१३औँ भेडेटार फुड फेस्टिभलले तान्यो भारतीय पर्यटक र सञ्चारकर्मी

धरान । भारतीय पर्यटकलाई भेडेटार तथा आसपासका गन्तव्यस्थलप्रति आकर्षित गर्दै त्यस क्षेत्रको रहनसहन, भाषाशैली र सांस्कृतिक विविधताबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको तीनदिने खाना महोत्सवको उद्घाटनकै दिन उल्लेख्य संख्यामा भारतीय पर्यटकको आगमन भएको छ । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरी पुस १६ देखि १८ गतेसम्म आयोजना गरिएको १३औँ भेडेटार फुड फेस्टिभलको पहिलो दिनमै भारतीय पर्यटकको उपस्थिति बाक्लिएको हो । पहिलो दिन भारतीय पर्यटक मात्र होइन, भारतीय सञ्चारकर्मीहरूको समेत उल्लेख्य उपस्थिति देखिएको थियो । भारतको बिहार, पूर्णिया, फारबिसगञ्ज, दार्जिलिङ र सिक्किमलगायत क्षेत्रबाट पर्यटकहरू भेडेटार आउनुको प्रमुख कारण भारतीय सञ्चारमाध्यममार्फत भेडेटारको सुन्दर पर्यटकीय गन्तव्यको प्रचार–प्रसार रहेको आयोजकले बताएका छन् । यही योगदानको कदर गर्दै आयोजक होटल एसोसिएसन भेडेटारले बिहारस्थित सञ्चारमाध्यम ‘आवाज २४’ का चार जना सञ्चारकर्मीलाई स्टेजमै बोलाएर सम्मान गरेको थियो भने पर्यटक प्रवद्र्धनसम्बन्धी समाचार सम्प्रेषण गरेको भन्दै सुनसरकिा पत्रकार रोहितकुमार बस्नेत र धनकुटाका पत्रकार नारायण राईलाई नगद १० हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो ।
महोत्सवमा सहभागी भारतीय पर्यटकले भेडेटारका मनमोहक दृश्यावलोकन मात्र होइन, विभिन्न जातीय सांस्कृतिक नृत्य नजिकबाट अवलोकन गर्नुका साथै जातीय परिकारको स्वादसमेत लिन पाएका थिए ।

भारतीय नम्बर प्लेटका सवारी साधन लिएरै आएका पर्यटकहरूले भेडेटारलाई प्रकृतिले वरदान दिएको मनोरम गन्तव्यको रूपमा वर्णन गर्दै यहाँको मौसम अत्यन्तै मनमोहक रहेको प्रतिक्रिया दिएका थिए । भारतीय पर्यटकको आगमन बढेसँगै प्रमुख अतिथिका रूपमा महोत्सव उद्घाटनमा सहभागी कोशी प्रदेश सरकारका वन, वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डलले भारतीय सञ्चारकर्मीहरूको खुलेर प्रशंसा गर्नुभयो । उहाँले नेपाली सञ्चारकर्मीहरूले भारतमा आयोजना हुने कुम्भ मेलाको प्रशंसा गरेजस्तै कोशी प्रदेशको प्राकृतिक सौन्दर्य बोकेको भेडेटारको समेत भारतमा प्रभावकारी प्रचार–प्रसार गर्न आग्रह गर्नुभयो । आयोजकका अनुसार विगतमा आयोजना हुने खाना महोत्सवमा मुख्यतः नेपाली, त्यसमा पनि आसपासका क्षेत्रका सर्वसाधारणको मात्र सहभागिता रहने गरेको थियो । तर पछिल्ला वर्षहरूमा भारतीय पर्यटकको समेत आगमन हुन थालेपछि महोत्सवको गरिमा र दायरा विस्तार हुँदै गएको आयोजकको भनाइ छ ।
होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठले कोरोना संक्रमणको समयमा एक वर्ष महोत्सव आयोजना गर्न नसकिएको उल्लेख गर्दै कोरोनापछि देशको आर्थिक अवस्था सुधार हुन केही समय लागेको बताउनुभयो । धनकुटाको साँगुरीगढी गाउँपालिका अन्तर्गत पर्ने भेडेटारमा होटल एसोसिएसन अफ भेडेटारले प्रत्येक वर्ष अंग्रेजी नयाँ वर्षको अवसरमा भारतीय पर्यटकलाई लक्षित गरी खाना महोत्सव आयोजना गर्दै आएको छ । यस वर्षको महोत्सव १३औँ संस्करण हो । महोत्सवमा भेडेटारका रमणीय पर्यटकीय स्थलको प्रवद्र्धनसँगै रैथाने कृषि उत्पादन तथा विविध जातीय खानपान प्रदर्शनीमा राखिएको छ । खाना महोत्सवकै दिन बिहार राज्यको हर्दिया, पूर्णिया, कटिहारलगायत दार्जिलिङ र सिक्किमसम्मका पर्यटक भेडेटार पुगेका थिए । उनीहरुले भेडेटार आसपासका मनोरम दृश्यको अवलोकन गरेका थिए । विगतमा सानो दायरामा आयोजना हुँदै आएको यो महोत्सव पछिल्ला वर्षहरूमा फराकिलो बन्दै गएको छ । नेपाल मात्र होइन, भारतबाट समेत पर्यटक आउन थालेसँगै भेडेटारको व्यापार–व्यवसाय चलायमान बन्दै गएको स्थानीय व्यवसायीहरूको भनाइ छ ।

तपाईको प्रतिक्रिया