काठमाडौँ । नेपालस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहकार्यमा पौष ३ गते पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिटको आयोजना गरेको छ । कार्यक्रम आयोजना गर्नुको प्रमुख उद्देश्य गण्डकी प्रदेशलाई विशेष रुपमा उल्लेख गर्ने र उक्त कार्यक्रम भारतको उत्तर प्रदेश र नेपालबीचको पर्यटन प्रवद्र्धन केन्द्रित गरिएको थियो । दोस्रो इन्डिया–नेपाल टुरिजम मिटको अवसरमा अन्तर्राष्ट्रिय सहकारी वर्ष समेत एकसाथ मनाइएको थियो । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रमुख अतिथिको रुपमा बोल्दै गण्डकी प्रदेशमा विशेष गरी पोखरा र मुक्तिनाथ क्षेत्रमा भारतसँग बढ्दै गएको पर्यटन सहकार्यको स्वागत एवम् प्रशंसा गर्नुभएको थियो । सो अवसरमा भारतीय राजदूतावासका नियोग उपप्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा भएको सुधारले अन्तरदेशीय पर्यटनलाई थप गति प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो–नेपालका विभिन्न स्थानहरू तथा भारतका नेपालसँग टाँसिएका छिमेकी राज्यहरू समेटिएका धार्मिक तथा सांस्कृतिक पर्यटन परिपथ (सर्किट) हरूको प्रवद्र्धन मार्फत नेपाल र भारतबीचको पर्यटन सम्भावनालाई पूर्ण रुपमा उपयोग गर्न दुवै पक्षका संयुक्त प्रयासको महत्वमाथि जोड दिनुभयो ।


यसैगरी कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन क्षेत्रको बारेमा आफ्नो प्रस्तुतिमार्फत विस्तृत जानकारी दिनुभएको थियो । उहाँले नेपाल भ्रमण गर्ने विदेशी पर्यटकहरूमध्ये भारत सबैभन्दा ठूलो स्रोत भएको उल्लेख गर्दै भारत–नेपाल पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले गरेका विभिन्न प्रयासहरूको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बीटुबी छलफलमा विशेष गरी स्थलमार्गबाट हुने अन्तरदेशीय पर्यटन प्रवद्र्धनलाई जोड दिइएको थियो । दुवै पक्षका टुर अपरेटरहरूले बौद्ध परिपथहरू, वन्यजन्तु र साहसिक पर्यटन लगायतका क्षेत्रमा हुनसक्ने सम्भावित सहकार्यका बारेमा समेत छलफल गरेका थिए । उक्त कार्यक्रमको एक भागको रुपमा पोखरा पर्यटन परिषद् र नेपाल पर्यटन बोर्डले उत्तर प्रदेश राज्यका प्रतिनिधि मण्डलका लागि मंसिर २९ गतेदेखि पौष २ गतेसम्म एक परिचयात्मक भ्रमणको आयोजना समेत गरेका थिए ।

