नमच्चिने पिङको सय झड्का

जेनजी आन्दोलनको मर्मविपरीत संविधान बाहिरबाट बनेको वर्तमान टीके सरकार यतिबेला जेनजी आन्दोलनको मर्मलाई उपहास गरी एकोहोरो निर्वाचनको रट लगाइरहेको छ । हुन त सरकारसँग निर्वाचनको रट लगाउनुबाहेक अर्को विकल्प पनि छैन । यही रट लगाएर सत्ताको अवधि लम्ब्याउन सकिने कुरा टीके प्रधानमन्त्री सुशिला कार्कीले भलिभाँति बुझेकी छन् । एकातिर वर्तमान नालायक र निकम्मा सरकार चुनावको रटान दिएर निर्वाचनसम्बन्धी कार्यक्रम ल्याइरहेको छ भने पूर्व ठूला राजनीतिक दल नेपाली काँग्रेस र एमाले संसद पुनःस्थापनाका लागि अदालतसमक्ष हारगुहार गरिरहेका छन् । हाँस्यास्पद कुरा त के छ भने विगतमा तेस्रो ठूलो दलको रूपमा रहेको माओवादी केन्द्र लोप भएर बनेको नेपाली कम्युनिस्ट पार्टीका संयोजक रुन्चे हाँसो लिएर चुनावको वकालत गरिरहेको छ । यदाकदा चिच्याउन गर्छन् खबरदार चुनाव सार्ने षड्यन्त्र नहोस्, चुनावमा पूर्ण सुरक्षाको प्रत्याभूति दिनुपर्छ । नमच्चिने पिङको सय झड्का भनेको यही हो । जसले विगतमा अरू दलका बुई चढेर मात्र निर्वाचन जितेको थियो उसको हुँकार कम्ता रोचकको छैन । तिनका औकात भनेकै अरूको बुई चढ्ने हो भन्ने कुरा त घामजस्तै छर्लङ्ग भइसकेको छ । अर्कोतर्फ काँग्रेस र एमालेहरू वास्तवमै निर्वाचनमा जान डराएका छन् । वर्तमान परिस्थिति ती दुवै दलको अनुकूल नभएर प्रतिकूल रहेको छ । स्थानीय निकायदेखि केन्द्रसम्म एउटै अनुहारले विगत ३७ वर्षदेखि हालीमुहाली गर्नु, अकूत भ्रष्टाचारको साम्राज्य खडा गर्नु, अदालतदेखि संवैधानिक निकायमा आफ्ना र एसएमेनहरू नियुक्ति गर्नु, राज्यका स्रोतसाधन दोहन गर्नु, दातृ राष्ट्रहरूको आर्थिक सहयोग भागबण्डा गर्नु, राष्ट्रघातका सन्धि सम्झौता गरेर आर्थिक लाभ लिनु लगायतका सयौँ कुकृत्य गर्नु नै ती दलप्रति आम नागरिकको घृणा चुलिएको छ । कथंकदाचित निर्वाचन भइहालेमा र निर्वाचनमा जानैपर्न बाध्यात्मक परिस्थिति आएमा दुवै दलका नेताहरू मत माग्न मतदातासमक्ष जान सक्ने अवस्था छैन । लामो समय यी दुई दलका वरिपरि घुमेकाहरूले सामूहिक वा एकल रूपमा साथ छोड्दै गएका छन् । यसको पछिल्लो उदाहरण काँग्रेसका अधिकांश क्रियाशील सदस्यहरूले सक्रिय सदस्यता नवीकरण गर्न इन्कार गर्नु, विज्ञप्ति निकालेर पार्टी परित्याग गरेको घोषणा गर्नुलाई पनि एउटा आधार मान्न सकिन्छ । भर्खर सम्पन्न एमालेको एघारौँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि छनौटका क्रममा ओलीपक्षको सर्वसत्तावादी प्रवृत्ति हाबी हुँदा जीवनभरि लगानी गरेका जेनुइन अनुहारहरूलाई पाखा पारियो । जसरी भए पनि ओलीलाई पुनः अध्यक्ष बनाउन सहमत भएकाहरूलाई मात्र प्रतिनिधिमा छनौट गरिएपछि त्यस पार्टीभित्रको द्वन्द्व आगामी निर्वाचनमा देखिने संकेत स्पष्ट छ । अर्कोतर्फ भर्खरै खुलेका पार्टीहरूप्रतिको आकर्षण पनि बढ्दो छ । दुवै दलबाट बाहिरिएका कार्यकर्ताहरू धमाधम नयाँ पार्टीमा आबद्ध हुने क्रम बढ्दो छ । दुवै दलबाट बाहिरिएका कार्यकर्ताहरू धमाधम नयाँ पार्टीमा आबद्ध हुने क्रमले निर्वाचनमा दुई दलले प्रचार–प्रसारका लागि पनि मानिस भाडामा खोज्नुपर्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया