घण्टाघरबाट हेर्दा

गुप्ताको कमाउधन्दामा अंकुश
लुसिफरको सिफारिसमा दुलाबाट फुत्त निस्किएर मन्तरी भा’का आर्यघाटको जल्दै गरेको शवको झै अनुहार भा’का खेलकुदमन्त्री बब्लु गुप्ताको कमाउधन्दामा नमिठो ब्रेक लाग्या छ । पछि के हो के हो मौका पाउँदा लुँड्याइहालौ भनेर विचराले न्वारानदेखिको बल लगाएका थिए । तर केहीगरी चलेन । अब हेरम न देउती कट लागेर मन्तरी भा’का बब्लुले अमेरिकमा मानव तस्करी गर्ने डरलाग्दो योजना बनाका रै’छन् । यसका लागि उनले अमेरिका युथ सोसाइटीको सम्मेलन भनेर आमन्त्रणको नक्कलीपत्र बनाई हालेछन् । यसैका आधारमा आफूसँग दलबलसहित लिएर जाने तयारी पूरा गरेका थिए । उता अमेरिकाको एनआरएनले अमेरिकामा त्यस्तो कुनै कार्यक्रम नरहेको र गुप्तालाई निमन्त्रणा समेत नगरेको जानकारी सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिदियो । त्यसपछि त गुप्ता हिस्स बूढी हरियाँ दाँत लिएर डल्लो परेका छन् ।
हरिलठ्ठकलाई नेता मान्नेको लाइन
हाम्रा बाबु बाजेले भन्या ठीकै

रै’छ । नेपालीको बुद्धि पिँधमा हुन्छ भन्थे हो रैछ । अमेरिकामा समेत ठगेर भागेको हरिलठ्ठक घण्टे ठगलाई तँछाड मछाड गरेर नेता मान्ने स्वाँठहरु देख्दा हिजो आज घण्टाघरलाई औधी दया लागेर आएको छ । नेपालमा आएर पनि सहकारी ठगको किर्तिमान खडा गरेको देख्दादेख्दै त्यसैको पछि लागेपछि घण्टाघरलाई दया नलाग्ने कुरै भएन । हरिलठ्ठकहरुले लाइन लागेर नेता किन मानेका रे भन्दा तिनले धेरै ठूलो त्याग गरेका छन् रे । त्याग पनि लत्तरो खालको हो र ? तीन तीनवटी स्वास्नीलाई त्याग गरे, तीनबाट जन्मेका छाउरा छाउरीलाई त्याग गरे, नेपाली नागरिकता त्याग गरे, दोहोरो पासपोर्ट त्याग गरे, अरु के के हो के के त्याग गरे रे । ठीकै हो यस्तो त्याग गर्नेलाई नेता त मान्नै पर्छ ।
नेपाल कम्युनिस्ट पार्टी काँग्रेस

