिकट दिन मूल नेतृत्वसँग माग गरेबाट उनीहरुको विशेष महाधिवेशनको नाटकको पर्दाफास भएको छ ।
