धरान । कोशी प्रदेशको पहाडी जिल्ला संखुवासभाको चिचिला गाउँपालिका वडा नं. ३ स्थित दिदिङ आधारभूत विद्यालय भवनको पौष ३ गते बिहीबार एक विशेष समारोहबीच समुद्घाटन गरिएको छ । सम्पूर्ण सुविधायुक्त उक्त भवनको नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव वशिष्ट नन्दन र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । दूतावासद्वारा जारी विज्ञप्तीका अनुसार विद्यालय भवनसँगै अन्य सहयोगी संरचनाहरूको निर्माण उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । विद्यालय भवन निर्माणको कार्यान्वयन चिचिला गाउँपालिका मार्फत गरिएको थियो ।


सन् १९६२ मा स्थापना भएको दिदिङ आधारभूत विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी) देखि कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ । सो अवसरमा चिचिला गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्थानीय समाजसेवीहरूले भारत सरकारले प्रदान गर्दै आएको विकास सहयोगको प्रशंसा गर्नुभएको थियो । उहाँहरूले नयाँ पूर्वाधार विकासले विद्यार्थीहरूमा अध्ययन–अध्यापनका लागि सुधार ल्याउने र यस क्षेत्रको शिक्षा क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । भारत नेपालको अत्यन्तै निकटको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले भुइँतहका प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विकास गर्नुका साथै नेपाल सरकारले गरेका विकासका प्रयासहरूमा भारत सरकारको निरन्तर सहयोग रहने विज्ञप्तीमा जनाइएको छ ।
