इटहरी । नियमित रूपमा साँवा ब्याज बुझाउँदा समेत हिमालय बैंकका विचौलिया कर्मचारीहरूले व्यवसायीहरूलाई आतंकित बनाउने गरेको पाइएको छ ।
पछिल्लो पटक अर्थात् पौषको पहिलो साता हिमालय बैंक इटहरी शाखाका दुई जना कसैको माध्यमबाट परिचालित कर्मचारीले कुनियतपूर्वक गोरखा डिपार्टमेन्ट स्टोरको नाममा धितो लिलामको सूचना प्रकाशित गरेपछि व्यवसायीहरूप्रतिको बद्नियत छताछुल्ल भएको छ । हुन त हिमालय बैंकका कर्मचारीहरूको बद्नियत यसभन्दा अगाडि पनि सतहमा आएको थियो । धरानका पूर्णबहादुर घिमिरेको निक्षेप रकम, धितो वापतको रकम गायब बनाउँदा विगत केही समयदेखि अदालतमा बैंकका विरुद्धमा मुद्दा चलिरहेको छ । घिमिरे त एउटा प्रतिनिधि पात्र मात्र हुन्, हिमालय बैंकको हालको धन्दा नेपाली पहाडे मूलका व्यवसायीहरूलाई सिध्याउने, आतंकित बनाउने, मानमर्दन गर्नेतर्फ उद्यत देखिएको छ । उद्योग वाणिज्य संघ इटहरीका एक पदाधिकारीले भने हिमालय बैंकले यसरी नेपाली उद्योगी व्यवसायीहरूलाई सिध्याउने धन्दा गरेको पहिलो पटक गोरखा डिपार्टमेन्ट स्टोरको सवालमा सूचना निकालेर मात्र गरेको होइन । यसभन्दा अगाडि पनि इटहरी, विराटनगरका कैयौँ उद्योगी व्यवसायीलाई आतंकित बनाएको थियो, बनाउँदै आएको छ । अन्य व्यवसायीको सन्दर्भमा बैंकको ज्यादति बाहिर नआएको मात्र हो । उहाँले भन्नुभयो गोरखा डिपार्टमेन्ट स्टोरले आज सयौँ युवा युवतीहरूलाई रोजगारी दिएको छ । बैंक आतंकका कारण ती इम्प्लोयरहरूको चुलोको आगो निभ्न सक्छ । उहाँले भन्नुभयो मैले पाएको जानकारी अनुसार गोरखा डिपार्टमेन्ट स्टोरको श्रावणसम्मको सबै बक्यौता क्लियर छ । असोज मसान्तमा केही सानो प्रतिशत मात्र बक्यौता बाँकी रहेको बैंक स्रोतबाटै देखियो । यसलाई आधार बनाएर बैंकले धितो लिलामीको सूचना निकाल्नु ज्यादति नै हो । उहाँले भन्नुभयो, अहिले व्यापारको अवस्था समेत अत्यन्तै तरल छ । यस्तो अवस्थामा केही प्रतिशत रकमका लागि सम्मानित र प्रतिष्ठित व्यवसायीको मानमर्दन हुने गरी सूचना निकाल्नु गलत मात्र होइन अनुचित पनि हो ।


इटहरीका अर्का एक व्यवसायीले आफ्नो नाम उल्लेख नगरिदिने शर्तमा भन्नुभयो प्रायः हरेक व्यवसायीले बैंकसँग धितो राखेर कारोबार गर्नु सामान्य कुरा हो । विगत चार वर्षदेखि हिमालय बैंकका दुई जना कर्मचारीहरू कसैको माध्यम भएर विचौलियाको धन्दा समेत गर्दै आएका छन् । यो मामलामा गोरखा डिपार्टमेन्ट स्टोरकै कुनै कर्मचारी पनि प्रलोभनमा परेको हुन सक्छ । नत्र साँवा ब्याज नियमित रूपमा बुझाउँदै आएका र पछिल्लो थोरै मात्र विलम्ब हुँदा सूचना नै निकाल्नुपर्ने कुनै कारण थिएन । तत्काललाई दिनुपर्ने ठूलो रकम पनि देखिएन । सबैभन्दा आश्चर्यको कुरा चाहिँ के छ भने बैंकले हालसम्म लिलामसम्बन्धी सूचना गोरखा डिपार्टमेन्ट स्टोरलाई जानकारी समेत गराएको छैन र सोधेको पनि देखिएन उनले भने । यहाँ स्मरणीय कुरा के छ भने यसै सम्बन्धमा हामीले हिमालय बैंक इटहरी शाखाका एक कर्मचारीसँग सम्पर्क राख्दा उनले भने वास्तवमै गोरखा डिपार्टमेन्ट स्टोर जस्तो प्रतिष्ठित व्यवसायिक घरानालाई सुनियोजित रूपमा बदनाम गराउने काम चाहिँ भएको हो । बैंककै केही कर्मचारी बाह्य व्यक्तिको प्रभावमा परेर यस प्रकारको कार्यमा संलग्न छन् । तिनै मानिस एकातिर सूचना निकाल्छन् अनि फेरि आत्तिएर गोरखा डिपार्टमेन्ट स्टोरको व्यवस्थापन समक्ष गएर यो गलत भयो, कसरी निस्कियो थाहा भएन । हामीले गरेको होइन । माथिबाटै निकालेछन् । हामी त्यसलाई सच्याउँछौँ भन्दै पुगेको सुनेको उनले बताए । यसै सम्बन्धमा गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक बलराम आचार्यसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो पहिलाको बलरामलाई मान्छेले चिन्न छाडेका थिए । फेरि स्मरण गराइदिएछन् । आनन्द लागेको छ ।
