कामधेनु दुग्ध विकास सहकारी संस्थासँग दुग्ध किसानहरूले कारोबार गर्न छाडे : संस्थाको अध्यक्ष यादप ढकालको मनोमालिन्यः सरकारी निकायलाई समेत ठगेको पुष्टि

तरहरा (इटहरी) । इटहरी उपमहानगरपालिका वडा नं. १ स्थित कामधेनु दुग्ध विकास सहकारी संस्थासँग पछिल्लो केही समय यता दुग्ध किसानहरूले कारोबार गर्न छाडेका छन् । पूर्वाञ्चलमै ख्याति आर्जन गरेको संस्थाको सञ्चालक समितिको अध्यक्षमा यादप ढकालको आगमन भएपछि संस्थाको दुरावस्था मात्र शुरु भएको होइन, आफ्नो मेहनत समेत डुब्ने भयले दुग्ध किसानहरूले कारोबार गर्न छाडेका हुन् । अध्यक्ष ढकालको मनोमालिन्य कार्यशैलीप्रति विमति राख्ने शेयर सदस्य, कर्मचारीहरूलाई निष्कासन गर्ने, धम्क्याउने, यातना दिएर आत्महत्या दुरुत्साहनका लागि बाध्य बनाउने, संस्थाको सम्पत्तिको चरम दुरुपयोग गर्ने कार्य ढकालले गर्दै आएको संस्थाका एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा बताए ।
सरकारी निकायलाई समेत ठगेको पुष्टि


कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादप ढकालले सरकारी निकायलाई समेत ठगेको पुष्टि भएको छ । मोरङको बनिगामा सहकारी संस्थामा सम्पत्ति अपचलन र ठगी भएको चर्चा विगतमा सञ्चारमाध्यमहरूमा आएका थिए । यस सम्बन्धमा धरान साप्ताहिकले थप प्रमाणहरू प्राप्त गरेको छ ।
२०७९ जेठ ३१ गते कुपण्डोल ललितपुरस्थित रहेको नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष र बनिगामा सहकारी संस्थाबीच अध्यक्ष यादप ढकालले सहुलियत दरमा ५.५ प्रतिशत ब्याज हुने गरी एक करोड रुपैयाँको सम्झौता गरेका थिए । उक्त सम्झौता अध्यक्ष यादप ढकाल र संस्थाका व्यवस्थापक निज ढकालकै श्रीमती यशोदा ढकालले गरेका थिए । बनिगामा सहकारी संस्थाले सम्झौता गरी लिने भनिएको रु. १ करोड ऋणमध्ये ५० लाखको पहिलो किस्ता प्राप्त ग¥यो । तर निजहरूले दोस्रो किस्ता लिएनन् । उनले दोस्रो किस्ता नलिएको मात्र होइनन्, पहिलो किस्ताको शर्त बमोजिम तीन–तीन महिनामा तिर्नुपर्ने किस्ता, ब्याज समेत बुझाएनन् । निजले तीन वर्षको अवधिमा हालसम्म एक किस्ता समेत बुझाएका छैनन् । पहिलो किस्ता वापत लिएको ५० लाख रुपैयाँ नतिर्ने नियतले उनले दोस्रो किस्ता नलिएको युवा तथा साना व्यवसायी स्वरोजगार कोषले जनाएको छ । हाल कोषले निजले लिएको रकम असुल उपरका लागि कानुनी प्रक्रिया अगाडि बढाएको छ । निज अध्यक्ष ढकालले युवा स्वरोजगार कोषबाट लिएको ५० लाख रुपैयाँ संस्थामा लगानी नगरी हिनामिना गरेको बनिगामा सहकारी संस्थाका कर्मचारीहरूले जानकारी दिएका छन् । नक्कली ऋणी खडा गरेर सो रकम खाइ मास्ने काम भएको उक्त संस्थाका