धरान । पछिल्लो समय रोहिङ्ग्या मुसलमान र बंगलादेशी मुसलमानहरू अनाधिकृत रूपमा नेपाल प्रवेश गर्न थालेपछि सो सम्बन्धमा सजगता अपनाउन नेपाल सरकार गृहमन्त्रालय जिल्ला प्रशासन कार्यालय झापाले मुख्य ६ वटा सीमा नाकालाई पत्राचार गरेको छ । अनाधिकृत प्रवेश र बसोबास सम्बन्धमा सजगता अपनाउन भन्दै नेपाल–भारतको सबैभन्दा बढी व्यस्त नाकाहरू मेचीनगरपालिका (काँकडभिट्टा), भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकालाई पत्राचार गरेको हो ।

जारी पत्रमा भनिएको छ, नेपाल र भारतबीचको खुला सीमानाको फाइदा उठाई रोहिङ्ग्या लगायत तेस्रो मुलुकका नागरिकहरू भारतीय मार्ग हुँदै नेपाल प्रवेश गरी झापा जिल्लाका विभिन्न सार्वजनिक स्थान, खुला चौर, नदीका बगर एवम् ऐलानी जग्गाहरूमा समूह बनाई अनाधिकृत रूपमा बसोबास गर्न सक्ने सम्भावना देखिएको छ । यसरी बिना अनुमति नेपाल प्रवेश गर्ने विदेशी नागरिकहरूबाट शान्ति सुरक्षामा समेत प्रतिकूल असर पर्न सक्ने भएकाले ती पालिकाअन्तर्गतका कुनै पनि क्षेत्रमा त्यस्ता शंकास्पद व्यक्ति वा समूह देखा परेमा वा बसोबास गरिरहेको पाइएमा तत्काल हटाउने प्रक्रिया गर्नु भई जिल्ला प्रशासन कार्यालय झापा वा जिल्ला प्रहरी कार्यालय झापा, नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सहयोग गर्न अनुरोध गरिएको छ । साथै आफ्नो कार्यक्षेत्रभित्रका वडा कार्यालयहरू र टोल विकास संस्थाहरूलाई समेत यस विषयमा सजग रहन वा आवश्यक सूचनाका लागि समन्वय
गरिदिन पनि अनुरोध गरिएको छ ।
