धरान । कोशी प्रदेशको पर्यटकीय स्थल साँगुरीगढी गाउँपालिकाको भेडेटारमा अंग्रेजी नयाँ बर्षमा पर्यटक भित्र्याउने उद्देश्यका साथ आयोजना गरिएको खाना महोत्सवले भारतीय पर्यटक उल्लेख्य रुपमा नआए पनि भारतीय पत्रकारहरुले गरेको प्रचारप्रसारका कारण गर्मी छल्न भने यसपटक भारतीय पर्यटक अध्याधिक आउने आंंकलन महोत्सव आयोजकले गरेको छ । जति पर्यटक भित्र्याउने लक्ष्य सहित आयोजना गरिएको थियो त्यो अनुरुप नभएपनि अहिले यो समय ‘अपसिजन’भएकोले सिजनका समयमा भारतीय पर्यटक भित्रिने अपेक्षा समेत आयोजक भेडेटार होटल एसोसिएसनले गरेको छ । भर्खरै अर्थात पुष १६ गतेदेखि १८ गतेसम्म अंग्रेजी नयाँ बर्षलाईलक्षित गरी ‘भेडेटारमा १३ औ खाना महोत्सव आयोजना गरियो । आयोजना अवधिभर ५० देखि ६० हजार पर्यटक भित्र्याउने र २ करोड ५० लाख रुपैया बराबरको कारोबार गर्ने लक्ष्य राखिए पनि ६० प्रतिशतमात्र पूरा भएको होटल एसोसिएसन भेडेटारले जनाएको छ ।
छोटो समयमा आयोजना भएको खाना महोत्सवमा जति पर्यटक आउनुपर्ने हो त्यो नभएपनि भारतीय सञ्चारमाध्यमहरुले भेडेटारको मनोरम प्राकृतिक सुन्दरताका विषयमा प्रचार प्रसार गर्ने कामलाई निरन्तता दिएका कारण आउने बर्षमा अझ बढ्ने धनकुटाका अग्रज पत्रकार सञ्जय सन्तोषी राईले जानकारी दिनुभयो ।

आयोजक संस्था होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले महोत्सव अवधिभर २५ देखि ३० हजार पर्यटक भेडेटारमा भित्रिएको जानकारी दिनुभयो । उहाँले नेपाली पर्यटकसँगै भारतीय पर्यटक बढी मात्रमा भेडेटार आउने भएकोले यस बर्षदेखि भारतीय पर्यटक भेडेटार नै पुगेर प्रचारप्रसारमा जुटेका कारण आगामी दिनमा यो संख्या अझ बढेर जाने बताउनुभयो । उहाँले महोत्सवअवधिभरपनि भेडेटारमा उल्लेखय आर्थिक कारोबार भएको, भेडेटारका सबै होटलहरु खचाखच भरिएको बताउनुभयो । यता होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुमराज लिम्बुले भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउने उद्देश्यसहित गरिएको खाना महोत्सवका समयमा आयोजकले अपेक्षा गरे अनुरुप पर्यटक आइदिएको भए व्यवस्थापनमा समस्या हुने बताउनुभयो । उहाँले लक्ष्य अनुसार महोत्सवमा पर्यटक नआए पनि भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन उल्लेख्य रहेको भेडेटार आसपासमा रहेका पर्यटकीय स्थलमा घुम्न जाने पर्यटकको संख्याले समेत प्रमाणित गरिसकेको बताउनुभयो । उहाँले गर्मीको मौसममा यहाँ आन्तरिक तथा वाह्य पर्यटकको आगमन उल्लेख्य हुने बताउनुभयो । नजिकको दूरीमा तराई तथा भारतबाट समेत शितलता पाउने स्थान भेडेटार भएकोले प्रकृतिले बरदान दिएको यस्तो स्थानमा पक्कै पनि गर्मी सिजनमा पर्यटक बढ्ने बताउनुभयो । कोरोना संक्रमणपछि आरालो लागेको पर्यटन व्यवसाय विस्तारै लय समात्दै गएको व्यवसायीहरु बताउछन् । आयोजकका अनुसार विगतमा आयोजना हुने खाना महोत्सवमा मुख्यतः नेपाली, त्यसमा पनि आसपासका क्षेत्रका सर्वसाधारणको मात्र सहभागिता रहने गथ्र्यो । तर पछिल्ला वर्षहरूमा भारतीय पर्यटकको समेत आगमन हुन थालेपछि महोत्सवको गरिमा र दायरा उल्लेख्य रूपमा विस्तार हुँदै गएको छ । खासगरि भेडेटारमा नेपाल लगायत भारतको बिहारको हर्दिया, पूर्णिया, कटिहारसँगै दार्जिलिङ र सिक्किमसम्मका पर्यटक भेडेटार पुग्ने गरेका छन् । भारतीय सञ्चार माध्यमले समेत भेडेटारको पर्यटन प्रवद्र्धनमा प्रचारात्मक शैली अपनाउन थालेपछि भने पर्यटक भोलिका दिनमा अझै बढ्दै जाने र यस क्षेत्रको चहलपहल अझै बढ्दै जाने अपेक्षा आयोजकको रहेको छ ।