एक शेयर सदस्यले जानकारी दिए । त्यसबेला अध्यक्ष यादप ढकालको नाममा १७ लाख रुपैयाँ आज पनि खराब कर्जा रहेको भए पनि ढकालले आजसम्म सोको सावाँ ब्याज बुझाएका छैनन् । अर्कोतर्फ नेपाल सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लिएको ५० लाख रुपैयाँ खाइ मासेका कारण हालसम्म संस्थाको बैंक खाता रोक्का रहेको, ऋण लिएर दुरुपयोग गर्ने त्यसबेलाका अध्यक्ष ढकाल र व्यवस्थापक उनकी पत्नी यशोदा ढकालको समेत बैंक खाता रोक्का रहेको अर्थात कालोसूचीमा राखिएको छ । यादव ढकाल दम्पत्तिले ठगी गरेका कारण यतिबेला बनिगामा सहकारी संस्था तथा परेको छ । सञ्चालक र लेखा समिति संयोजक लगायत संस्थाका सदस्यहरूले शास्ती व्यहोर्नु परेको छ । सदस्यहरूको शेयर लगानी डुबेको छ । तर यादप ढकाल भने अर्को व्यक्तिलाई संस्था जिम्मा लगाएर अत्यधिक मुनाफामा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाको अध्यक्ष बन्न पुगेका छन् । त्यति मात्र नभएर आर्थिक हिनामिना गरेर डुबाएको बनिगामा सहकारी संस्थाको कर्मचारीको नाममा कामधेनुबाट तलब निकासा गरेर आर्थिक हिनामिना समेत गरिरहेका छन् । बनिगामा सहकारी संस्थाको अध्यक्ष हुँदाहुँदै निज ढकालले झुटा प्रमाण देखाएर गैरकानुनी तरिकाबाट कामधेनुको अध्यक्ष भएका यादव गैरकानुनी काम गरेर सहकारी शेयर सदस्यहरूको शोषण गर्नमै लिप्त देखिएको अर्का कर्मचारीले बताए ।
कर्मचारीको आत्महत्यामा प्रहरीको अनुसन्धान
आफ्ना अनियमितता ढाकछोप र पूर्व अध्यक्ष समेत रहिसक्नु भएका शेयर सदस्य कृष्णप्रसाद अधिकारी, मनोज दाहाल र कर्मचारी तेजप्रसाद सुवेदीलाई अध्यक्ष ढकालले निष्कासन मात्र गरेका छैनन्, कर्मचारी प्रेम मिश्रलाई आत्महत्या गर्न बाध्य बनाइएको घटनालाई प्रहरीले यतिबेला सूक्ष्म ढंगले अनुसन्धान अगाडि बढाएको छ । अध्यक्ष ढकालले मनोमानी ढंगले संस्थाको विधान विपरीत दुई जना शेयर सदस्य र एक जना कर्मचारीमाथि कारबाही गरिएपछि अध्यक्षका संस्थाप्रतिको दुराग्रह बाहिरिएको छ । उनले संस्थाबाट नियमित किसानहरूबाट खरिद गर्ने दूध, दाना र अन्य खरिद सामानमा आर्थिक अनियमितता गर्ने गरेको, मासिक रूपमा ४० हजार भत्ता लिने गरेको, सहकारी विभागबाट आएको अनुदानको दुरुपयोग गर्ने गरेको कर्मचारीहरू बताउँछन् । यति मात्र नभएर कार्तिक १७ गते झापाको कमल गाउँपालिकाका कर्मचारी प्रेम मिश्रको आत्महत्या प्रकरणमा पाइएको सुसाइड नोटमा अध्यक्ष ढकाल, बजार व्यवस्थापक रञ्जित झा र अर्का एक कर्मचारीको नाम उल्लेख भएबाट निज ढकाल आफ्नो स्वार्थका लागि कुन हदसम्म जान सक्छन् भन्ने कुरा पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया