विदेशी दलालहरुबाट नेपाली काँग्रेस सिध्याउने अभियान

बुढी मरी भन्दा पनि काल पल्कने चिन्ता यतिबेला नेपाली काँग्रेसमा देखिएको छ । खास गरेर उच्च पदिय आकांक्षा भएका बाह्य शक्तिद्वारा परिचालित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा कथित विशेष महाधिवेशनको नाममा काँग्रेस सिध्याउने अभियान सुरु भएको छ । विशेष महाधिवेशनको औचित्य पुष्टि गर्न नसकी सभापति र आगामी प्रधानमन्त्रीको आकांक्षा बोकेका मुलुकभरिका एकथरि काँग्रेसहरुलाई दिग्भ्रमित बनाई विशेष महाधिवेशन गर्नुको औचित्य नै देखिँदैन । जेनजी आन्दोलन, मुलुकको तरल राजनीतिक अवस्था, बाह्य शक्तिहरुको डरलाग्दो चलखेल आदि इत्यादिका कारण मंसिरमा गर्ने भनिएको नियमित अधिवेशन काँग्रेसको मूल नेतृत्वले आगामी बैशाखमा गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा बाह्य शक्तिबाट लाभान्वित र परिचालित महामन्त्रीद्वयले विशेष महाधिवेशन गर्नु काँग्रेस सिध्याउने सुनियोजित षड्यन्त्र बाहेक अर्को हुनै सक्दैन । हो, मूल नेतृत्वका केही कमी कमजोरी होलान्, समयमै महाधिवेशन गर्ने परिस्थिति अनुकूल भएन होला तर मूल नेतृत्वलाई चुनौती दिएर यो हदसम्मको हर्कत गर्नुचाहिँ पार्टी हितका पक्षमा देखिँदैन । नियमित महाधिवेशनबाट पुनः आफू सभापतिमा उम्मेदवार नबन्ने उद्घोष गरिसकेका वर्तमान सभापतिलाई वाइपास गरेर विशेष महाधिवेशन गरिएपछि काँग्रेसभित्र राग विभाजन भएको सबैले महसुस गरेका छन् । थापा र शर्माको कथित अभियानले काँग्रेसलाई इतिहासमै कमजोर बनाएको छ । उनीहरुको यस अभियानले काँग्रेसका परम्परागत मतदातामा वितृष्णा जागेको छ, ग्रासरुटका कार्यकर्ताको पलायन सुरु भएको छ । काँग्रेस नछोडेकाहरु समेत कोही घण्टी काँग्रेस भएका छन्, कोही हलो काँग्रेस भएका छन्, कोही उज्यालो काँग्रेस भएका छन्, कोही के काँग्रेस त कोही के काँग्रेस भएका छन् । तीन महिनापश्चात् नियमित महाधिवेशन सहज नेतृत्व हस्तान्तरण हुने समय समेत कुर्न नसक्ने थापा र शर्मा वास्तवमै नेपाली काँग्रेसका लागि अभिशाप बनेका छन् । हल्ला गरेर, पैसाको प्रलोभन दिएर, धाकधम्की दिएर केही थान कार्यकर्ता भृकुटीमण्डपमा भेला गर्दैमा त्यसलाई विशेष महाधिवेशन मान्न सकिँदैन । विशेष महाधिवेशनको नाममा भाग लिन पुगेका महाधिवेशन प्रतिनिधि र महासमितिको पदावधि मंसिरमै समाप्त भइसकेको छ । मूल नेतृत्वले यसका लागि चुनावी तालिका समेत सार्वजनिक गरिसकेको छ । तर थापा र शर्माले पदावधि सकिएका तिनै प्रतिनिधिहरुलाई विशेष महाधिवेशनका प्रतिनिधिका रूपमा आमन्त्रण गरेर नाटकको मञ्चन गर्दैछन् । अर्कोतर्फ महाधिवेशनका लागि करोडौँ रुपैयाँ खर्च हुन्छ । उक्त खर्चको स्रोत निजहरुले कसरी जुटाए ? यसैमा शंका गर्न पर्याप्त ठाउँ छ । जो कोहीले पनि सहजै अनुमान गर्न सक्छन् उनीहरुले काँग्रेस विभाजनकै मनसाय लिएका छन् र त्यसको सम्पूर्ण चाँजोपाँजो विदेशी दलालहरुले गरेका छन् ।

तपाईको प्रतिक्रिया