इटहरी । कोशी प्रदेशको शैक्षिक केन्द्रका रूपमा उदीयमान इटहरीमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र दिगोपन विषयमा केन्द्रित दुईदिने सम्मेलनको उदघाटन पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले गर्नुभयो । पूर्वकै शैक्षिक हबका रूपमा जनता बहुमुखी क्याम्पसलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजित सम्मेलनको पहिलो दिन चारवटा की–नोट प्रस्तुति प्रस्तुत गरिए । की–नोट प्रस्तुतकर्तामा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे, त्रिवि सीईएनएएसका कार्यकारी निर्देशक डा. मिर्गेन्द्र कार्की तथा क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास काठमाडौँका रोजर एफ. कोहेन रहेका छन् । सम्मेलनभरि जम्मा चारवटा की–नोट स्पिच प्रस्तुत हुने कार्यक्रम छ ।
सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन र भाषा शिक्षणजस्ता विविध क्षेत्रमा कार्यरत विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता र सरोकारवालाबीच अन्तरविषयक संवाद र सहकार्यलाई विशेष प्राथमिकता दिइएको छ । सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलका अनुसार सम्मेलनमा ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत हुँदैछन्, जसले समकालीन शैक्षिक चुनौतीहरूलाई समग्र दृष्टिकोणबाट सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन सत्रमा डा. मिनेन्द्र रिजालले समयसापेक्ष शिक्षाका लागि निरन्तर नयाँ अध्ययन–अनुसन्धान अपरिहार्य रहेको उल्लेख गर्दै, अनुसन्धानले देखाएको मार्गदर्शनका आधारमा देशलाई रूपान्तरणतर्फ अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।


जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले शिक्षा सुधारबाटै राजनीतिक दल र नेतृत्वको रूपान्तरण सम्भव हुने धारणा राख्दै, यस्ता सम्मेलनले विषयवस्तुलाई समयअनुकूल परिमार्जन गरी सकारात्मक परिवर्तन ल्याउनुपर्ने बताउनुभयो । इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मेलनले नगरको शैक्षिक विकासमा उल्लेखनीय योगदान पु¥याएको उल्लेख गर्दै, समाजलाई सकारात्मक दिशातर्फ डो¥याउने गरी अनुसन्धान केन्द्रित शिक्षा आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीका अनुसार, समुदायको विश्वासमा आधारित जनता बहुमुखी क्याम्पस कोशी प्रदेशमै धेरै विद्यार्थी भएको सामुदायिक कलेजमध्ये अग्रणी हो । सम्मेलनमा चार देशका अन्तर्राष्ट्रिय वक्तासहित नेपालका नाम चलेका शैक्षिक विज्ञहरूको प्रस्तुति रहेको छ, जसमा कोशी प्रदेशबाट सहभागिता उल्लेख्य छ । उद्योगी–व्यापारी भीमबहादुर पौडेलले जनता बहुमुखी क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले ५१ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ । सम्मेलन उद्घाटनकै क्रममा गरिएको घोषणाअनुसार छिट्टै कार्यविधि तयार गरी छात्रवृत्ति वितरण सुरु गरिने जनाइएको छ । अन्तर्राष्ट्रियस्तरको यो सम्मेलनले इटहरीलाई शैक्षिक नक्सामा थप मजबुत बनाउँदै अनुसन्धान, नवीनता र सहकार्यको संस्कृतिलाई अघि बढाएको छ। साथै, भीम पौडेलको अक्षयकोष घोषणाले शिक्षामा पहुँच र गुणस्तर दुवै उकास्ने दीर्घकालीन आधार तयार गरेको छ।
