पोखरेल फेमेली फाउन्डेसनद्वारा धरानमा अति विपन्न ६० विद्यार्थीलाई न्यानो स्विटर तथा जुत्ता वितरण

धरान । पोखरेल फेमेली फाउन्डेसन, धरान–विजयपुरले सामाजिक उत्तरदायित्व अन्तर्गत धरान–१३ फुस्रे स्थित पब्लिक माध्यमिक विद्यालयका अति विपन्न ६० जना विद्यार्थीलाई न्यानो स्विटर तथा केही थान जुत्ता वितरण गरेको छ। चिसो मौसमलाई मध्यनजर गर्दै फाउन्डेसनले आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई लक्षित गरी उक्त सहयोग प्रदान गरेको हो। विभिन्न सामाजिक सेवामूलक कार्यमा सक्रिय रहँदै आएको फाउन्डेसनले यस विद्यालयमा अध्ययनरत अति विपन्न बालबालिकाको अवस्थालाई ध्यानमा राखी न्यानो कपडा वितरण गरेको जनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य प्रकाश राई, गोपिनी राई, अभिभावक संघका अध्यक्ष राजेन्द्र राई, शिक्षक प्रतिनिधि उमेश कार्की, कल्पना अधिकारी निरौला तथा विद्यालय इन्चार्ज सबिता राईको उपस्थिति रहेको थियो।


उक्त विद्यालयमा अध्ययनरत धेरै विद्यार्थीहरू तिनघण्टा, तामाखाम, भोर्लेनी, शिवजट्टा, गैरिगाउँ र विष्णुपादुका जस्ता टाढाका बस्तीबाट दैनिक रूपमा पैदल हिँडेर विद्यालय आउने–जाने गर्दछन्। न्यानो स्विटर पाएपछि आफूहरूलाई चिसोबाट राहत मिलेको भन्दै विद्यार्थीहरूले खुसी व्यक्त गरेका छन्। उनीहरूले स्विटरलाई जतनका साथ प्रयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन्। कार्यक्रमप्रति विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम शर्मा निरौलाले मुक्तकण्ठले प्रशंसा गर्दै फाउन्डेसनको यो पहल अत्यन्तै प्रशंसनीय रहेको बताए। उनले भने, “पोखरेल फेमेली फाउन्डेसनले न्यानो स्विटर वितरण गरी अति विपन्न ६० जना विद्यार्थीलाई सहयोग गरेको छ। यस कार्यले विद्यार्थीहरूको सिकाईमा सकरात्मक प्रभाव पार्नेछ । यस्ता सेवामूलक कार्यप्रति विद्यालय परिवार सधैं आभारी रहनेछ।” फाउन्डेसनको यस प्रकारको सहयोगले समाजमा सकारात्मक सन्देश फैलिएको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया