हिजो देश नबनेकोमा चिन्ता थियो आज देशै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ– राजा ज्ञानेन्द्र शाह

धरान । राष्ट्रिय एकता दिवस, नेपाल एकीकरणका महानायक तथा ३०४ औँ पृथ्वी जयन्तीका अवसरमा राजा ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट पौष २६ गते अपरान्ह जारी गरिएको सन्देशले आम नेपालीहरूको मन–मस्तिष्कमा राष्ट्रप्रेम र राजसंस्थाप्रतिको अपरिहार्यतालाई घनीभूत बनाएको छ ।
जारी सन्देशमा भनिएको छ– ‘स्वदेश तथा विदेशमा रहे–बस्नु भएका प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, नेपाल राष्ट्रका निर्माता, नेपाली समाजका संयोजक एवं एकताका धरोहर श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाह आम नेपालीका निम्ति श्रद्धा र स्मृतिका व्यक्तित्व हुन् । मौसुफको ३०४ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा हामी उहाँलाई नमन गर्दै श्रद्धा सुमन अर्पण गर्दछौँ ।’
जस्तोसुकै शक्तिसँग पनि संघर्ष गरेर राष्ट्रिय एकीकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सक्रियतासहित सबल, सफल नेतृत्व गरेको शाहवंशीय राजसंस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ । नेपाली जनताको खुशी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ । बडामहाराजधिराजको मार्ग निर्देशनको परिधिमा रही हामीले नेपाली जनको एकता र वृद्धिमा जोड दिँदै आएका थियौँ र छौँ । तर कालान्तरमा कतैबाटै अवाञ्छित भ्रमको चपेटामा देश प¥यो । झण्डै दुई दशकपछि शान्ति ल्याउँछौँ र आर्थिक प्रगतितर्फ देशलाई लैजान्छौँ र स्थायित्व दिन्छौँ भनेर सत्तामा पुगेका दलहरूको चाहनाअनुसार हामीले श्रीपेच र राजदण्ड जनताको नासो जनताकै सुरक्षित संरक्षणमा बुझायौँ । सहयोगी नियतका साथ राजकाजबाट बाहिर रहेको सर्वविदितै छ । यो दायित्वबाट पलायन वा निषेधित राजनीतिका निम्ति कमजोरीको अनुमोदन थिएन । न त यो भावना आम जनतामा नै थियो । नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको पनि करिब दुई दशक बित्दा पनि देशले सामना गरिरहनु परेको संकटले हामीलाई चिन्तित तुल्याएको छ । हिजो देश नबनेकोमा चिन्ता थियो, आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ । बडामहाराजधिराजबाट २२ वर्षको युवा अवस्थामै सुरु गरी बक्सिएको सफलतापछि आधुनिक नेपाललाई चार वर्ण छत्तीस जातको साझा फूलबारीको रूपमा चित्रण गरिबक्सेको थियो । यो मुलुक राजाको मात्र होइन, जनता राजाको समान स्वामित्वको देश हो भन्ने सन्देश पनि दिइबक्सेको थियो । भाषण अनि जादु वा चमत्कारले यो देश बनेको होइन, बन्दैन पनि । सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा काम गरेको राजसंस्था जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरी पृथ्वीपथमा लाग्नुपर्दछ भन्ने हाम्रो धारणा र आह्वान पनि छ । नेपाली विश्वमा जहाँ रहे पनि नेपाली मूलको भन्ने नै हुन्छ । त्यसैले राष्ट्रको प्रतिष्ठा पनि सँगसँगै जोडिएको हुन्छ । मुलुक स्थायी वा अस्थायी रूपमा छोड्दैमा देशसँगको सम्बन्ध संकेत दिइरहेको हुन्छ । अब पूँजी र पूँजीपतिहरू र कर्मवीर उद्यमीहरूको समेत पलायन हुन थालेको छ । यो क्रमलाई तत्काल निरुत्साहित र नियन्त्रण गर्न सकिएन भने मुलुक असफलताको संघारमा पुग्न सक्ने सम्भावनालाई लिएर हामी आहत भएका छौँ ।

