अन्तर–प्रदेश पर्यटन सहकार्यका लागि कोशी प्रदेश सक्रिय, गण्डकीसँग विशेष सम्झौताको तयारी

धरान । कोशी प्रदेश पर्यटन वर्ष समितिले अन्तर–प्रदेश पर्यटन सहकार्यलाई मजबुत बनाउने उद्देश्यले गण्डकी प्रदेश, मधेस प्रदेश र चितवनमा विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसैक्रममा कोशी प्रदेश र गण्डकी प्रदेशबीच सहकार्य तथा समझदारीपत्र (एमओयू) गर्ने पहल सुरु भएको छ ।
आइतबार कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री भीम पराजुली नेतृत्वको टोली गण्डकी प्रदेशको पोखरा पुगेको छ । टोलीको आगमनसँगै गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका प्रतिनिधि तथा गण्डकीका निजी क्षेत्रका पर्यटन व्यवसायीहरूसँग सहकार्य र दुई पक्षीय सम्झौताबारे अनौपचारिक छलफल गरिएको धरानका पर्यटन व्यवसायी बासुदेव बरालले जानकारी दिनुभयो ।

छलफलमा कोशी प्रदेशका मन्त्री पराजुलीसहित सचिव इन्द्र सापकोटा, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार मोहन सुवेदी, नेपाल पर्यटन बोर्डकी निर्देशक रोहिणी खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी तथा पर्यटन वर्षका दुई सह–संयोजक सहभागी थिए । गण्डकी प्रदेशका पर्यटन व्यवसायीहरूको पनि उल्लेख्य उपस्थिति रहेको थियो । छलफलमा कोशी र गण्डकी प्रदेशबीच हवाई कनेक्टिभिटी, यातायात सञ्जाल विस्तार तथा पर्यटकीय क्षेत्रहरूको संयुक्त प्रवद्र्धन गर्ने विषयमा सम्झौता गर्ने प्रारम्भिक तयारी भएको बरालले जानकारी दिनुभयो । प्रस्तावित सम्झौतामा दुई प्रदेशका धार्मिक गन्तव्य, पदमार्ग (ट्रेकिङ रुट), साहसिक पर्यटन गतिविधि तथा होमस्टे पर्यटनको विकासमा व्यावसायिक साझेदारी, अनुभव आदान–प्रदान र एकीकृत प्रवद्र्धनका विषय समेटिने जनाइएको छ । कोशी प्रदेश पर्यटन वर्ष समितिले अन्तर–प्रदेश सहकार्यलाई संस्थागत गर्दै साझा गन्तव्यको अवधारणामार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य लिएको छ । गण्डकीसँग सुरु भएको यो पहलले अन्य प्रदेशसँग पनि यस्तै सहकार्य विस्तार हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया