इटहरी । इटहरीको तरहरास्थित कामधेनु दुग्ध विकास सहकारी संस्थाका अध्यक्ष यादप ढकालका कारण संस्था बन्द हुने अवस्थामा पुगेको छ । अध्यक्ष ढकालले संस्थाको सम्पत्तिमा ब्रह्मलुट मच्चाउने, सोको विरोध गर्ने शेयर सदस्यहरूलाई निष्कासन गर्ने, कर्मचारीलाई आत्महत्या दुरुत्साहनका लागि निकटका विश्वासपात्र कर्मचारीमार्फत धम्क्याउने लगायतका गतिविधिले संस्था बन्द हुने अवस्थामा पुगेको हो । निज ढकालले मंसिर १४ गते कामधेनु दुग्ध विकास सहकारी संस्थाको लेटरप्याड प्रयोग गरी मंसिर १२ गतेको सञ्चालक समिति र उपसमितिको संयुक्त बैठकको निर्णय अनुसार विनियमको दफा १३ को ‘ग’ बमोजिम दोषी ठहर गरी निष्कासन गरिएको भन्दै तीन जनालाई निष्कासन गरेका थिए । वि.सं. २०७१ सालदेखि संस्थाको शेयर सदस्य कृष्णप्रसाद अधिकारी, मनोज दाहालसहितलाई निष्कासन गरेपछि अध्यक्ष ढकालको मुखुण्डो बाहिरिएको छ । निष्कासनमा परेका शेयर सदस्य र कर्मचारीले अध्यक्ष ढकालले संस्थामा गरेको अनियमितता बारेमा पटक–पटक सचेत गराउँदै आएका थिए । संस्थामा भएका आर्थिक अनियमितताका बारेमा साधारणसभालाई जानकारी गराउँदै सञ्चालक समितिलाई सजग गराउँदै आएका थिए । संस्थामा अनियमितता भएका र भइरहेको प्रति सचेत गराउँदा अध्यक्ष ढकालले उनीहरूलाई हटाएको पत्र पठाएका हुन्, एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने । अध्यक्ष ढकाल मोरङको बनिगामा सहकारी संस्था सञ्चालन गर्दै आएका थिए । आफू पछि आफ्नै श्रीमतीलाई व्यवस्थापक बनाएका थिए । त्यसै समय युवा स्वरोजगार कार्यालयबाट ४० लाख रुपैयाँ लिन सफल भएका थिए । नक्कली ऋणी खडा गरेर सो रुपैयाँ हिनामिना गरेको हुँदा बनिगामा संस्था कालोसूचीमा परेको थियो । त्यसका सबै सञ्चालकहरूको हालसम्म बैंक खाता रोक्का भएका छन् । तर त्यही कालोसूचीमा परेको बनिगामा संस्थामा कामधेनु संस्थाको सेवा केन्द्रको साइनबोर्ड झुण्ड्याएर बनिगामाका तीन जना कर्मचारीहरूलाई हालसम्म कामधेनुबाट तलब खुवाउँदैछन् । निजले समानान्तर कारोबार गरेकोमा यसभन्दा अगाडि रामप्रसाद काफ्ले र हिक्मत काफ्लेको सदस्यता खारेज गरिसकेका छन् तर स्वयं कामधेनुका अध्यक्ष यादप ढकालको सम्पत्ति कृषि फर्मबाट उत्पादित दूधको ठूलो परिमाण कामधेनुमा नबेची बिचौलियामार्फत बाहिरी बजारमा बिक्री गर्दै आएका छन् । उनका यस प्रकारका धेरै अनियमितता, सहकारी भावना र ऐनविपरीत सञ्चालन गरेर संस्थालाई निरन्तर नोक्सानी पु¥याउँदै आएको ती कर्मचारीले जानकारी दिए ।


यसैबीच संस्थाका अध्यक्षद्वारा निष्कासित कर्मचारी तेजप्रसाद सुवेदीले पत्रकार सम्मेलन नै गरेर निज ढकालका कर्तुतहरूको भण्डाफोर गरेका छन् । विगत लामो समयदेखि मार्केटिङको क्षेत्रमा काम गर्दै आएका सुवेदीलाई यसअघि अध्यक्ष ढकालले पूर्वाग्रहपूर्ण ढङ्गले हटाएपछि अदालत गुहार्न पुगेका थिए । उनी निर्दोष देखिएपछि उनी पुनः काममा फर्किएका थिए । अध्यक्ष ढकालले उनलाई पुनर्बहाली गर्न र अदालतले तोकेको सुविधा दिन आनाकानी गरेपछि दुवैबीच मनमुटाब बढ्दै गयो । तर अदालतको आदेशका कारण उनलाई हाजिर गराइयो । पछि न्याय खोज्न जाने मान्छेलाई राख्नु हुँदैन भनेर विभाग परिवर्तन गरी काममा हतोत्साहित गर्ने, बाधा गर्ने काम ढकालले गर्न थाले । यतिमात्र नभएर अध्यक्ष ढकालको निर्देशनमा उनलाई मानसिक यातना दिने गर्दा उनमा आत्महत्या गर्ने सोच पनि आएको उनले बताए । यसैगरी समय बित्दै थियो, पछि एक्कासि तीन महिनाका लागि बिना कारण निलम्बनको पत्र दिइयो । उनी आफैं आश्चर्यमा परे । निलम्बन हुनुपर्ने कारण के हो ? उनलाई कार्तिक १७ गते संस्थाका कर्मचारी प्रेम मिश्रको मृत्यु प्रकरणमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न भएको झुठा विवरण प्रस्तुत गरेको र संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा नगरेको भन्ने आरोप पत्रमा लगाइएको थियो । यहाँ स्मरणीय कुरा के छ भने प्रेम मिश्र सुसाइड नोट लेखेर आत्महत्या गर्नु अघि निजलाई अध्यक्ष यादवकै निर्देशनमा संस्थाको गाडीमा हालेर बिर्तामोड पु¥याइएको थियो । स्रोतले दिएको जानकारी अनुसार उनलाई दिनभरि गाडीमा घुमाएर धम्क्याउने काम अध्यक्ष ढकालका निकटका संस्थाका कर्मचारी विज्ञान ढुङ्गाना, बजार व्यवस्थापक रञ्जित झा र बजार सहायक शेरबहादुर खड्काले गरेका थिए । मृतक मिश्रले सुसाइड नोटमा झा र खड्काको नाम उल्लेख गरेको स्रोतले जानकारी दिएको छ । स्रोतले दिएको जानकारी अनुसार रञ्जित झा यसभन्दा अगाडि पनि हत्या केसमा मुछिएका थिए । पछि अदालतले उनलाई रिहा गरेको थियो ।