बडामहाराजधिराजबाट स्वदेशको पूँजी पलायनलाई रोक लगाउनुपर्ने पक्षमा महत्वका साथ जोड दिइबक्सेको, जनता सक्षम र बलिया भए मात्र देश बलियो हुन्छ भनी दिव्य उपदेशमा उल्लेख गरिबक्सेको छ । जब–जब युवा पुस्ताको भावना, चाहना र आवश्यकताको सम्बोधन गरिँदैन तब–तब असन्तोष पैदा हुन्छ, जसले विद्रोहको रूप पनि लिन सक्छ भन्ने सत्य नेतृत्वले हृदयंगम गर्नै पर्दछ । नेतृत्वले पटक–पटक युवाहरूलाई प्रयोग मात्र गर्ने तर उनीहरूको आवश्यकता बुझेर काम नगर्ने प्रवृत्तिले युवामा असन्तोष जन्मेमा देशमा जनधनको हानी भयो । जसरी भविष्यका कर्णधारहरूको ज्यान गयो त्यसले सबैलाई स्तब्ध बनाएको छ । युवाहरूमा भ्रष्टाचारप्रति असहिष्णुता र आईटी प्रतिस्पर्धामा जोश देखिनु उज्ज्वल भविष्यको संकेत हुन् । तर उन्नतिको गन्तव्यमा राजनीति चुक्यो भने अल्छीको सपनामात्र बन्न सक्छ । स्वचालित व्यक्तिले राष्ट्रको हित खोज्दै जान्छ र परिचालित व्यक्तिले अर्काको हित खोज्दै हिँड्छ । राष्ट्रिय सहमति बिना निकास खोज्नु समय खेर फाल्नु मात्र हो । समुन्नतिको यात्रामा सबै मिलेर अघि बढौँ । नेपालको संवेदनशील अवस्था र बदलिँदो भू–राजनीति परिस्थितिलाई बुझ्न नसक्दा हामी मित्र राष्ट्रहरूको विश्वास र भरोसा गुमाउने अवस्थामा पुगेका छौँ । असन्तुलित बन्दै गएको परराष्ट्र नीति र व्यवहारले राष्ट्रिय हितमा गम्भीर असर पु¥याइरहेको समयमा दिव्य उपदेश र बौद्धिक दृष्टिकोणहरूको महत्व अझ बढ्दै गएको छ । कतिपय देशले स्वार्थका लागि कुनै न कुनै सुरक्षा कवच खोज्दै छन् । हाम्रो देशको सही छवि शान्तिको मञ्च हुनै पर्दछ । नेपाल निर्माणमा मार्गदर्शक र सेनापति बडामहाराजधिराजको विरासत र वंशका प्रतिनिधिका रूपमा मेरो भूमिका स्पष्ट रहेको छ । पृथ्वीपथले वकालत गरेको राष्ट्रिय स्वतन्त्रता, सबै तहका भ्रष्टाचारलाई दण्डनीय अपराध मान्ने र कसैप्रति भेद नराख्ने शान्ति क्षेत्र नेपाल नै हाम्रा अभिष्ट मार्गचित्र हुन् । जनताको चाहनाबाट अझै निर्धारित हुनुपर्ने परिकल्पना पृथ्वीपथका मौलिक आकांक्षा हुन् । अन्त्यमा जनता र राजाले एकीकरण गरेर निर्माण गरेको नेपाल राष्ट्रको समग्र हितलाई आत्मसात गर्दै सबल राष्ट्र बनाउने महान् कार्यमा सबैलाई जुटाऔँ र नेपाललाई फेरि उठाऔँ । श्री गोरखनाथले हामी सबैलाई सद्बुद्धि दिऊन् ।

तपाईको प्रतिक्रिया