मौरी पालनमा कृषकहरु आकर्षित : तालिममा उत्साहपूर्ण सहभागिता

धरान । नेपालमा मौरीपालन व्यवसाय सम्भावनायुक्त बन्दै गएको छ । निर्वाहमुखी खेतीबाट व्यावसायिकतर्फ उन्मुख हुँदै किसानले मौरीपालनबाट राम्रो आम्दानी गर्न थालेका छन् । तर विषादी प्रयोग र नीतिगत कमजोरीका कारण जोखिम पनि उत्तिकै रहेको विज्ञहरूको चेतावनी छ । नेपालमा अहिले करिब १० लाख आधुनिक घरमा मौरीपालन भइरहेको तथ्यांक छ । मौरीका लागि छुट्टै वैकल्पिक आहारको आवश्यकता नरहने, जंगली बोटविरुवा तथा बाली नै मौरीको मुख्य आधार भएकाले मौरीपालन नेपालका लागि अत्यन्त उपयुक्त व्यवसाय भएको विज्ञहरू बताउँछन् । तर, मौरीपालनको इतिहास सहज भने छैन । वि.सं. २०३९ सालमा मौरी सुकेर मर्ने रोग फैलिएपछि नेपालका झण्डै ९० प्रतिशत मौरी नष्ट भएका थिए, जसले सरकार तहसम्म हलचल मच्चाएको थियो । त्यसयता बाँकी १० प्रतिशत मौरीबाटै अहिले नेपालमा मौरीपालन पुनः स्थापित भएको छ । हाल नेपालमा दुई जातका मौरी मेलिफेरा र सेराना पालिन्छन् । तराई र भित्री मधेशमा मेलिफेरा जात, भने परम्परागत रूपमा पहाडी तथा हिमाली क्षेत्रमा सेराना मौरी पालिँदै आएको तालिमका सहजीकरण तथा निवर्तमान बाली संरक्षण अधिकृत सीताराम ढकाल बताउनुहुन्छ । अहिले किसानले मौरी पालनबाट धेरै राम्रो आम्दानी गर्न सफल भएका छन् । दुई गोला मौरी बाट सुरु गरेका किसान आज हजार गोला सम्म पु¥याउन सफल छन् । सामूहिक रूपमा त १८ हजार गोला सम्म मौरी पालिएको उदाहरण पनि छ । तर अब नेपाललाई विषादीमुक्त बनाउन सकिएन भने मौरी मर्ने जोखिम अझ बढ्ने विज्ञहरुको भनाई छ ।

मौरीपालन केवल मह उत्पादनमा मात्र सीमित छैन । महसँगै मौरीजन्य अन्य खाद्य पदार्थ तथा सामग्री बिक्री वितरण हुँदै आएको छ । नेपाल पर्यटकीय देश भएकाले हिमाली क्षेत्रमा उत्पादन हुने महको अन्तर्राष्टिूय माग समेत बढ्दो छ । तर मौरीपालनलाई सफल बनाउन अनुदान भन्दा ऋण र तालिम प्रभावकारी हुने ढकालकोे ठहर छ । मौरीको मह स्वास्थ्यका लागि लाभदायक रहेको भन्दै स्वास्थ्यकर्मीहरूले दैनिक सेवन गर्न सिफारिस गरिसकेका छन ्। यही सम्भावनाले अन्य व्यवसाय छाडेर मौरीपालनमा लाग्नेहरूको संख्या पनि बढ्दो छ । यसको ज्वलन्त उदाहरण बन्नुभएको सोलुखुम्बुका पेमा दोर्जी शेर्पा । टूेकिङ पेशा छोडेर अहिले मौरी व्यवसायमा पूर्ण रुपमा लाग्नु भएको छ । यसबाट मनग्गे आम्दानी गर्न सकेको उहाँ बताउनुहुन्छ । समूहगत मौरीपालनले अझ ठूलो सम्भावना देखाएको छ । ताप्लेजुङको सिनाम मौरीपालन समूह त्यसको उदाहरणलाई लिन सकिन्छ । अहिले यो समूह पूर्ण रुपमा व्यवसायिक बनेको सिनाम मौरी पालन समूह ताप्लजुङका अध्यक्ष रुद्र अधिकारी बताउनुहुन्छ । कृषि व्यवसाय प्रवद्र्धन सहयोग तथा तालिम केन्द्र झुम्का, सुनसरीले मौरीपालनलाई प्राथमिकतामा राखेर तालिम सञ्चालन गर्दै आएको छ । पछिल्लो समय युवाहरु मौरी पालनमा आकर्षित बन्दै गएको केन्द्रका अधिकृत मनकुमार राई बताउनुहुन्छ । मौरी पालन कृषकलाई सहजता होस् भन्ने अभिप्रायले समय समयमा तालिमको समेत व्यवस्था गरिदै आएको छ । पछिल्लो समय धरान–१ लक्ष्मी सडकमा सञ्चालनमा रहेको सम्पदा मौरी तथा रैथाने कृषि स्रोत केन्द्रमा तालिमको आयोजना गरिएका थियो । कोशी प्रदेशका १४ जिल्लाबाटै प्रतिनिधित्व गरेर आएका कृषकहरुलाई रैथाने स्रोत केन्द्रका सञ्चालक शेरबहादुर पोख्रेल र निवर्तमान बाली संरक्षण अधिकृत सीताराम ढकालले तालिमको सहजीकरण गर्नुभएको थियो । थोरै लगानी, प्राविधिक ज्ञान र सहि नीतिगत सहयोग पाए मौरीपालन नेपालका किसानका लागि समृद्धिको आधार बन्न सक्छ । तर विषादी नियन्त्रण र दीर्घकालीन योजना बिना यो सम्भावना जोखिममा पर्न सक्ने विज्ञहरूको चेतावनी छ ।

तपाईको प्रतिक्रिया