नेपालमा फेरि एउटा नयाँ पार्टी जन्मने भएछ । कसैले कल्पना नै नगरेको नेपाल कम्युनिस्ट पार्टी काँग्रेस । बाल्वाटारबाट नडराईकन हेलिकोप्टर चढेर भागेका गुण्डुमा आश्रय लिएर बसेका खप्रओ र जेनजी आन्दोनमा राम्रैसँग शारीरिक मालिस पाएका लखरे काजीको संयुक्त सहबासबाट नेकपा काँग्रेस जन्मने भएछ । यसका लागि उनीहरुले सम्पूर्ण तयारी समेत गरिसकेछन् । राष्ट्रियसभामा भागबण्डा मिलाएछन्, आगामी निर्वाचनमा उमेद्वारी सिटमा पनि भागबण्डा गरी सकेछन् । मिलाई मिलाई खान त यिनबाट अरुले सिक्नैपर्छ । राजनीति भन्या नै मिलाएर बजाउने धन्दा त हो । कि कसो हौ ?
चाटुकारको गजब चाकडी
सुमेरु पवर्त घुम्नु भन्दा मालिकको परिक्रमा गर्दा मान, प्रतिष्ठान र आर्जन गर्न सकिन्छ भन्ने कुरा राम्रोसँग बुझेका लाउरेसका प्रचार विभाग प्रमुख मिन विकेले अस्तिका दिन कठिन अवस्थाबाट काँग्रेसलाई जोगाउनुपर्छ भनेछन् । निर्वाचनमा जित्ने ल्याकत नभएका, दाजु भाउजुको चाकडी गरेकै भरमा दुई दुई पटक तनुवा सांसद पडएका, गतिलै आर्थिक उपार्जन गरेका विकले काँग्रेसबाट लिने भन्दा अर्को केचाहिँ काम गरेका छन् कुन्नि । अझ यिन्ले काँग्रेसलाई यो कठिन अवस्थाबाट बाहिर निकाल्नुपर्छ भनेर बोलेको देख्दा घण्टाघरलाई समेत कुरी कुरी लागेर आयो ।
कुलमान र रास्वपाबीच ब्रेक
उज्यालो पार्टीका मुखिया कुलमान र सहकारी ठगेर घण्टी बजाउँदै हिडेको नटवरलाल बीचमा अस्तिका दिन देखि पारपाचुके भएछ । ठग र उज्यालो बीचमा एकता हुने कुरा पनि भएन । ठगलाई अँध्यारै मनपर्छ । पारापाचुके हुनु थियो भएछ । नौलो कुरै होइन । न घण्टे पार्टीको आदर्श छ, न विचार छ, न यो मुलुकालागि कुनै सत्कर्म ग¥या छ, न योजना छ । यस्तोमा उज्यालोका मुखिया के हेरेर टासिन्थे । पारपाचुके भयो बातै खँलास । घण्टेको आदर्श भन्या ठग्नु
हो, विचार भन्या अरुलाई उछित्तो काढ्न गरी गाली गर्नु हो । योगदान भन्या स्वास्नी बटुल्दै छोड्दै गर्नु हो, सत्कर्म भन्या झुठो बोल्नु हो । धन्न उज्यालोका मुखियाले बेलैमा कुरो बुझेछन् । नत्र तिनको पनि धोती न टोपी हुने थियो ।
हो कि क्या हो ?
राजनैतिक विश्लेषक सरेन्द्र कसीले अस्किा दिन बडो अचम्म लाग्दो कुरा गरे । पद भनेपछि बाह्र हात परबाट र्याल चुहाउँदै आउने लाउरेसका सचिवद्वय विश्वप्रकाश शर्मा र बाख्रे साहेव रास्वपमा प्रवेश गर्छन भनेर ठोकुवै गरे त गाँठ । हुन त बाख्रे साहवेको बोली केही दिन यता बदलिएको छ । पहिला घण्टेका अध्यक्ष ठग हुन् भनेर संसदमा उफ्री उफ्री मसँग प्रमाण छ भनेर कुर्लन्थे । अहिले तिनले ठगेको प्रमाण छैन भनेर सफाइ दिन थाल्या छन् । अर्का विश्वप्रकाश शर्मा आच्या मरिचे बाजे बाख्रे साहेबको बोलीमा साथ समर्थन जनाउँदै हिँड्न थाल्या छन् । मरिचे, घण्टे, बाख्रे साहेवका बीचमा अदृश्य गठबन्धन छ कि क्या हो ? विशेष महाधिवेशनबाट पार्टी फुटाएर दलबल सहित घण्टीमा जान्छन् कि क्या हो ? सुरेन्द्र केसीले छनक नपाईकन पक्कै पनि त्यसो भन्या होइनन् होला ।
कहिले कता कहिले कता
जेनजी आन्दोलनपछि न्वारान गरिएको हर्क साँम्पाङ्गले निर्वाचन क्षेत्र अदलबदल गर्ने संकेत देखाएका छन् । पहिला सुनसरी क्षेत्र नं. १ बाट उठ्छु भन्दै आएका तिनले फेरि २ किन रोजे होलान् ? अरुलाई जहाँबाट उठे पनि हराएरै छोड्ने धमास दिँदै आएका साम्पाङ्ग धरानबाट चुनाव जित्न नसक्ने निष्कर्षमा पुगे जस्तो छ । धरानबाटै पूर्व मन्त्री सुदन किराँतीले निर्वाचन लड्ने घोषणा गरेपछि तिनको सातो गएछ कि क्या हो ? राईले राईको भोट काट्न उठ्यो भनेर सामाजिक सञ्जालमा गनगन त गर्दै थिए । सुदनकै उमेद्वारी घोषणाले हर्क अर्को क्षेत्रतिर पलायनचाहिँ नहुनुपर्ने हो । त्यत्रो श्रम संस्कृति पार्टीका अध्यक्ष पो हुन त गाँठे । घण्टाघरलाईचाहिँ शंका छ कतै ती दुई बीचमा साँठगाँठ त छैन ?
अन्त्येमा
निर्वाचन आउन अब धेरै दिन छैन । नयाँ दलहरु चम्केका छन् अनि पुराना दलहरु इज्जतै जाला कि भन्ने चिन्तामा परेका छन् । पुराना दलहरुले उमे्वारको नाम सिफारिस गरे पनि उमेद्वार बन्नेहरु मरेको विरालो बोकेर ओरालो लागेझै अनुहार लिएर हिड्न थाल्या छ्न् । झालेमालेबाट उमेद्वार सिफारिस गरिएका नन्दकिशोर बस्नेत यतिबेला घण्टा हल्लाउदै हिडेपछि खप्रओलाई ठूलो चिन्ता लाग्या छ । उमेद्वारी नोमिनेशन गर्ने समय सम्ममा अरु कतिले कुन कुन दलका चुनाव चिन्ह हल्लाउने हुन् टुंगै पो नहुने भयो त । फागुन २१ पछि बुढौली पार्टीहरुले विश्राम लिन्छन् कि क्या हो ? बेलैमा शतर्क भएस् है बुढौली दलहरु । पहिला पैसा लिएर टिकट बाँड्थे अब पैसा थुम्थुम्याउनु पर्ला जस्तो छ ।

तपाईको प्रतिक्रिया