धरान । बालिका बलात्कारको आरोपमा मोरङको एक स्थानीय निकायका वडा सचिवलाई आइतबार जेल चलान गरिएको छ । मोरङको सुनबर्सी नगरपालिका वडा नं. २ का वडा सचिव ईश्वर राज रेग्मीलाई बालिका बलात्कारको आरोपमा जिल्ला अदालत मोरङको आदेशमा जेल चलान गरिएको हो । अदालतले निज रेग्मीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएपछि उनलाई जेल चलान गरिएको हो । खोटाङ जिल्लाको ऐसेलुखर्क गाउँपालिका वडा नं. ७ स्थायी घर भएका रेग्मी विगत केही वर्षदेखि सुनबर्सी नगरपालिका वडा नं. २ मा वडा सचिवको रुपमा कार्यरत थिए । ३१ वर्षीय रेग्मीलाई जिल्ला अदालत मोरङले तत्काल प्राप्त प्रमाणको आधारमा पछि ठहरे बमोजिम हुने

गरी थुनामा राख्न आदेश दिएको थियो । रेग्मी कक्षा १० मा अध्ययनरत सोही वडाकी १७ वर्षीय युवतीलाई जबरजस्ती बलात्कार गरेको पीडितको उजुरीका आधारमा प्रहरीले मंसिर १४ गते पक्राउ गरेको थियो ।
