काठमाण्डौ । विगतका वर्षहरूमा झैँ यस वर्ष पनि नेपालस्थित भारतीय राजदूतावास काठमाण्डौले विश्व हिन्दी दिवस विशेष कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ । समारोहमा नेपालस्थित रहेका विभिन्न हिन्दी भाषा सम्बन्धी संघ–संस्था, हिन्दी भाषा प्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । काठमाण्डौमा सम्पन्न उक्त कार्यक्रममा काठमाण्डौका विभिन्न विद्यालयहरूका छात्र–छात्राहरूले सहभागिता जनाउनुका साथै हिन्दी भाषामा श्लोक वाचन, कविता र नृत्य प्रस्तुत गरेका थिए । यसैगरी दूतावासस्थित रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र (ICCR IN NEPAL) का शिक्षक एवं विद्यार्थीहरूले हिन्दी भजन र नृत्य प्रस्तुत गरेर सहभागीहरूलाई मन्त्रमुग्ध बनाएका थिए । सो अवसरमा कार्यक्रमका सिडिएद्वारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिन्दी दिवसमा दिनुभएको सन्देश पढेर सुनाइएको थियो । शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले विश्व हिन्दी दिवसको अवसरमा विदेश मन्त्रालय एवं विदेशस्थित भारतीय मिशन र केन्द्रद्वारा गरिएका विविध कार्यक्रमका बारेमा जानेर खुशी लागेको उल्लेख गर्नुभएको छ । यस्ता आयोजनासँग संलग्न सबै आयोजक, सहभागी र हिन्दीप्रेमीहरूलाई शुभकामना व्यक्त गर्नुभएको छ ।


सन्देशमा भनिएको छ, भारतको भाषिक समृद्धिमा हरेक भारतीयलाई गर्व छ । आफ्ना प्रवासी भारतीय साथीहरूलाई म राजदूतको रूपमा देख्दछु र जहाँ–जहाँ भारतीय नागरिक छन् त्यहाँ हिन्दी भारतको आत्माको स्वरको रूपमा संवाद, जोडाव र सांस्कृतिक आत्मियताको माध्यम बन्ने गर्छ । हिन्दी केवल एक भाषा मात्र होइन, यो भारतको संवेदना, संस्कार र चिन्तन विश्वमाझ पु¥याउने सशक्त कडी हो । भारतको निरन्तर प्रगति र बढ्दो वैश्विक प्रभावका कारण हाम्रो भाषा, परम्परा र जीवन दर्शनप्रति दुनियाँको रुचि निरन्तर बढिरहेको छ । हामीलाई खुशी लाग्छ विदेशमा हिन्दी सिकाउने, पढाउने र शोध गर्नेहरूको संख्या लगातार बढिरहेको छ, जसले हिन्दीले वैश्विक सम्पदाको भाषाको रूपमा आफ्नो सशक्त उपस्थिति बनाइरहेको छ । आफ्नो सरलता, सहजता र विपुल साहित्यिक विरासतका साथ हिन्दी आज सूचना प्रविधि, डिजिटल माध्यम र आधुनिक प्रयोगको भाषाको रूपमा निरन्तर सशक्त भइरहेको छ । युवा पुस्ताद्वारा हिन्दीलाई नवाचार, रचनात्मक अभिव्यक्ति र आधुनिक संवादको माध्यमको रूपमा अपनाउनु नै यो भाषाको उज्ज्वल संकेत हो । सन्देशको अन्त्यमा भनिएको छ, मलाई विश्वास छ विश्व हिन्दी दिवसमा आयोजित विभिन्न कार्यक्रमहरूले सम्पूर्ण भारतवंशी, खासगरी युवाहरूको हिन्दी भाषाप्रतिको गहिरो मोह बढाउने, यसलाई अपनाउने कार्य र जीवनमा प्रयोग गर्ने तथा वैश्विक मञ्चमा यसको गरिमा बढाउन प्रेरित गर्नेछ । हिन्दीलाई समृद्ध र सशक्त बनाउन निरन्तर योगदान दिइरहनु भएका सम्पूर्ण व्यक्ति एवं संस्था, विशेष गरेर विदेश मन्त्रालय, भारतीय मिशन र केन्द्रका सबै सहयोगीप्रति म हृदयदेखि नै अभिनन्दन गर्दछु ।







